बिहिबार, बैशाख १०, २०८३

जापानमा नेपालीको संख्या उच्च वृद्धि : १ लाख ३९ हजार ३९३ पुग्यो

टोकियो । नेपालबाट जापान आउनेको संख्या सन् २०२२ को अन्त्यसम्ममा उल्लेख्य वृद्धि भएको तथ्याङक सार्वजनिक भएको छ ।

जापानमा नेपालीहरुको जनसंख्या सन २०२२ को अन्तिमसम्म १ लाख ३९ हजार ३९३ पुगेको छ । जापानको अध्यागमन तथ्यांक अनुसार विदेशीको रूपमा दर्ता भएका नेपालीको संख्यामा उल्लेख्य बृद्धि हुन थालेको छ ।

जापानमा सन् २००० मा केवल ३,६४९ नेपालीहरु दर्ता भएर बसेको तथ्यांक रहेकोमा सन् २०२२ मा एकै बर्ष ४२ हजार नेपाली जापान प्रवेश गरेका छन् ।
जापानमा सबैभन्दा धेरै भियतनामीको संख्यामा तिब्र बृद्धि देखिन्छ । त्यस पश्चात फिलिपिन्स र एशियाली देशहरु बाहेक ब्राजिली नागरिकहरुको संख्या उच्च रहेको छ ।
जापानमा नेपालीको संख्यामा तिव्र बृद्धि हुनुको एउटा कारणमा नेपालमा १० वर्षे गृहयुद्ध र युद्धका क्रममा राजपरिवारको हत्याका कारण उत्पन्न भएको अशान्तिलाई मान्ने गरिन्छ । २०१४ मा जापानमा शरणार्थी आवेदकहरू ५,००० मध्ये १,२९३ जना नेपाली थिए । जुन राष्ट्रियताको आधारमा सबैभन्दा बढी रहेको जापानसमाचारले उल्लेख गरेको छ ।

गत बर्ष जापानमा बढेका बिदेशीहरुमा तेस्रो धेरै नेपाली छन् । नेपालीहरु गत बर्ष ४२ हजार २ सय ८४ जना थपिएको जापान सरकारको तथ्यांकमा उल्लेख छ ।

पहिलोमा भियतनाम एकै बर्ष ५६ हजार भन्दा बढी भियतनामी जापानमा थपिएका छन् ।

हाल जापानमा रहेका सबैभन्दा धेरै विदेशीमा चिनियाँ नागरिक ७ लाख १६ हजार, भियतनामी ४ लाख ३२ हजार र दक्षिण कोरियाली नागरिक ४ लाख ११ हजार रहेको छ । नेपाल भन्दा बढि जनसंख्या रहेकामा फिलिपिनी नागरिक २ लाख ९८ हजार र ब्राजिल २ लाख ९ हजार रहेको छ ।

अघिल्लो बर्ष सन् २०२२ मा जापानमा नेपालीहरुको जनसंख्या केवल ९७ हजार १ सय ९ जना रहेको थियो ।

जापानमा हाल पारिवारिक भिषामा बस्ने सबैभन्दा धेरै रहेका छन् । विवरण अनुसार पारिवारिक भिषामा ४२,३१७ जना नेपाली जापानमा रहेका छन् । दोस्रोमा अध्ययनका लागि आएका विद्यार्थीहरु छन् । उनिहरुको संख्या ३९ हजार ६ सय ५६ रहेको छ ।

यसैगरि इन्जिनियर/मानविकी/अन्तर्राष्ट्रिय सेवाहरूमा विशेषज्ञहरूका रुपमा रोजगाररत २५ हजार ७ सय २७ जना रहेका छन् । यस बाहेक स्थायि बासिन्दाको संख्या ६ हजार ३ सय ८० पुगेको छ । यसैगरि प्राविधिक प्रशिक्षणमा १२ सय ६६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

यसैगरि विशिष्ट कौशल क्षमतामा रहेका २३ सय ४० जना रहँदा विशिष्ट गतिविधिको लागि तोकिएको भिषामा रहने नेपालीहरु २१ सय ९० जना रहेका छन् ।

१७ हजार २ सय ७ जनालाई अन्य शिर्षकमा राखिँदा यस अन्तर्गत विशिष्ट शिपयुक्त भिषामा रहेका कुक लगायत कामदारहरु समेतलाई राखिएको देखिन्छ ।

जापानको स्थायी नागरिकको रुपमा रहने नेपालीहरु केवल ३ जना रहेको तथ्यांकले देखाउँछ ।