शनिबार, मङि्सर २३, २०८०

थकाली सेवा ‍समिति जापानले ३३औं ‍साधारण सभाको ‍साथमा तोरन्ल्ह चाड भब्य रुपमा मनाए

फुर्वा शेर्पा, टोकियो । थकाली सेवा ‍समिति जापानले ३३ औ ‍ साधारण सभाको ‍साथमा महान चाड तोरन्ल्ह भब्य रुपमा मनाएको छ । थकाली जातिहरुको महान चाड तोरन्ल्ह अर्थात फागु पुर्णिमाको अव‍सरमा बिबिध मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको छ ।
जापानबासी नेपालीहरुमाझ एक आप‍समा शुभ कामना ‍साटासाट गर्दै बिदेश बसाइलाइ फलदायी र उपलब्ध‍िमलक बनाउने उद्देश्यले औपचारिक रुपमा आयोजित कार्यक्रमको सभापतिमा थसेस जापानका अध्यक्ष बुद्दि गौचन प्रमुख अतिथिमा नेफिन जापानका अध्यक्ष संजिव राइ अनि बिशेष अतिथिहरुमा थसेस जापानका संरक्षक शरद कुमार गौचन र नेपाली ब्यबसायिक संघ जापानका अध्यक्ष बिजय थकाली रहनुभएको थियो ।

कार्यक्रममा थसेस जापानका संरक्षक शरद कुमार गौचनले थकाली जाति अनि फागु पुर्णिमा र महान चाड तोरन्ल्हको बारेमा नेपाली र जापानी दुवै भाषामा जानकारी गराउनुभएको थियो । उपस्थित अतिथिहरुलाइ थसेस जापानका सहकोषाध्यक्ष तथा कार्यक्रम संयोजक जीवन भट्टचनले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन प्रवक्ता जीत प्रसाद शेरचनले गर्नुभएको थियो ।
टोकियो स्थित निशिकामतामा ११~३ बजेसम्म समाजको साधारण सभा सम्पन्न गरी बेलुकी मनोरन्जनात्मक कार्यक्रममा जापानमा रहेका थकाली तथा गैर थकाली बिभिन्न संघसंसथाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा जापानमा रहेका थकाली कलाकारहरु जापानमा रहेका अन्य स्थानिय कलाकारहरु अनि जापानी कलाकारहरुले आ आफ्नो प्रस्तुतिहरु देखाएर भरपुर मनोरन्जन दिलाएका थिए ।


के हो फागुपुर्णिमा अर्थात् “तोरन्ल्ह”

फागुपुर्णिमा अर्थात् “तोरन्ल्ह” भनेको, पितृ देवताको अर्थ रहेको र प्रत्येक वर्षको फागु पुर्णिमाको दिनलाई बिचमा पारि तीन दिन सम्म थकाली जातीहरुले “तोरन्ल्ह” पर्व धुमधामका साथ मनाउने महान् चाड हो । तोरन्ल्ह पर्वमा थकाली जातिहरुको आफ्ना स्वर्गिय पितृहरुको संम्झनामा भक्तिभावका साथ पूजाआजा गर्नाले निरोगी हुनुको साथै सुख, समृद्ध र धनाध्यय हुन सकिने धारणा रहेको छ ।

फागु पुर्णिमाको अघिल्लो दिनमा फलफुल, रोटी , विभिन्न थरीका मासुका परिकार र प्हाट्हुङ, काट्हुङ (आन्द्रामा गहुको पिठो वा रगत भरेको विशेष परिकार) लगायतका मिष्ठान खानेकुराहरुलाई सफा भाँडामा सजाएर अखण्ड, दीप, धूप, फलफुल, सेलरोटी,जाँड र रक्सी आदि चौरासी व्यञ्जन जुराई पहिलो दिनको मध्यरातको समयमा घर नजिकको धारा वा पंधेरामा नुहाई चोखो पानी सहित उक्त चौरासी ब्यन्जन पितृदेवलाई चढाईन्छ । यो सबै विधिलाई “खिमी च्हयुजी” भनिन्छ र यो थकाली जातिको पिण्ड दिने तरिका हो ।

यस “तोरन्ल्ह” पर्वमा विशेष गरेर पुरुषहरू तारा (धनुषवाण) खेल खेल्छन भने महिलाहरू नाकाभोटे (ढुङ्गाको गोटी) खेल्ने परम्परा छ । पर्वको मुख्य दिन पछि आफ्ना बिबाहित चेलीबेटि र ज्वाँईहरुलाई बोलाई मिठो चोखो खानेकुराहरु खुवाउने तथा पर्वको मुख्य दिनमा चेलीबेटीद्धारा माईती कहाँ रक्सी, रोटी, कुखुरा, तोरीको तेल आदि लिएर आदरका साथ पुर्‍याउने एवं माईतीबाट चेलीबेटी र ज्वांईहरुलाई नगद वा जिन्सी उपहार स्वरूप दिने चलन रही आएको छ ।