जापान । जापानको कानागावा प्रिफेक्चरको कानागावा परिषदको समितिमा नेपालको प्रतिनिधित्व गर्दै डोलराज सापकोटा’हरी’ चयन भएका छन् ।
कानागावा नेपाली कम्युनिटीका संस्थापक अध्यक्ष सापकोटा कानागावा प्रिफेक्चरल सरकारद्वारा गठित “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद”को समितिमा चयन भएका हुन।
कानागावाले आफ्ना योजना तथा नीति तर्जुमामा बिदेशी मुलका वासिन्दाहरुको प्रस्तावलाई समेट्ने गरी सन् १९९८ मा गठन गरेको यस परिषदको १२औँ समितिमा सापकोटालाई चयन गरिएको हो । यस परिषदको कार्यावधी २ वर्ष रहने छ ।
कानागावामा सन् २०१७ स्थापना भएको कानागावा नेपाली कम्युनिटीले सापकोटाको कार्यकालमा कानागावा नेपाली समुदायले सकृय रुपमा कार्य गरेको र बिशेष गरी जापानीहरुलाई समेत विभिन्न सेवा प्रदान गरेकोले नेपालको प्रतिनिधी गरि परिषदको समितिमा चयन गरिएको बताइएको छ।
गत साता प्रिफेक्चरल कार्यालयमा नबनियुक्त परिषद्को सदस्यहरुलाई गभर्नर युउजी कुरोइवाले नियुक्तिपत्र दिदै प्रतिनिधित्व गर्ने देशबाट कानागावामा बसोबास गर्ने नागरिकहरु र जापान सरकार बिचमा पुलको रुपमा काम गर्न र सल्लाह सुझाव दिन अनुरोध गरेका छन।
यस परिषदको वर्षमा ७ पटक परिषदको बैठक बस्ने र उक्त बैठकले प्रिफेक्चरल सरकारलाई नीतिगत प्रस्ताव बुझाउने व्यवस्था रहेको छ।

