बिहिबार, बैशाख १०, २०८३

एनआरएनए जापानद्वारा छुट्टा-छुट्टै परियोजनाका लागि १२ लाख आर्थिक सहयोग

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) जापानले आइसिसीको छुट्टा छुट्टै परियोजनाका लागि १२ लाख रुपैयाँ आर्थिक सहयोग निकासा गरेको छ ।

एनसिसी जापानले संस्थाको खातामा रहेको रकमबाट पोखरा महानगरपालिकासँगको समन्वयमा एनआरएनएले बनाउन लागेको स्मार्ट शौचालयको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको संस्थाका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो ।

यसैगरि मधेश प्रदेशमा मोबाइल ब्लड बस परियोजनाका लागि २ लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।

यस बाहेक भलिबल र ब्लड कोल्ड स्टोरका लागि कुल ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

अध्यक्ष शिव प्रसाद पौडेल नेतृत्वको वर्तमान कार्यसमितिले केहि सय येनबाट कार्यकाल सुरुगरेपनि नेपालमा यसअघि समेत विभिन्न सामाजिक कामको लागि २० लाख भन्दा बढिको आर्थिक सहायता प्रदान गरिसकेको छ ।

सबै कार्यसमिति सदस्यहरुबाट प्राप्त परियोजनाका लागि समेत प्रति परियोजना ७०,००० येन बिनियोजन गरेर नेपालमा सामाजिक कार्यक्रमलाई प्रोत्साहन गरेको कार्यसमितिले अहिले नेपाली राजदूतावासबाट संचालन भइरहेको घुम्ति सेवामा सक्रिय सहयोगका साथै स्वास्थ्य शिविर आयोजना लगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

पोखरामा निर्माण हुन लागेको स्मार्ट शौचालयको लागि अनुमानित बजेट करिब १ करोड रुपैयाँ रहेको छ । जसमा एनआरएनएले लागतको ६० प्रतिशत योगदान गर्ने सम्झौतामा उल्लेख छ । गैरआवासीय नेपाली संघका अनुसार आर्थिक सहयोग गर्ने दाताहरुको नाम सो क्षेत्रमा सूचिकृत गरिने भएको छ ।
त्यस्तै, मधेश प्रदेशमा मोबाइल ब्लड बस परियोजनाका लागि सहयोग रकम संकलन हुने क्रम जारी रहेको छ । परियोजनाका संयोजक एवं आईसिसी कोषाध्यक्ष सुनील साहले विभिन्न एनसिसी तथा गैरआवासीय नेपालीहरुबाट रकम संकलन हुने क्रम जारी रहेकाले चाँडै यो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।