मङ्गलबार, असोज ०९, २०८०

फेब्रुवरी महिनाको ३ तारिख आज जापानमा मनाईने सेचुबुन-नो-ही(節分の日) पर्व के हो?

गृष्मा पौड्याल :
節分の日 हरेक वर्ष फेब्रुअरी महिनाको ३ तारिख जापानमा ‘सेचुबुन नो ही’節分の日 मनाईन्छ।
सेचुबुन चाड पनि जापानमा एउटा चलनकै रुपमा मनाउने गरिन्छ। यस दिनबाट जापानमा ऋतुहरूमा परिवर्तन आउँछ भन्ने मान्यता रही आएको छ। हामीलाई त फेब्रुअरी मध्य जाडो ऋतु हो। तर जापानमा यो दिन देखि बसन्त ऋतुको आगमन भएको मानिन्छ।जापानमा खासमा फेब्रुअरी महिनाको चार तारिखसम्म जाडो मौसम रहेको मानिन्छ र फेब्रूअरी ५ तारिखदेखि हारू 春अर्थात बसन्त ऋतुको आगमन हुन्छ भन्ने विश्वास छ।
यो दिन जापानमा सेचुबुन नो ही अर्थात हाम्रो गाउँ घरमा लुतो फाल्ने जस्तो चलन रही आएको छ तर फाल्ने समाग्री र चलन भने विलकुल अलग्गै।आ-आफ्नो विश्वास अनुसार विभिन्न प्रशिद्ध मठ मन्दिर (お寺)या जिन्जा (神社) हरूमा कुनै न कुनै विधामा प्रशिद्ध व्यक्तिहरूलाई बोलाएर भुटेको भटमास अथवा बदमका कोसाहरू भूत या अशुभ कर्म भएका चिजहरूलाई फाल्न लगाएर ‘खुशियाली भित्र र भुतहरू बाहिर’ भनेर घरको बार्दली, झ्याल या बरण्डाबाट बाहिर फ्याल्ल लगाईन्छ। र यो दिन आफ्नो उमेर बराबरको भटमासको दाना गनेर खाएमा वर्षभरी रोग ब्याधले सताउँदैन भन्ने जन विश्वास पनि रही आएको छ।
यो चाडले जापानमा सबैमा राम्रो भाग्य उदय गराउँछ भन्ने पनि मान्यता रही आएको छ।भूतहरूलाई नष्ट गर्न भटमासका दानाले हानी हानी लखटने चलन छ। जवान जापानी केटाकेटीहरू सबै भन्छन्, “म यस चाडसँग परिचित छु, तर म यो चाडको मौलिक अर्थ र यसलाई मनाउने औपचारिक तरिकाको बारेमा भने अलि अनिश्चित छु”। अचम्मको कुरा यस्ता धेरै नव पुस्ताहरू छन् जापानमा जसलाई परम्परागत मौलिक चाडहरूको बारेमा थाहा हुँदैन।
हरेक वर्ष फेब्रुअरी महिनाको ३ तारिखमा जापानमा मानिने वसन्त ऋतुको आगमनलाई स्वागत गर्न ‘सेचुबुन-नो-हि’ मनाउने गरिएको परापूर्वकाल देखि रही आएको चलन हो।
節分の日 नामक यो विशेष दिन सधैं पात्रोमा पनि उल्लेख गरिएको हुन्छ।
सन् २०२३ को यो दिन ३ तारिख परेको छ तर २०२१ सालमा भने यो दिन १२४ वर्षपछि फेब्रूअरी महिनाको ४ तारिखमा पनि परेको थियो।
जापानी मौलिक विश्वास अनुसार यो दिनमा भुतप्रेतहरु पृथ्वीलोकमा घुम्न आउने र मान्छेहरूलाई दु:ख दिने हुँदा उनीहरुलाई केहि खान दिई खुशी पारेर घर भित्रबाट बाहिर ढोका खोलि भुटेको भट्टमासले “ओनी वा सोतो फँसि वा_ फुकु-वा-उची भनेर (भुत प्रेत बाहिर, राम्रो कुरा भित्र) भन्दै भुतको अवतारमा मास्क लगाएका व्यक्तिहरूलाई भटमास बदम र यस्तै भुटेका गेडागुडीले हानेर भगाउने चलन रही आएको छ।त्यसपछि , आफ्नो उमेरको जति दाना भटमास गनेर खाइ वर्षै भरी स्वस्थ्य रहिन्छ भन्ने विश्वास रही आएको छ।
डे- केयर सेन्टर तथा प्राथमिक विध्यालयहरूमा भुत बनेर आउने अभिभावक अथवा शिक्षक – शिक्षिकाहरूलाई भुटेको भटमास ताकि- ताकि हान्न पाउने हुँदा बच्चाहरू पनि रमाइलो मान्ने गर्दछन्।
यहाँ सेचुबुन-नो-हि’ मनाउँदै गर्दा मलाई भने नेपालको गाउँघरमा ” लुतो फाल्ने” चलनको सम्झना आउने गर्दछ ।
यो दिनको अर्को महत्वपूर्ण बिशेषता भनेको एक प्रकारको सुली ‘एहोमाकी’ (恵方巻) खानु पनि हो।यो एहोमाकी पपकाएको भातमा सुकाएको समुद्री लेउ (नोरी) भित्र काँक्रो गाजर, टुना फिस र तारेको अण्डा लगाएतका सामाग्रीहरू राखेर भातलाई नोरीमा बेरेर तयार पारीएको एक किसिमको सुसी हो। तपाईंहरूलाई बुझ्न सजिलोको लागि तल तस्विरमा पनि राखिएको छ।
यो दिन सबैको शु-स्वस्थ्यको कामना गरी एहोमाकी दक्षिण- पश्चिम दिशामा फर्केर खाने गरिन्छ। यसरी एहोउमाकी खाँदा तोकिएको दिशामा फर्किएर मनमनै सबैको शु-स्वास्थको कामना गरे देसको पनि भाग्य उदाउने विश्वास रही आएको छ।
हामीले पनि तोकिएको दिशा दक्षिण -पश्चिम फर्किएर एहोमाकी खाँदै सबैको खुसी र सुस्वास्थ्यको कामना गर्यौं ल??
अलिकति भए पनि जापानी चलनको बारेमा यहाँहरूसँग शेयर गर्न पाउॅदा खुसी लागेको छ।

टोक्यो जापान