मङ्गलबार, जेठ १२, २०८३

जापानमा नेपालीहरूको हाँसोभित्र लुकेको वास्तविकता: तनाव, एक्लोपन, ठगी र आत्महत्यासम्म

भवानी भट्ट, टोकियो ।
जापान अनुशासन, प्रविधि, अवसर र सुरक्षित जीवनका लागि विश्वमै चिनिने देश। यही सपनाले हरेक वर्ष हजारौं नेपाली युवाहरू अध्ययन, रोजगारी र भविष्य निर्माणको आशामा जापान आइपुग्छन्। सामाजिक सञ्जालमा देखिने रमाइला तस्वीर, चम्किला शहर, राम्रो कमाइ र हाँसोले धेरैलाई लाग्न सक्छ — जापानमा नेपालीहरूको जीवन निकै सुखी होला।

वास्तविकता सधैं तस्वीरजस्तो हुँदैन
धेरै नेपालीहरूको हाँसोभित्र गहिरो तनाव लुकेको छ। बाहिरबाट “सब ठिक छ” भन्नेहरू भित्रभित्रै मानसिक दबाब, आर्थिक बोझ, एक्लोपन र भविष्यको डर बोकेर बाँचिरहेका छन्।

विशेषगरी जापानको व्यस्त जीवन, लामो कामको समय, भाषाको समस्या, परिवारबाट टाढा बस्नुपर्दाको पीडा, बढ्दो ऋण र सामाजिक दबाबले धेरै नेपालीहरू मानसिक रूपमा कमजोर बन्दै गएको गुनासो समुदायभित्र बढ्दो रूपमा सुनिन थालेको छ।

कतिपय नेपालीहरू दिनमा १२–१४ घण्टासम्म काम गर्छन्। आराम कम, चिन्ता धेरै। धेरैले आफ्नो वास्तविक पीडा कसैलाई भन्न सक्दैनन्। मानिसले के भन्ला भन्ने डरले पनि धेरै समस्या मनभित्रै दबाएर राखिन्छ।

एक्लोपन र मौन पीडा
जापानमा धेरै नेपालीहरू सानो कोठामा एक्लै बस्छन्। काम–कोठा–कामको दैनिकीले जीवन मेसिनजस्तो बनेको छ। साथीभाइसँग भेटघाट कम हुँदै जानु, परिवारसँग दूरी बढ्नु, सम्बन्धहरू कमजोर बन्नु — यी सबैले मानसिक स्वास्थ्यमा असर पारिरहेको छ।

कसैले बाहिर हाँसेको देखिन्छ, तर भित्रभित्रै ऊ डिप्रेसनसँग लडिरहेको हुन सक्छ।

यही मौन पीडाले केही नेपालीहरूलाई रक्सी, धूम्रपान वा अन्य खराब बानीतर्फ धकेलिरहेको छ। तनाव बिर्सिन सुरु गरिएको रक्सी कतिपयका लागि बिस्तारै लत बन्दै गएको देखिन्छ। रक्सीले केही समय दुःख बिर्साएजस्तो गरे पनि अन्ततः यसले स्वास्थ्य, सम्बन्ध र आर्थिक अवस्था झन् बिगार्ने काम गर्छ।

आत्महत्यासम्म पुग्ने अवस्था
समुदायभित्र कहिलेकाहीँ आउने आत्महत्याका दुःखद समाचारहरूले धेरैलाई स्तब्ध बनाउने गरेका छन्। धेरैजसो घटनामा मानिसहरू अन्तिम समयसम्म आफ्नो पीडा खुलेर व्यक्त गर्न सक्दैनन्।

कमजोर देखिन्छु भन्ने डर, अरूलाई दुःख दिन्न भन्ने सोच र अब कसैले बुझ्दैन भन्ने निराशाले मानिसलाई खतरनाक अवस्थासम्म पुर्‍याउन सक्छ।
मानसिक स्वास्थ्य पनि शरीरको स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण विषय हो भन्ने चेतना अझै हाम्रो समुदायमा पर्याप्त रूपमा विकास हुन सकेको छैन।

सपना बेच्ने ठगीको जाल
जापानमा नेपाली समुदाय बढेसँगै केही सपना बेच्ने दलाल र ठगी गर्ने समूह पनि सक्रिय भएको गुनासो बढ्दो छ।

सजिलो काम लगाइदिन्छु, महिनाको लाखौं कमाइ हुन्छ, छिट्टै PR हुन्छ, भिसा सजिलै मिलाइदिन्छु जस्ता मीठा आश्वासन दिएर धेरै युवाहरूबाट ठूलो रकम असुल्ने, गलत बाटोमा लैजाने वा समस्यामा पार्ने घटनाहरू समय–समयमा बाहिरिने गरेका छन्।
कतिपय विद्यार्थी अत्यधिक कामको दबाबमा पढाइ बिगारिरहेका छन् भने केही अवैधानिक काम वा गलत संगतमा समेत फस्ने जोखिम बढिरहेको देखिन्छ।

सामाजिक दूरी र बढ्दो विभाजन
विदेशमा एउटै देशका मानिसहरू एकअर्काको सहारा बन्नुपर्ने हो। तर कहिलेकाहीँ समुदायभित्र नै अनावश्यक राजनीति, समूहबन्दी, ईर्ष्या र सामाजिक दूरीले समस्या झन् बढाउने गरेको अनुभूति धेरैको छ्।कोही समस्यामा पर्दा सहयोगभन्दा आलोचना बढी हुने संस्कारले पीडितलाई झन् एक्लो बनाउने खतरा हुन्छ।

अब समाधानतर्फ सोच्ने बेला
समस्या छन् भनेर स्वीकार गर्नु नै समाधानको पहिलो कदम हो।जापानमा रहेका नेपाली समुदाय, संघसंस्था, विद्यार्थी समूह, व्यवसायी, अभिभावक र जिम्मेवार व्यक्तिहरूले अब मानसिक स्वास्थ्य, सामाजिक सहयोग र सही सूचनामाथि गम्भीर बहस सुरु गर्न आवश्यक देखिन्छ।

समस्यामा परेका साथीहरूसँग खुलेर कुरा गर्ने, मानसिक तनावलाई लाजको विषय नबनाउने, अत्यधिक रक्सी र खराब बानीबाट टाढा रहने, नयाँ आउने नेपालीलाई सही सूचना दिने, ठगी र दलालीविरुद्ध समुदायस्तरमै सचेतना फैलाउने र आवश्यक परे विशेषज्ञ वा हेल्पलाइनको सहायता लिन हिच्किचाउन नहुने जस्ता विषय अहिले अत्यन्त आवश्यक देखिन्छन्।
विदेशमा पैसा कमाउनु मात्रै सफलता होइन। मानसिक शान्ति, स्वस्थ सम्बन्ध, आत्मसम्मान र सुरक्षित भविष्य पनि उत्तिकै महत्त्वपूर्ण कुरा हुन्।

जापानमा नेपालीहरूको संघर्ष वास्तविक छ। तर समस्या लुकाएर होइन, एकअर्काको हात समातेर, खुलेर संवाद गरेर र सही बाटो रोजेर मात्रै राम्रो भविष्य निर्माण गर्न सकिन्छ्।किनकि कहिलेकाहीँ मानिसलाई सबैभन्दा धेरै चाहिने कुरा पैसा होइन सकिन्छ तिमी एक्लो छैनौ भन्ने महसुस हो।
जापानमा नेपाली समुदायको संख्या बढ्दै जाँदा अवसरसँगै चुनौती पनि थपिएको विश्लेषण गरिन्छ। समुदायभित्र विश्वासको वातावरण कायम राख्न तथा नयाँ आउने नेपालीलाई सुरक्षित बनाउन “दलाल प्रवृत्ति” विरुद्ध सामूहिक सचेतना आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

विशेष चिन्ताको विषय के भने, धेरै नेपालीहरू आफ्नो समस्या खुलेर भन्न चाहँदैनन्। “म ठिक छु” भन्ने वाक्य पछाडि कहिलेकाहीँ ठूलो तनाव लुकेको हुन स्क्छ,
धेरै नेपालीहरू बाहिर हाँसिरहेको देखिए पनि जापानमा संघर्ष गरिरहेका नेपालीहरूको कथा केवल कमाइको कथा मात्र होइन, मानसिक स्वास्थ्य र एक्लोपनसँगको संघर्ष पनि हो, जय होस !
लेखक भट्ट नेपाल पत्रकार महासंघ जापान शाखाका कार्य समिति सदस्य हुन ।

यसमा तपाईको प्रतिक्रिया