भवानी भट्ट, टोकियो ।
जापानमा गर्मी बढ्दै जाँदा नेपाली समुदायभित्र अर्को “तातो मौसम” पनि सुरु भएको छ — सुदूरपश्चिम नेपालि समाज जापानको आठौं अधिवेशन।
रेल स्टेशनदेखि रेस्टुरेन्ट, कम्पनीको ब्रेक टाइमदेखि कलेजका ग्राउन्ड र पार्कसम्म, अनि फेसबुक ग्रुपहरूमा समेत अहिले एउटै चर्चा बाक्लिन थालेको छ ।
अब नेतृत्व कसको ? अनि कस्तो ?
-जापानमा रहेका सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था “सुदूरपश्चिम नेपालि समाज जापान” नयाँ नेतृत्व चयनको चरणमा पुगेको छ। अधिवेशन नजिकिँदै जाँदा समुदायभित्र एउटा गम्भीर बहस पनि सुरु भएको छ ।
अबको नेतृत्व केवल नामको हुने कि कामको ?
-विदेशमा संस्था खोल्नु सजिलो होला, तर त्यसलाई सबै जिल्लाको भावना समेटेर निरन्तर चलाइराख्नु त्यति सहज काम होइन। अझ सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा विकट, सांस्कृतिक रूपमा विविध र भावनात्मक रूपमा एकतामा बाँधिएको प्रदेशको प्रतिनिधित्व गर्नु झन् जिम्मेवारीपूर्ण विषय हो।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट जापान आएका नेपालीहरू अहिले काम, अध्ययन, व्यवसाय र परिवारसँगै आफ्नो पहिचान जोगाइरहेका छन्। यस्तो अवस्थामा समाजको नेतृत्व केवल “पद” होइन, समुदायलाई जोड्ने जिम्मेवारी पनि हो।
विगतको नेतृत्वले के गर्यो ?
-पछिल्ला वर्षहरूमा समाजले दुःख–सुखमा साथ दिने प्रयास गरेको देखिन्छ।
कसैलाई अस्पताल सहयोग, कसैलाई आकस्मिक राहत, नेपालमा बाढी–पहिरो जाँदा सहयोग संकलन, सांस्कृतिक कार्यक्रम, खेलकुद, भेटघाट तथा नयाँ आउने नेपालीहरूलाई सूचना सहयोग — यस्ता गतिविधिले संस्थालाई समुदायबीच परिचित बनाएको छ।
विदेशमा आफ्नोपन खोजिरहेका धेरै नेपालीहरूका लागि यस्ता संस्था भावनात्मक सहाराका केन्द्र पनि बनेका छन्।
तर समयसँगै केही गुनासा र प्रश्नहरू पनि उठ्न थालेका छन्।
कतिपयले संस्था “कार्यक्रममा फोटो खिच्ने ठाउँ” जस्तो बन्दै गएको टिप्पणी गर्छन्।
कतिले “आफ्नो जिल्लाको मान्छे मात्रै नजिक हुने” प्रवृत्ति बढेको बताउँछन्।
कोही मजाकमै भन्छन् —
“अधिवेशन आउन लागेपछि मात्रै धेरैको फोन अन हुन्छ।”
यद्यपि, विदेशमा सबैलाई सन्तुष्ट पार्न सजिलो छैन।
कामको चाप, समयको अभाव र आर्थिक व्यस्तताबीच संस्था सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण काम हो। त्यसैले विगतको योगदानलाई सम्मान गर्दै कमजोरीबाट सिक्ने बेला आएको धेरैको बुझाइ छ्।
अब कस्तो नेतृत्व आवश्यक छ ?
१. जिल्लाभन्दा माथि उठ्न सक्ने नेतृत्व
सुदूरपश्चिम भनेको केवल डडेलधुरा, बाजुरा, कैलाली वा कञ्चनपुर अलग-अलग होइन।
यो ९ जिल्लाको साझा भावना हो।
त्यसैले “मेरो मान्छे” भन्दा “हाम्रो समुदाय” भन्ने सोच राख्ने नेतृत्व अहिलेको आवश्यकता मानिएको छ।
२. फेसबुक होइन, फिल्डमा देखिने नेतृत्व
जापानमा धेरै नेपालीहरू एक्लोपन, तनाव, कामको दबाब र भाषाको समस्यासँग संघर्ष गरिरहेका छन्।
यस्तो बेला कार्यक्रममा माइक समात्नेभन्दा समस्या पर्दा फोन उठाउने नेतृत्व समुदायले खोजिरहेको छ।
समुदाय अहिले फोटोभन्दा उपस्थितिलाई बढी महत्व दिन थालेको देखिन्छ।
३. युवालाई समेट्ने सोच
जापानमा अहिले नयाँ पुस्ताका विद्यार्थी र युवा कामदारहरूको संख्या उल्लेख्य रूपमा बढेको छ।
उनीहरूलाई अवसर, सूचना र सहभागिता दिन सक्ने नेतृत्व आवश्यक छ।
पुरानै घेरा र सीमित समूहभित्र संस्था अल्झिँदा नयाँ ऊर्जा हराउने खतरा देखिन्छ।
४. पारदर्शी र हिसाब देखाउने नेतृत्व
विदेशी भूमिमा चल्ने संस्थाको सबैभन्दा ठूलो पूँजी भनेकै विश्वास हो।
कति पैसा उठ्यो ? कहाँ खर्च भयो ? कसले के काम गर्यो ?
यी विषय स्पष्ट राख्न सक्ने नेतृत्वप्रति समुदायको भरोसा अझ बलियो बन्न सक्छ।
५. भाषण कम, समन्वय बढी
अधिवेशन आउँदा धेरै सपना र घोषणा सुनिन्छन्।
तर समुदाय अहिले भाषणभन्दा व्यवहार खोजिरहेको छ।
सानो विवाद मिलाउन सक्ने, सबैलाई समेट्न सक्ने र रिसभन्दा सम्बन्ध जोगाउन सक्ने नेतृत्वलाई धेरैले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिरहेका छन्।
अधिवेशन केवल चुनाव होइन !
विदेशमा रहेका नेपाली संस्थाहरूमा कहिलेकाहीँ चुनावभन्दा “गुट” ठूलो बन्ने गरेको गुनासो सुनिन्छ।
तर सुदूरपश्चिमेली समुदायले यसपटक त्योभन्दा माथि उठ्ने अपेक्षा गरिएको छ।
किनकि जापानमा संघर्ष सबैको उस्तै छ।
कसैले कारखानामा पसिना बगाइरहेका छन्, कसैले रातभर होटल सफाइ गरिरहेका छन्, कोही भाषा विद्यालयको शुल्क तिर्न ओभरटाइम गरिरहेका छन्।
यस्तो अवस्थामा संस्था विभाजनको केन्द्र होइन, सहाराको छाता बन्नुपर्छ भन्ने आवाज बलियो बन्दै गएको छ।
अन्तिम प्रश्न समुदायमै फर्किन्छ
नेतृत्व कस्तो आउँछ भन्ने कुरा उम्मेदवारले मात्र तय गर्दैनन्, मत दिने समुदायले पनि तय गर्छ।
यदि समुदायले
“हाम्रो मान्छे” भन्दा “राम्रो मान्छे” रोज्न थाल्यो भने,
“बोल्ने” भन्दा “काम गर्ने” लाई प्राथमिकता दियो भने,
सुदूरपश्चिमेलीहरूको संस्था अझ बलियो, जिम्मेवार र एकताबद्ध बन्न सक्छ।
अन्ततः, जापानमा बस्ने सुदूरपश्चिमेली नेपालीहरूलाई अहिले पदको चमकभन्दा भरोसाको नेतृत्व आवश्यक देखिएको छ। जय होस………!
लेखक भट्ट नेपाल पत्रकार महासंघ जापान शाखाका कार्य समिति सदस्य हुन ।

