भवानी भट्ट, टोकियो, जापान । सुदूरपश्चिम नेपाली समाज जापानको आठौँ अधिवेशन गत मे ३१ मा टोकियोस्थित जाइका हलमा भव्यताका साथ सम्पन्न भएको छ। जापानभर रहेका सुदूरपश्चिमेली समुदायको उल्लेखनीय सहभागिताबीच सम्पन्न अधिवेशनले विकास रोकायाको नेतृत्वमा २०२६–२०२८ कार्यकालका लागि ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ।
अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परे पनि सहमतिमा पुग्न नसक्दा निर्वाचन प्रक्रिया अघि बढ्न सकेन। अन्ततः सहमतिका आधारमा पुरानै नेतृत्वलाई निरन्तरता दिने निर्णय गर्दै विकास रोकायाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विकास रोकाया, वरिष्ठ उपाध्यक्षमा दिनेश अधिकारी, उपाध्यक्षहरूमा ईश्वर खड्का, सागर सिंह, किश्वर सिंह, सविन शाही, करण खाती तथा सारिका खड्का चयन भएका छन्। महिला उपाध्यक्षमा सोनाली साउद, महासचिवमा सुमित कुमार रोकाया, सचिवहरूमा साजन थापा र पूजा महतरा तथा कोषाध्यक्षमा नरेश भण्डारी र महिला कोषाध्यक्षमा कविता बिष्ट चयन भएका छन्।
त्यसैगरी युवा विभाग संयोजकमा भावुक जंग शाही तथा युवा उपसंयोजकमा सुवम शाह चयन भएका छन्। अन्य सदस्यसहितको ३९ सदस्यीय कार्यसमितिले आगामी दुई वर्ष संस्थाको नेतृत्व गर्नेछ।
अधिवेशनका प्रमुख अतिथि समाजका संस्थापक तथा वरिष्ठ समाजसेवी डा. भरत नेगी रहेका थिए भने विशिष्ट अतिथिका रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष शुभाष लामिछाने सहभागी भएका थिए। कार्यक्रममा जापानमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. नेगीले प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र सांस्कृतिक संरक्षणको आवश्यकता औँल्याउँदै सुदूरपश्चिम समाज जापानले समुदायलाई जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले भाषा, कला, संस्कृति र सामाजिक मूल्यहरूको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे।
विशिष्ट अतिथि तथा एनआरएनए जापानका अध्यक्ष शुभाष लामिछानेले सुदूरपश्चिम समाज जापान समुदायको एकता, संस्कृति संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय र उदाहरणीय संस्था रहेको उल्लेख गर्दै आगामी दिनमा संस्थाका हरेक रचनात्मक गतिविधिमा एनआरएनए जापानको साथ, सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरे। उनले संस्थालाई थप सशक्त र प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउँदै जापानमा रहेका नेपाली समुदायबीच आपसी सहयोग, सद्भाव र संस्थागत सहकार्यलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा समाजका संस्थापकहरू डा. भरत नेगी, चन्द्र उपाध्याय, पूर्ण चलाउने, आशिष रावल, विष्णु प्रसाद भट्ट, भुवन शंकर भट्ट तथा पदमसिंह ठगुन्नालगायतले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्राबारे चर्चा गरेका थिए। उनीहरूले जापानमा रहेका सुदूरपश्चिमेलीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले स्थापना भएको संस्थाले सामाजिक, सांस्कृतिक तथा मानवीय सेवाका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै संस्थाको भूमिकाको प्रशंसा गरेका थिए।
अधिवेशनले संगठनको भावी कार्यदिशा तय गर्नुका साथै भाषा, कला, संस्कृति, सामाजिक एकता र आपसी सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सहभागीहरूले प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिको संस्कृति, परम्परा र सामाजिक मूल्यहरूको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता संस्थाहरूको भूमिका अझ महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए।
अधिवेशनका क्रममा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाबारे समेत चर्चा गरिएको थियो। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, झिलमिला ताल, कैलालीको घोडाघोडी ताल, डडेल्धुराको उग्रतारा मन्दिर, बैतडीको त्रिपुरा सुन्दरी, दार्चुलाको अपी हिमाल तथा मालिकार्जुन मन्दिर, डोटीको शैलेश्वरी मन्दिर र खप्तड क्षेत्र, अछामको रामारोशन तथा वैद्यनाथ धाम, बाजुराको बडीमालिका तथा बझाङको खप्तड राष्टिय निकुन्ज, सुरमा सरोवरलगायत धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्वमाथि प्रकाश पारिएको थियो।
कार्यक्रमको विशेष आकर्षण सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने देउडा, लोकगीत तथा नृत्य प्रस्तुति रह्यो। सहभागीहरू “चल गोबिन्दे पाइला मिलाइ, देउडा खेलौं छम् कि छमा छम्…”, “राइझुमा झुमा क्या मस्क्याकि छ हो…” तथा “सुन्दर भूमि पश्चिमै हो…” लगायतका लोकप्रिय देउडा गीतमा रमाउँदै नाचेका थिए। सांस्कृतिक प्रस्तुतिले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति, भाषा र परम्पराप्रतिको आत्मीयता तथा लगावलाई जीवन्त बनाएको सहभागीहरूले बताएका थिए।
जापानमा रहेका सुदूरपश्चिमेलीहरूको साझा संस्था सुदूरपश्चिम समाज जापानले विगतदेखि नै सामाजिक, सांस्कृतिक तथा मानवीय गतिविधिमार्फत समुदायलाई जोड्दै आएको छ। आठौँ अधिवेशनले संस्थाको आगामी यात्रालाई थप ऊर्जावान, संगठित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। साथै प्रवासमा रहेका सुदूरपश्चिमेलीहरूबीच आपसी एकता, सहयोग र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउन संस्थाले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

