बिहिबार, बैशाख १०, २०८३

तामाङ समाज जापानले सोनाम ल्होछारमा जनवरी २२ तारिख बृहत् सांस्कृतिक कार्यक्रम गर्ने

टोकियो । नेपाल तामाङ समाज जापानले तामाङ समुदायको महान पर्व तथा छार ल्होखोर (नयाँ वर्ष) मन्जुश्री सम्वत २८५९ औं ह्योइ (तावार ) ल्हो बिरालो वर्ग सोनाम ल्होछार आगामी २०२३ जनवरी २२ तारिख आईतबारका दिन मनाउने भएको छ ।

नेपाल तामाङ समाज जापान केन्द्रीय समितीको आयोजनामा जनवरी २२ तारिख आइतबार साँझ ५:३० बजेबाट टोकियोको नाकानो जेरो हलमा सोनाम ल्होछार “बृहत सांस्कृतिक साँझ-२०२३” मनाउने भएको हो ।

कार्यक्रमलाई आकर्षक र मनोरन्जनात्मक बनाउन उक्त सांस्कृतिक साँझमा नेपालबाट चर्चित गायक गायिका तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने नेपाल तामाङ समाज जापानका अध्यक्ष कार्साङ तामाङले जानकारी दिनुभयो ।

तामाङ समाज जापानका अध्यक्ष तामाङले ल्होछार सांस्कृतिक साँझ कार्यक्रममा जापानमा रहनुभएका तामाङ तथा गैरतामाङ सम्पुर्ण नेपाली समुदायलाई उपस्थितको लागि अनुरोध सहित निमन्त्रणा समेत गर्नुभएको छ ।
बाघ बर्ग (ताक) ल्होको विदाई र ह्योई ल्हो बिरालो बर्गको स्वागतमा २२ तारीख मनाईने उक्त ल्होछार सांस्कृतिक कार्यक्रम ल्होछारकै दिनमा पर्ने भएकोले यो बर्षको टोकियो ल्होछार कार्यक्रम विशेष र अर्थपुर्ण हुने भएकोले विगतका वर्षहरुको भन्दा बृहत हुने महासचिब तेज थिङले जानकारी दिनुभयो ।