बिहिबार, बैशाख १०, २०८३

टोकियोमा “विश्व चौतारी सङ्गम-२०२३” को आयोजना हुने

अङ्ग्रेजी नयाँ वर्षलाई स्वागातार्थ जापानमा क्रियाशिल दुई साहित्यिक संस्थाले टोकियोमा नव बर्ष बिशेष “विश्व चौतारी सङ्गम” कार्यक्रमको आयोजना गर्ने भएको छ ।

विश्व नेपाली साहित्य महासङ्घ जापान शाखा र साहित्यिक चौतारी नेपाल जापान शाखाको संयूक्त आयोजनामा “विश्व चौतारी सङ्गम-२०२३” को आयोजना हुने भएको हो ।

टोकियोको ओकुवो स्थित नेवा डाइनिङ रेष्टुरेण्टको हलमा आयोजना हुने नव बर्ष बिशेष “विश्व चौतारी सङ्गम-२०२३” साकुराको देशमा कार्यक्रममा साहित्यका विविध आयम आधा दर्जन सर्जकहरुको पुस्तक विमोचन, शुभकामना आदान-प्रदान, साहित्यिक रचना वाचन, नृत्य तथा विविधतायुक्त साँस्कृतिक झाँकी सहित बिशेष साङ्गीतिक साँझ हुने आयोजकले जनाएको छ ।

“स्थापितलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन । साहित्यको विकास र विस्तार, हाम्रो साझा अभियान॥” भन्ने स्लोगनका साथ आयोजना हुने उक्त कार्यक्रममा जापानमै बसेर साहित्य सिर्जना गर्ने स्रष्टाहरु तथा नेपाली साहित्यका प्राज्ञहरुद्धारा सिर्जन पुस्तकको विमोचनका साथै म्युजिक भिडियो लगायतको सार्वजानिक समेत हुने कार्यक्रम रहेको हुने बताएको छ ।

कार्यक्रममा जापानलाई कर्मभूमि बनाएर संगीत कर्ममा लागिपरेका जनजनको मनमा बस्न सफल कलाकारहरुको बेजोडको साङ्गीतिक प्रस्तुती पनि रहने जनाएको छ ।

साहित्यिक संस्थाको दर्जामा आ-आफ्नो तर्फबाट नेपाली साहित्यको क्षेत्रको विकासमा लागिपरेका विश्व नेपाली साहित्यिक महासंघ र साहित्यिक चौतारी नेपाल केन्द्रले केन्द्रमा संयुक्त कार्यक्रमको आयोजना गरेको थियो । तर जापानको हकमा भने दुई वटा साहित्य संस्थाको एउटै व्यानरमा गर्न लागेको कार्यक्रम भने पहिलो र उदाहरणीय हो भन्न सकिन्छ ।

संस्था फरक भएपनि उदेश्य एउटै भए नेपाली साहित्यिको विकास र विस्तारको अभियानमा पुर्याउने योगदान एउटै व्यानरमा अटाउन सक्छ भन्ने शन्देश पनि हो । आयोजक संस्थाका अध्यक्षद्धय देवी बहादुर इङनाम लिम्बु र अमरदेव बास्तोलाको विचार छ ।

कार्यक्रम भव्य बनाउन पत्रचार र अन्य आन्तरिक तथा बाह्य तयारी तिब्र पारिएकोले यो आउने नयाँ बर्ष २०२३ को शुभकामना साटासाट तथा आपसी भाइचारा स्थापित गर्न आयोजकले सबै जापानबासी नेपाली समुदाय, विभिन्न संघ-संस्था, मिडियाकर्मी लगायतलाई हार्दिक निमान्त्रणा समेत गरेको छ ।