जापान । ओसाकामा रहेको धौलागिरी दोहोरी साँझका संचालक धन बहादुर थापाले गायिका अमृता श्रीपालसँग माफी माग्दै क्षतिपूर्ती रकम दिन सहमती जनाएका छन् ।
बिहिबर साँझ मोना जापान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखा लगायतमा गायिका श्रीपालले दिएको निवेदन अनुसार बिहिबार विभिन्न पक्ष बसेर विवाद समाधान गरिएको एनआरएनए आईसिसीका सदस्य दिपक कार्कीले जानकारी दिनुभयो ।
दुवै पक्षले कमजोरी भएको र एक पक्षले आफुबाट भएको गल्तिप्रति क्षमायाचना सहित आत्मालोचना गरेपछि विवाद समाधान भएको कार्कीको भनाई छ । पिडित पक्षको माग तथा आरोपित व्यक्तिको आवाज समेत सुनेर दुवै पक्ष मान्य भएर सहमती भएको छ ।
सहमती अनुसार धौलागिरी दोहोरी साँझका संचालक धन बहादुर थापा र सोहि दोहोरी साँझमा नेपालबाट आएकी अतिथि कलाकार अमृता श्रीपाल विचको आपसी विवादको विषयलाई अब उप्रान्त दुवै पक्षले नबल्झाउने भएको सहमति पत्रमा उल्लेख छ ।
यसैगरि गायिका माथि लाञ्छना र धम्की दिएको बताइएका दोहोरी साँझका संचालक थापाले गायिका श्रीपाललाई नेपाल फिर्ता जाने टिकटको पनि व्यवस्था गर्ने भएका छन् ।
तीन महिनाको भिषामा जापान आएको महिना दिन बितेपनि थप दुई महिना गायिका श्रीपालले चाहे अनुसार बस्न दिने र फर्कंदा टिकट उपलब्ध गराउने सहमती भएको हो । यसैगरि गायिका श्रीपाललाई पारिश्रमिक स्वरूप जापानी येन १० लाख मध्ये दिन बाँकी ९ लाख येन मोना जापानको खातामा उपलब्ध गराएर दिइने भएको हो ।
एनआरएनए आईसिसी सदस्य तथा मोना एशिया प्यासेफिक संयोजक दिपक कार्कीका अनुसार सेप्टेम्बर १५ तारिख देखि जापान बस्ने अनुमति अवधि सम्मको लागि मोना जापानले जिम्मेवारी लिने भएपछि सहमती टुंगिएको हो ।
सहमती राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखाका सदस्य कुलबिर थापा, मोना एशिया प्यासेफिकका संयोजक दिपक कार्की, एनआरएनए कान्साईका संयोजक दिलिप शर्मा, गलकोट समाज जापानका उपाध्यक्षद्धय शिबु थापा र गौरीशंकर गैरे, कान्साई संयोजक नवराज भट्टराई, व्यवसायी दिलिप कँडेल लगायत करिव दुई दर्जन व्यक्तिको उपस्थिति रहेको थियो ।

