टोकियो । प्रवासी नेपाली मञ्च(ओएनएफ) जापानको २१औं राष्ट्रिय अधिवेशन सेप्टेम्बर ४ मा कामता टोकियोमा हुने भएको छ ।
सेप्टेम्बर ४ तारिख भोली हुने अधिवेशन सफल पार्न नेकपा(एमाले) का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी जापान आइपुग्नु भएको छ ।
प्रमुख अतिथिको रूपमा अधिवेशन उद्घाटन गर्न शनिवार बिहान नेता अधिकारी जापान आइपुग्नु भएको हो ।अधिकारीलाई प्रवासी नेपाली मंच जापानका अध्यक्ष सुरेश केसी लगाएत कमिटिका नेताहरुले स्वागत गर्नुभएको छ ।
अधिवेशनमा विशेष अतिथिको रुपमा प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि अध्यक्ष भक्त गुरुङ , जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीको उपस्थिति रहने मञ्चका प्रचार विभाग प्रमुख प्रकाश ढकालले बताउनु भयो ।
जापानभरबाट करिब ५ सय प्रतिनिधी सहभागी हुने अधिवेशनमा विभिन्न राजनीतिक र जापानस्थित सामाजिक संघसंस्थाको नेतृत्वको उपास्थिति रहने जनाएको छ ।
नयाँ नेतृत्वको लागि हुने अधिवेशनमा सहमतिबाटै नेतृत्व चयन हुने ओएनएफ जापानले जनाएको छ ।


