शुक्रबार, चैत १६, २०८०

जापानमा आयोजित दुई दिने नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न

टोकियो । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा जापानमा आयोजित दुई दिने नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ । टोकियोको नाकानोमा आयोजित नेपाल फेस्टिवल २०२२ भब्य रुपमा सम्पन्न भएको हो ।

जुलाई ३० र ३१ तारिख आईतबार आयोजित फेस्टिवललाई नेपाल सरकार सहित जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो । फेस्टिवल उद्घाटनमा नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना उपस्थित भएका थिए । यस बाहेक जापान सरकारको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी, फेस्टिवल आयोजना स्थल नाकानो शहरका मेयरको समेत सहभागीता रहेको थियो ।

दुई दिने नेपाल फेस्टिवलमा नेपालको पर्यटन प्रर्वद्धन, मौलिक कला संस्कृति प्रर्वद्धन सहित सांस्कृतिक चिनारीका झाँकी, बाजागाजा, नृत्य, पोशाक सहित खाना परिकारहरु प्रर्दशन गरिएका थिए । झण्डै दुई दर्जन व्यवसायका स्टल समेत राखिएको फेस्टिवलको दुवैदिन निशुल्क स्वास्थ्य परामर्श शिविर समेत राखिएको थियो ।

चर्को घाम, बढ्दो कोभिड महामारि सहित मंकिपक्स भाइरसको जोखिमका बिच दुईदिने नेपाल फेस्टिवल करिव १ लाख व्यक्तिले अवलोकन गरेको अनुमान गरिएको छ ।फेस्टिवलमा जापानको राजधानी टोकियो र आसपासका प्रान्त सहित सबैभन्दा टाढा रहेको ओकिनावा सहित होक्काइदोबाट समेत नेपालीहरुले सहभागीता जनाएका थिए ।

नेपाली नागरिकहरु बाहेक जापानी, बेलायती, अमेरिकी, ईण्डियन, श्रीलंकन, भियतनामी, चिनियाँ, अफ्रिकन देशहरु तथा युरोपियन देशका जापानमा रहँदै आएका दर्जनौं बिदेशी नागरिकहरुको समेत फेस्टिवलमा सहभागीता रहेको पाइएको छ ।

फेस्टिवल आयोजना गर्न सबै खालको साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले फेस्टिवल आयोजनाको गतिविधि तथा कारोवार लगायत विषयमा छिट्टै सम्पूर्ण विवरण पारदर्शि रुपमा सार्वजनिक गर्ने बताउनुभयो ।

फेस्टिवल सांस्कृतिक पहिचान, पर्यटन प्रर्वद्धन, स्टल व्यवस्थापन, व्यवस्थित सहभागीता लगायत सबै दृष्टिकोणले फेस्टिवल सफल रहेको संघका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो ।