शुक्रबार, बैशाख १४, २०८१

भोलीबाट टोकियोमा हुने १२ औँ नेपाल फेस्टिवल दुई दिन चल्ने,राष्ट्रीय सभाका अध्यक्ष तिमिल्सिनाले उदघाटन गर्ने

टोकियो । जापानको राजधानी टोकियोमा भोली जुलाई ३० तारिखबाट सुरु हुने १२औँ नेपाल फेस्टिवल २०२२ को उदघाटनको लागि जापान आइपुग्नु भएका राष्ट्रीय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको टोलीलाई जापानमा भव्य स्वागत गरेको छ ।

शुक्रवार टोक्यो आईपुग्नु भएका राष्ट्रीय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, एनआरएनए जापानका पूर्वप्रवक्ता पर्शु बस्नेत लगाएत अतिथिहरुलाई स्वागत गर्दै नेपाली दूतावास जापानका कार्यबहाक राजदूत अम्बिका जोशी, एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेल लगाएत पदाधिकारीहरुले स्वागत गरेका हुन ।

भोली जुलाई ३० र ३१ तारिख आयोजना हुने १२ औँ नेपाल फेस्टिवल २०२२ को अन्तिम तयारी सकिएको आयोजक गैरआवसिय नेपाली संघ (एनआरएनए) जापानले जानकारी दिएको छ । टोकियोको नाकानो स्टेशन नजिकैको पार्कमा आयोजना हुने फेस्टिवलमा नेपाली खाना नेपाली पहिरन नेपाली प्रस्तुतीसँगै नेपालको संस्कृतिबारेमा जानकारी दिने स्टलहरू राखिने भएको छ ।

भोलिदेखि सुरु हुने फेस्टिवलको स्थलमा स्टेच तयारी, फोहोर व्यवस्थापनको तयारीसँगै स्टल र अतिथि सत्कार तयारीसमेत सकिएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानाकारी दिएका छन् । नेपाल फेस्टिवलका रुपमा आयोजना हुन लागेको फेस्टिवलको उदघाटनका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना गर्नेछन् । त्यस्तै अतिथिमा जापानको परराष्ट्र मन्त्रालयका एसिया विदेश विभाग प्रमुख कानो ताकिहिरो नाकानो, सिटीका मेयर साकाई नाओतोलगायतका अतिथिहरू रहने समेत बताइएको छ ।

जापान र नेपालको लामो समयको सुमधुर सम्बन्ध रहेको जापानमा नेपालीहरूको संख्या बढेसँगै धेरै जापानीहरू नेपाल घुम्न जाउन भनेर आयोजना गरिएको फेस्टिवलमा चिनेजानेको जापानीहरूलाई लिएर आउनसमेत एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले अनुरोध गरेका छन् । यो पटक फेस्टिवलमा नेपाली घरलाई विशेष आकर्षकका रुपमा बनाइएको छ ।