बिहिबार, बैशाख १०, २०८३

जापानका डा.शाहीको नेतृत्वमा स्पेस फोरके टेलिभिजन संचालन, सम्पादकमा कोईराला नियुक्त

काठमाडौ । जापानबाट उर्जामा पिएचडी गरेका कर्णाली प्रदेश कोलिकोटका डा. दिनेश कुमार शाहीले स्पेस फोरके टेलिभिजन संचालनमा ल्याएका छन् । उक्त टेलिभिजनको सम्पादकमा समाचार प्रस्तोता सरोज कोईराला सम्पादकमा नियुक्त भएका छन् ।
झापा घर भएका कोईराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् । कोइरालालाई आइतबार स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा शाहीले स्वागत गरेका हुन् ।
एभिन्यू, न्यूज २४, हिमालय र प्राइम टेलिभिजनमा काम गरिसकेका कोइराला गीत लेखन तथा गायनमा पनि सम्लग्न छन् ।

टेलिभिजनले आइतबार सम्पादक कोइरालासहित पत्रकारहरुको ठूलो टिमलाई टेलिभिजनमा स्वागत गरेको छ । विभिन्न मिडियामा लामो अनुभव हासिल गरेका टेलिभिजनकर्मीहरुलाई भित्र्याएको यस टेलिभिजनले छिट्टै आफ्नो प्रशारण यात्रा आरम्भ गर्ने तयारी गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा रहेको स्पेस फोरके टेलिभिजन अत्याधुनिक प्रविधि र ठूलो लगानीका साथ सुरु गरिएको छ । यस टेलिभिजनले नेपालको टेलिभिजन पत्रकारितामा नयाँ आयाम थप्ने लक्ष्य लिएको छ ।
टेलिभिजनले राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा लामो समय काम गरेका दक्ष टिम र अनुसन्धानकर्ताहरुको एक टोली निर्माण गरिरहेको जनाएको छ । हाल टेलिभिजनको अनुसन्धान टोलीले नेपाली टेलिभिजनको प्रवृति, बजार, सबै मिडियाबाट प्रकाशित प्रशारित विषयवस्तुहरुको गहिरो अध्ययन गरिरहेको जनाइएको छ ।

टेलिभिजनको सन्चालकमा जापान, अस्ट्रेलिया, कोरिया तथा युरोपका विभिन्न कम्पनीहरुको व्यवस्थापनमा नेतृत्व गरिरहेका र नेपालमा केही ठूला उद्योग तथा ठूला कम्पनी सन्चालन गरिरहेकाहरु रहेको बताइएको छ । पूर्ण रुपमा व्यवसायिक अभ्यास गर्ने जनाएको स्पेस फोर के टेलिभिजनले सबै नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक जातीय, लिंगीय विविधता तथा सबै नागरिकका विचारलाई समान रुपमा स्थान दिने पनि जनाएको छ । टेलिभिजनका अध्यक्ष डा शाहीले भने, “स्पेस फोरके टेलिभिजन तथ्यमा उभिएर सत्य खोज्ने, सत्य खोज्नका लागि प्रश्नहरु केन्द्रित गर्ने र बढिभन्दा बढि नागरिकको वास्तविक आवाज बन्नेछ ।

अध्यक्ष डा. शाहीले टेलिभिजनको बलियो न्यूज रुम र अनुसन्धानकर्ताहरुको टोली गहिरो अनुसन्धानबाट बढिभन्दा बढी सूचना सामग्री प्रदान गरी नागरिकलाई आफ्नो विचार मजबुत बनाउन प्रयत्नशील रहने बताए ।
जापानका रोयल माउण्ट कम्पनीका संचालक डा. शाहीले संचालनमा ल्याएको टेलिभिजनको आउँदो अगष्ट १ तारिखबाट औपचारिक संचालन गर्ने तयारी गरेको बताएका छन् ।