शुक्रबार, चैत १६, २०८०

जनवरी १ मा हुने टोकियो कविता कन्सर्टको तयारी पूरा

जापान । अनेसास जापानले नयाँ वर्ष २०२२ तथा राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर आयोजना गर्न थालिएको “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयरी सकिएको जानकारी दिएको छ।

जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न हुने उक्त कार्यक्रममा संस्थाले विभिन्न समिति तथा उप-समिति निर्माण गरी तयारीलाई अन्तिम चरणमा पुराएको हो। कार्यक्रमलाई जापानमा व्यवसाय गरिरहेका व्यावसायिक तथा केही सामाजिक संस्थाहरूले समेत सहयोग गर्ने भएका छन् ।

जापान तथा अन्य विभिन्न ठाउँमा क्रियाशील सञ्चार माध्यमहरूले पनि मिडिया पार्टनरको भूमिका निभाइरहेको संस्थाका अध्यक्ष रविन शर्माले जानकारी दिए। उनले अझै अगाडि थपे- “यसपालि हामीले जापानमै पहिलो पटक फरक अनुभूति गराउने गरी तयारी गरेका छौँ। हाम्रा ५ विशिष्ट कविका साथमा पृष्ठभूमिमा सारङ्गी र बाँसुरीको धुनको पनि मज्जा लिनेछौँ। यसको सबै तयारी पूरा भैसकेको छ।”
कविता कन्सर्टमा संभव भएसम्म हाम्रा पहिचान झल्किने पोशाक सहित उपस्थित अनुरोध गरिएको छ।

कार्यक्रममा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने र नेपाली साहित्यमा रुचि राख्ने जो कोहीले पनि सहजै प्रवेश पाउने जानकारी महासचिव शरद पोख्रेलले दिएका छन्।