शुक्रबार, बैशाख ०७, २०८१

जापानको हिमालयन एकेडेमीले विद्यार्थीका अभिभावकसँग अन्तकृया गर्ने

टोकियो । जापानको कोईवा शहरमा नेपालीहरुद्धारा संचालित हिमालयन ईन्टरनेशनल एकेडेमीले आगामी नयाँ शैक्षिकसत्रबाट विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीका अभिभावकसंग अन्तकृया गर्ने भएको छ।

आगामी डिसेम्बर १८ तारिख शनिबारका दिन कोईवा स्थित विद्यालय सभाहलमा नयाँ भर्ना हुन चाहने तथा पुराना अध्ययनरत विद्यार्थीका अभिभावकहरुसंग विद्यालयको शैक्षिक गतिविधि र नयाँ योजनाका बारेमा छलफल हुने तयारी गरिएको हो ।

एकेडेमीका प्रिन्सिपल शिशिर गौडेलका अनुसार दुई चरणमा हुने कार्यक्रममा पहिलो चरणमा हाल अध्ययनरत विद्यार्थीका अभिभावहरुसंग छलफल तथा नयाँ कार्ययोजनाका बारेमा अन्तकृया हुने छ भने दोश्रो चरणमा नव प्रवेशी विद्यार्थीका अभिभावकहरु विद्यालयको शैक्षिक क्यालेण्डर लगायतका विषयमा जानकारी दिईने छ।

यसैवर्षको अप्रिल महिनाको शैक्षिकसत्रबाट पठन पाठन सुरु गरेको विद्यालयमा हाल ४० बढी नेपाली विद्यार्थीहरु अध्ययनरत छन।

विद्यालयमा नेपाली पाठयक्रम आधारमा नियमित कक्षासंगै म्यूजिक, आर्ट, डान्स, जापानी भाषाको अतिरिक्त कक्षा सहित खेलकुदका अतिरिक्त कृयाकलापहरु संचालनमा छन। नर्सरी देखी कक्षा चारसम्म पठनपाठन भईरहेको विद्यालयमा नयाँ वर्षबाट पाँच कक्षाको समेत नयाँ भर्ना लिएर कक्षा सुरु गरिने विद्यालय संस्थापक समितिका राजन रिजालले जानकारी दिनुभयो।

सो समारोहमा सहभागि हुन चाहने नव प्रवेशी तथा जानकारी लिन ईच्छुक अभिभावकहरुले विद्यालयमा पूर्व जानकारी गराएर सहभागि हुन प्रिन्सिपल गौडेलले अनुरोध गर्नुभएको छ।