बिहिबार, बैशाख १०, २०८३

जापानमा नेपालीको संख्या ९७ हजार २६ , गत वर्षभन्दा २६ सय घट्यो

टोकियो । जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संख्या ९७ हजार २६ जना रहेको जापान सरकारको हालैको प्रतिवेदनमा उल्लेख गरेको छ । गत २०२१ फेब्रुबरी २ तारिखमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ रहेकोमा हाल २ हजार ६ सय २ जना कमि रहेको तथ्यांक सार्वजनिक भएको जापानका बारेमा जानकार जिज्ञानकुमार थापाले सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन ।

गत वर्षको सार्वजनिक तथ्यांक अनुसार जापानमा विदेशीहरुको संख्याको पाचौं स्थान रहेकोमा अहिलेको स्थानका बारेमा थापाले केही उल्लेख गरेका छैनन । जापानमा पारिवारिक भिषामा अन्य मुलुकको भन्दा सहज भएकोले हुन सक्छ डिपेन्डेन्ट अर्थात् आश्रितको बसोबास संख्या सबैभन्दा बढ़ी अर्थात् ३१ हजार ९ सय १३ रहेका छन । त्यसैगरि जापानमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएकोले नेपाली विद्यार्थीको संख्या १८ हजार ४ सय ५९ रहेको छ । त्यस्तै इन्टरनेशनल सर्भिसमा रोजगारी गर्नेको संख्या १७ हजार ९ सय ९७ र दक्ष जनशक्ति कुक लगाएतको संख्या १५ हजार ७ सय ८० रहेको थापाले उल्लेख गरेका छन ।

थापाका अनुसार स्थायी रूपमा जापानमा बसोबास गर्ने नेपालीको संख्या ५ हजार ४ सय २३, बिशेष काम गर्ने तोकुतेइ काचुदोउमा ५ हजार २२, जापानी नागरिकको पति वा पत्नी १ हजार ९५, लामो अवधीको बसाई तेइजिउ ८ सय ९३, प्रशिक्षार्थी कामदारमा ४ सय ४१ र बिशेष स्थायी बसोबास तीन जना रहेका छन ।

गतवर्ष भन्दा यस वर्ष नेपालीको संख्या कमि हुनुमा कोरोना महामारीका कारण जापान प्रवेश गर्ने आगन्तुकलाई कडाइ गरेका कारण नेपाल गएर जापान फ़र्किन नपाई कतिपयको भिषा सकिनुपनि हुनसक्ने आकलन गरिएको छ ।