पुष्पा एम.सी । संघारमा आइपुगेको महान पर्व दसैँ, पारिवारिक जमघट हुने,भान्छामा मिठा–मिठा परिकारका खाना पाक्ने,ठूलाको हातबाट टिका–जमरा अनि आशिर्वाद लिने । शहर बजार रंगीचंगी, सामान किन्ने अनि बेच्नेको थेगिनसक्नु भीड । परदेशमा कमाउन गएका छोरा फर्किने समय, वर्षभरि काम गरेर यो दशैमा मज्जाले रमाउन पाइने समय, बाध्यताले घर छोडेका परिवार भेट हुने समय, केटाकेटीले नयाँ कपडा,अनि चकलेटको स्वादमा झुम्ने समय । आहा ! कति रमाइलो दसैँ ।
हरेक वर्ष घटस्थापनाबाट सुरु भएर पूर्णिमासम्म मनाइने दसैँ यो वर्ष पनि संघारमा आइपुगेको छ । तर यो वर्ष अन्य वर्ष झै रौनक छैन बजारमा,न खुशीयाली मनमा ।
दसैँ मात्र होइन पछिल्लो सात महिनायताका कुनै पनि चाडपर्व आए–गएको महशुस हुन छोडेको छ । न परदेशी छोराको आश, न मिठो खाना–नयाँ नाना, न पारिवारिक जमघट । यो सबै हराएको छ यो वर्ष । यसको प्रमूख कारण हो विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना ‘कोभिड–१९’ भाइरस । सन् २०१९ को अन्तिम दिन डिसेम्वर ३१ मा चीनको वुहानमा देखा परेको कोभिड–१९ ले अहिले विश्वलाई नै आक्रान्त पारिरहेको छ । चीनबाट सुरु भएर क्यानडा, बेलायत, रुस, इटाली, फ्रान्स, अमेरिका जस्ता विकसित मुलुकहरुमा तहल्का मच्चाइरहेको कोरोनाले अहिले हाम्रो जस्तो सानो मुलुकमा त्यस्तै ताण्डव देखाइरहेको छ । अझ छिमेकी मुलुक भारत अहिले विश्वमै कोरोना आक्रमणको दोस्रो स्थानमा रहेको छ । भारतसँग खुला सीमाना रहेको नेपालमा कोरोना आक्रमण तीव्र रहेको छ ।
नेपाल सरकारले कोरोना संक्रमण रोकथामका लागि गत चैतमा लकडाउन (बन्दाबन्दी)को घोषणा ग¥यो । जतिबेला नेपालमा तीन जनामा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला शहरमा डेरा गरी बसेका कामदार, मजदुर, विद्यार्थीहरु दिन रात हिँडेर पनि आफ्नो गाउँ फर्किएका थिए । बाँकी सहरमा रहेका मानिसहरुमा भोकमरीको समस्या आउने निश्चित थियो । ‘रोगले भन्दा भोकले मरिन्छ सरकार’ भन्दै उद्योगी,व्यापारी, व्यवसायीलगायत सर्वसाधारणले सरकारलाई लकडाउन खोल्न चर्को दवाव दिन थालेपछि अन्ततः सरकारले एक सय २० दिन लामो लकडाउनलाई साउन ७ गतेदेखि पूर्ण रुपमा अन्त्य गरिदियो । जतिबेला कोरोना संक्रमितको संख्या १७ हजार पुगेको थियो ।
सवारीमा जोर विजोर प्रणाली लागु गरिएपनि बैंक, वित्तीय संस्था, औद्योगिक क्षेत्र, सरकारी तथा नीजि कार्यालयहरु खुल्न थालेपछि गाउँ लकडाउनमा गाउँ गएका मानिसहरु पुनः शहर फर्किन थाले । विशेषतः राजधानी काठमाडौं उपत्यकामा बढी मानिसहरु पुनः फर्किन थालेपछि कोरोनाको संक्रमणको जोखिम ह्वात्तै बढ्यो । त्यसमा पनि सरकारले कुनै पनि हालतमा आर्थिक कर उठाउनु पर्छ भन्ने उर्दी जारी ग¥यो ।
लकडाउन अन्त्य पछि मानिसहरु आफ्नो कामलाई निरन्तरता दिनका लागि पनि काठमाडौं उपत्यका फर्किए । सरकारले कहिले ‘सट–डाउन’ त कहिले ‘निषेधाज्ञा’ पनि लागु ग¥यो । अन्ततः ‘आफै सजग हुनु’ भन्दै सरकारले ती सबै नियम खुला गरिदियो ।
कोरोना संक्रमितको संख्या अहिले एक लाख नाघिसक्यो, सक्रिय संक्रमित पनि २५ हजार । पछिल्लो तथ्यांक अनुसार ६ सय ३६ जनाको मृत्यु भइसकेको छ । हुनत कोरोना संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा पुनः लकडाउन गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै घोषणा गरिसकेको छ । तर पुनः लकडाउन गर्नेतर्फ न सरकार अग्रसर भयो न कसैले दवाव नै दिन सके ।
सरकारले सजग रहन, भीडभाडमा नजान, बाहिर निस्किनु परे मास्कको प्रयोग गर्न अपिल गरिरहेपनि त्यसतर्फ खासै सबैको ध्यान गएको भने पाइँदैन । मानिसहरुले नियमको पालना गरेका त देखिन्छन तर त्यो अर्काको लागि जस्तै मात्रै, केवल देखाउनका लागि प्रयोग गरेको जस्तो पाइन्छ । काठमाडौं उपत्यकाका व्यस्त बजारहरु असन, इन्द्रचोक, न्यूरोडलगायत रिङरोड भित्र र बाहिरका क्षेत्रहरुमा अहिले पनि भीडभाड उत्तिकै देखिन्छ । पहिलेको तुलनामा मानिसको संख्या कम छ तर साँझपखको भीडभाड र अफिस समयमा सजारी चापले लाग्दैन कि कतै यहाँ कोरोना आतंक छ, मानिसहरु कम भए । अझ विहान–साँझ लाग्ने रत्नपार्क, न्यूरोड, बसन्तुपर, कालिमाटी, नयाँ बसपार्क, बौद्ध लगायतका सडक किनारामा लाग्ने फुतपाथ बजारमा पनि भीडभाड उत्तिकै छ । त्यहाँ विश्व स्वास्थ्य संगठनको नियमलाई पछ्याइएको देखिन्छ तर पालना गरेको भेटिँदैन । त्यस्तै ललितपुरको एकान्तकुनास्थित कर कार्यालयदेखि पीसीआर परीक्षणका लागि सरकारी परीक्षण केन्द्रहरूमा देखिएको त्यो भीडले कोरोनाविरुद्ध सर्वसाधारण सचेत रहेको बुझाउँदैन । कुनै पनि सरकारी तथा अत्यावश्यक कार्यालयहरुमा त्यही हालत छ । सबैलाई हतार छ, सबैलाई पहिला चाहिएकै छ ।
अहिले सरकारी कर्मचारी,बैंकमा काम गर्ने कर्मचारी, व्यवसायी, स्वास्थ्यकर्मीलगायत नेतादेखि सर्वसाधारणसम्म नै कोरोनाको पञ्जामा परेका छन् । यसको मुख्य कारण भनेको सरकारले नगरिदिएरभन्दा पनि आफ्नै लापार्वाही बढी मान्नुपर्ने दिन आएको छ । त्यसमाथि नेपालमै सबैभन्दा बाक्लो मानव वस्ती रहेको काठमाडौं उपत्यकामा सबै मानिसहरुको ( अझै पनि पीसीआर परिक्षण भएको छैन । कति मानिसहरुले कोरोना पोजेटिभ भए समाजले केही भन्छ कि ? तिरस्कार गर्छ कि ? घरधनीले कोठाबाट निकालिदिन्छन् कि ? भन्ने डरले पनि परिक्षण गराएका छैनन् । हाम्रै वरपर पनि देख्न सक्छौं, रुघा खोकी लागेमा निम्स वा डि–कोल्ड खाएर बसेका मानिसहरु । यदि उनीहरु साच्चै नै कोरानाका संक्रमित भए उनीहरुले अरुलाई सजिलै सार्न सक्दछन् । यस्तोमा नजिकिएको दशैमा उनीहरु गाउँ फर्किए उनका परिवार कोरोनाको उच्च जोखिममा हुनेछन् ।
दिनानुदिन बढीरहेको कोरोना संक्रमण र मृतकको संख्याले कुनै पनि चाडपर्व मनाउन उचित देखिँदैन । सरकारले पनि ‘यसपटकको दसैँ जहाँ हुनुहुन्छ त्यहीँ मनाउनुस’ भन्ने आग्रह गरिरहेको छ । गाउँ फर्किन चाहनेहरुका लागि पनि गाउँपालिका÷वडाले क्वारेन्टिनमा नियम पालना गरेर बस्न आग्रह गरिरहेको छ ।
अहिले काठमाडौँ उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ नै बनिसकेको छ । दैनिक २५ सय कुल संक्रिमत हुँदा ७५% संक्रमित काठमाडौं उपत्यकाका नै हुन्छन् । त्यस्तै मृतकको संख्यामा पनि काठमाडौं उपत्यकामा नै बढी छ ।
हिन्दू राज्य हाम्रो देश नेपालमा हिन्दू संस्कार अनुसार धेरै मौलिक चाडपर्वहरु रहेका छन् । चैते दसैँदेखि कात्तिके दसैँसम्म आइपुग्दा पछिल्लो सात महिनामा हामीले धेरै चाडपर्वहरुलाई विदा पनि गरिसकेका छौं । जहाँ छौं, जस्तो छौं त्यही हालतमा हामीले चाडपर्वलाई विदा गरेका हौं । त्यसमा परम्परालाई धान्ने नाउमा भीडभाड गर्न खोज्दा चाडपर्वले नै विभिन्न घटना निम्त्याए । त्यसको ज्वलन्त उदाहरण हो रातो मछिन्द्रनाथको रथ जात्रा । नेपालकै सबैभन्दा लामो जात्राको रुपमा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने यस जात्रामा रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयबीच भिडन्त भएको थियो । दुवै पक्षबाट दर्जन बढी घाइते भएका थिए । त्यस्तै बझाङ जिल्लामा मनाइने महत्वपूर्ण चाड चैतन्य मेलामा पनि प्रहरीले हस्तक्षेप गरी वडाअध्यक्षसहित दर्जनौ मानिसविरुद्ध पक्राउ जारी भएको थियो । नयाँ वर्ष मानिसहरुले भव्यताका साथ मनाउने गर्थे जुन यस वर्ष मनाइएन । फागुन पुर्णिमादेखि प्रभावित भएको नेपालका दर्जन चाडपर्वहरु यस वर्ष सामान्य हिसावले विदा गरियो ।
हामी समय सापेक्ष बन्नुपर्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै महान पर्व दसैँलाई पनि अन्य पर्व सरह जहाँ छौं जस्तो छौं त्यही हालतमा मनाउनु नै उपयुक्त होला । ज्यान रहे चाडपर्व अर्को वर्ष भव्यताका साथ मनाउनु पर्छ । अन्यथा अहिले काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ, अब दसैँ मनाउने बहानामा सबै गाउँ÷गाउँ फर्किँदा सिंगो मुलुकमै कारोनाले रजाई नगर्ला भन्न सकिन्न ।

