हिरोसिमा : मानवजातिले यस्तो भयानक घटना कसरी घटाउन सक्छ ?

संगिता भट्ट-जापान छिरेको लगभग दुई वर्ष बित्नै लाग्यो । समय र परिस्थितिले शहरका मुख्य ठाउॅहरूमा खासै घुम्ने रहर पुरा हुन सकेको थिएन । केही समय अघिसम्म मेरो बसाई जापानको सीगा शहरमा थियो । त्यहाॅ हुदाॅ जापानको सबैभन्दा ठूलो ताल बिवाको क्योतोको गोल्डेन टेम्पल,नागोया लगाएत अरू १/२ ठाॅउ घुमेकी थिए । तर नेपालमा रहॅदा नाम नसुनेका अपरिचित ठाॅउ । घुम्ने रहर सानैदेखि,कसैको तिम्रो इच्छा के ? सोधनीमा मेरो एकमात्रै रेडिमेट जवाफ प्राय: नयाॅ ठाॅउ घुम्ने भन्ने नै हुन्थ्यो । नयाँ ठाउँ डुल्नुको मज्जा बेग्लै लाग्थ्यो ।
मेरो मानसपटलमा जापान भन्ने बित्तिकै सात दशक अघि इतिहासका पानामा कोरिएका हिरोशिमा र नागाशाकी थियो । जापानभन्दा किताबका पानामा वर्णन गरिए जस्तै दिमागमा हिरोशिमा र नागाशाकीको चित्र छर्लग आउथ्यो । जापान छिरेपछि बसाईं भर एक पटक हिरोशिमा वा नागासाकी भ्रमण कसो नगरौंला र भन्ने पहिल्यैदेखि मनमा लागेको थियो । समयले हिरोशिमासॅगको दुरी छोट्याएसॅगै भ्रमणको रहर पूरा भएको छ ।

अहिले म एहिमे केनमा बस्छु । मेरो बसाईॅ र हिरोशिमा स्थित एटम वम डेमो करिब १७० किलोमिटर अर्थात कारमा २ घण्टा ३५ मिनेटको दुरीमा पर्दछ । जुलाई २४ मा समय जुराई दुई जापानीज साथमा तीन नेपाली ११ बजेतिर हिरोशिमा भ्रमणमा निस्कियौ । स्मरण छ, त्यस दिन ठूलौ पानी परिरहेको थियो । तर हाम्रो हिरोशिमा भ्रमणको तिव्र इच्छालाई वर्षातले कुनै प्रभाव पार्न सकेन । त्यस दिन हिरोशिमा मै बास बस्ने हाम्रो योजना थियो । हिरोशिमा प्रवेश गर्यौ र जापानी साथीको व्यावस्थापनमा वुकिङ होटलमा गाडी बिसाएर खानपानका लागि निस्कियौ । नजिकै नमस्ते नामको नेपाली रेस्टुरेन्ट रहेछ । त्यहीॅ नेपाली खाना खायौ र पूर्वयोजना अनुसार घुम्न निस्कियौ । देख्दा झट्ट ठमेल बजारको झल्को आउने बाक्लो शहर,व्यस्त मान्छे, ध्वजापोतका पनि टागिएका कतै म्यूजिक पनि बजिरहेकै थिए ।

सडक नजिकै कतै खाने कुरा बेच्न राखिएका, सवारी साधनको गति ज्यादै न्यून सफा,सुन्दर र शान्त थियो हिरोशिमा । जताततै शान्तिको कामना गरिएका पर्चाहरू पनि देख्न सकिन्थ्यो । हिरोशिमा जापानको ११औं ठूलो सहरमा पर्दछ । यहाॅ करिब १२ लाख मानिस बसोवास गर्दछन् ।
शहरको १० मिनेट पैदल यात्रापछि अमेरिकाले बम खसालेको ठाॅउ नजिक पुग्यौं । समय कोरोना कहरको थियो तर त्यहाॅ बर्षातलाई पनि वेवास्था गर्दै  छाता ओडेरै भएपनि हामी जस्तै घुम्न आउने घुमन्तेको चाॅप भने कमी थिएन ।

सन १९४५ अगस्ट ६ तारिख बिहान ८:१५ को समयमा मानव इतिहासमा पहिलो पटक हिरोशिमा शहरमा अमेरिकाले पहिलो आणविक वम खसालेको थियो । वम विस्फोटमा परि सुरुमा करिव ८० हजार जनाको ज्यान गएको थियो भने ९० प्रतिशत शहर ध्वस्त भएको थियो । विस्फोटको प्रभाववाट ७५ बर्षअघि हिरोसिमा र नागासाकीमा अमेरिकाले गरेको २ आक्रमणमा परि जम्मा ५ लाख भन्दा बढीको मृत्यु भएको थियो भने आणविक बमको बिकिरणको नकरात्मक प्रभाव शरिरमा बोकेका जिवित ब्यक्तिहरु १ लाख ३६ हजारभन्दा बढ़ी थिए । त्यसपछिका वर्षहरूमा,बाँचेकाहरूमध्ये धेरैले ल्युकेमिया,क्यान्सर वा विकिरणबाट अन्य भयानक साइड इफेक्टको सामना गरेका थिए ।

वरपर सबै भौतिक संरचना ध्वस्त भएपनि वमको निशानामा रहेको हिरोशिमा स्थित The Hiroshima Prefectural Commercial Hall ७५ वर्ष पछिसम्म आधा भत्किएको अवस्थामा अवलोकन गर्न पाइन्छ । यो भवन अहिले विश्व सम्पदा सूचीमा सूचीकृत आणविक बम डोम (गेन्वाकु डोम)को रूपमा परिचित छ । चीन र अमेरिकाको विरोधको बावजुद १९९६ डिसेम्बरमा आणविक बम डोम युनेस्कोको विश्व सम्पदा सूचीमा विश्व सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण सम्मेलनको आधारमा दर्ता गरिएको थियो । भवनका वरिपरी धेरै गगन चुम्वी महलहरू बनिसकेका छन् तर यो आधा भत्किएको भवनलाई जापान सरकारले संरक्षणमा राखेको छ ।

हिरोशिमा पीस मेमोरियल पार्क आणविक बम विस्फोटको केन्द्र विन्दु नजिक अवस्थित छ । पार्कमा असंख्य महत्त्वपूर्ण अवलोकनका वस्तुहरू राखिएका छन् । यहाॅ आणविक बम डोम,पीस बेल,बच्चाहरूको शान्ति स्मारक आणविक बम पीडितहरूका लागि(युद्ध स्मारक), शान्तिको ज्वाला, हिरोशिमा पीस मेमोरियल संग्रहालय जस्ता अति महत्वपूर्ण कुरा अवलेकन गर्न सकिन्छ ।
हिरोशिमा पीस मेमोरियल म्यूजियम परमाणु बम सम्बन्धी हिरोशिमाको सबैभन्दा ठूला संग्रालय हो । प्रख्यात वास्तुकार टंगे केन्जोले डिजाइन गरिएको, यो संग्रालय १९५५ मा खोलिएको हो ।

२००६ मा यसलाई जापानको महत्वपूर्ण सांस्कृतिक सम्पत्तिको रूपमा विश्वसम्पदा सूचीमा सूचिकृत गरिएको छ । पीस मेमोरियल पार्कमा संग्रहालयको दुईवटा भवनहरू छन् । मुख्य भवनमा बम विष्फोटको समयदेखि कलाकृतिहरूको विस्तृत संग्रह राखिएको छ भने पूर्वी भवन विभिन्न मिडियामार्फत शान्ति शिक्षामा केन्द्रित रहेको छ।
पीस मेमोरियल पार्कमा सजिलैसँग चारै दिशाको आत्म-निर्देशित पैदल यात्रा गर्न सकिन्छ । पार्कको पूर्ण भ्रमणको लागि फोटो खिच्न, कागजात शिलालेख पढ्न, वा शान्ती प्रतिबिम्बका लागि कति समय खर्च गर्दछौं त्यसमा निर्भर हुन्छ । यस्तै संग्रालयको लागि भने पर्यटकको चापले गर्दा २ देखि ३ घण्टासम्म समय खर्च हुन सक्छ ।

हिरोशिमा पीस मेमोरियल पार्क १९५० मा आणविक आक्रमणको पीडितको स्मारकको रूपमा निर्माण गरिएको थियो । पार्कले विस्फोटको हाइपोसेन्टरको नजिको क्षेत्र कभर गर्दछ । मूर्तिकला, रूखहरू, फूल घडी, बगैंचा र स्मारकहरूले विनाशको ठाउँलाई आकर्षक स्थानमा रूपान्तरण गरेको छ । पीडितका समुहलाई समर्पित गर्दै पार्कमा विभिन्न स्मारकहरू छन् । जसलाई विश्व शान्तिको प्रातिक मानिन्छ । हरेक वर्ष ६ अगस्टमा हिरोशिमा शान्ति स्मारक समारोह यस पार्कमा आयोजित हुन्छ। बाल शान्ति स्मारकबाट नजिकै शान्तिको ज्वाला देख्न सकिन्छ ।
जबसम्म पृथ्वीमा आणविक हतियारहरू रहन्छन् त्यति खेरसम्म यो ज्योति निरन्तर जलिरहने गरि १९६४ देखि यथावत राखिएको छ । सबै आणविक हतियारहरू समाप्त भएपछि र ग्रह आणविक विनाशको खतराबाट स्वतन्त्र भएपछि मात्र निभ्ने बताइन्छ । हिरोशिमा पीस मेमोरियल हलको बाहिर पट्टी एउटा ठूलो घडी छ यस घडीमा ८:१५ मात्रै बज्छ । जुन समय एटम वम हिरोशिमामा खसालिएको समय हो । घडी स्मारकको चारैतिर छतका टाइल र ध्वस्त शहरका अवशेषका टुक्राहरू राखिएका छन् । जुन मेमोरियल हलबाट ल्याइएको बताइन्छ ।

यस्तै पीस मेमोरियल संग्रालय २०० सय येन टिकट काटेपछि सजिलै अबलोकनका लागि छिर्न सकिन्छ । संग्रालय परमाणु बम खसाल्नु भन्दा पहिले र पछि हिरोशिमाकाे कथाले भरिएको छ । शहर ध्वस्त हुदा बाकीॅ रहेका अवशेष मानिसका खप्पर र हड्डीहरू,कपडा, साइकल, दैनिक उपभोग्य सामान, मानसिकता नै धुलमुल्याउने तस्विर र भिडियोहरू जुन सहर ध्वस्त हुॅदा बाकीॅ रहें ति सबै संग्रालयमा भेटिन्छन् । पहिचान भइसकेको तर अझसम्म दावी नभएको ८१४ जनाको अवशेष अझै पनि हिरोशिमा स्थित पीस मेमोरियल पार्कमा राखिएको छ ।

हिरोशिमाको एटम डेमो,पीस मेमोरियल पार्क घुम्म आउने जापानीहरू साएदै कोही पनि खुशी मुद्रामा देखिएन । भ्रमण गरिरहदा भावनात्मक र पीडा बोलिरहेको अनुहारहरूले निशव्द बनायो । लाग्यो अझै पनि हिरोसिमाको घाउ निको भएको छैन ।
हामीसॅगै गएका दुई जापानीज पनि संग्रालय भित्र घुम्न मानेनन् । उनिहरूको भनाई थियो -घुम्यो भने हामीलाई बेलुका खाना रूच्दैन । हो त्यो ठाॅउ सयौंको भिडलाई पनि सुनसान बनाउने छ । निशव्द र स्तव्ध बनाउने खालको छ । संग्रहालयमा अबलोकनका लागि राखिएका वस्तुको वर्णन त्यति सजिलै गर्न सकिन्न । संग्रालय अबलोकन गरिरहदा म मा विभिन्न भावना र मनमा प्रश्न उब्जियो । मानवजातिले यस्तो भयानक घटना कसरी घटाउन सक्छ ? मानवलाई प्रेम र शान्ति भन्दा घृणा र युद्ध कसरी प्रिय बन्न सक्छ ? यी प्रश्न मेरो मनमा अझै पनि जिवित छ ।
१ घण्टाको पीस मेमोरियल पार्क घुमाई पछि हामी होटल तिर लाग्यौ । हिरोशिमा संग्रालय रिदयविदारक भए पनि वास्तवमै भ्रमणको लागि निकै योग्य छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया