मङ्गलबार, असार ३०, २०८३

यात्रा स्मरण : ऐतिहासिक फुकुओका सफल उडान

अशोक सेढाईं । कोरोना भाइरस (कोभिड-१९)ले विश्व आक्रान्त छ । धनजनको क्षति दिनप्रतिदिन बढ्दो छ । आर्थिक क्षेत्रमा परेको मारको हिसाबकिताब देशहरुले मात्र होइन,व्यक्ति व्यक्तिले पनि गर्न सकेका छैनन् होला । पहिले जिउज्यानको सुरक्षा नै प्रमुख हो,त्यही नै मानिरहेका छन् ।
यो महामारीमा परिवार एक ठाउँमा रहने प्रयत्न सबै गरिरहेका छन् । विदेशमै रोकिनेहरु त लाखौं छन्, लकडाउनले शहरदेखि गाउँ, एक शहरदेखि अर्को शहर पुग्न समेत बाधा पुगेको छ । धन कमाउन,पढ्न विदेश जानेहरु घर सम्झँदैछन् । बिदा मिलाएर स्वदेश फर्केकाहरुलाई उस्तै बाध्यता छ ।
यहि भिडमा एउटा युवा म । विगत ३ वर्षदेखि जापानमा अध्ययनरत छु । साथीहरु एक महिने छुट्टीमा नेपाल जाने सोच बन्यो । गयौं । छुट्टी राम्ररी बितिरहेको थियो । मेरो जन्मभूमि पोखरा ३३ स्थित आफन्त, साथीभाइसँग भेटघाट चल्दाचल्दै कोरोना महामारी फैलियो । केही नयाँ ठाउँ घुम्ने योजना पूरा हुन पाएनन् । जापान फर्कने समयमै नेपालमा लकडाउन सुरु भयो । दमौलीमै रोकिएँ । जेठ ११ देखि नेपाल सरकारले एक हप्ताको लकडाउन घोषणा ग¥यो । खुलेमा जापान उडान हुनेथियो भन्दै कामना गरेर बसेँ । फेरि अर्को हप्ता थप गरियो । त्यतिबेला त हामी सबैको फर्कने समय गुज्रिएको थियो । काटिएको टिकट समेत रद्ध भयो । हामी सबै अन्यौलमा रुमल्लियौँ । जापान समेत प्रभावित बनिसकेको थियो । अब दुवै मुलुकको अवस्था सामान्य बन्नुको विकल्प रहेन । प्रतिक्षा गर्नु मात्र हाम्रो एकमात्र बाध्यकारी अवस्था भयो ।
लकडाउन महिना दिन कट्यो, डेढ महिना कट्यो, २ महिना पुग्न लाग्यो । अब त भएन । विकल्प खोज्नुको अर्को विकल्प पनि भएन । नेपाली ध्वजावाहक केही जहाजले चार्टड उडान भरिरहेको समाचार आयो । टोकियोमा पनि गएको खबर थाहा पाइयो । टोकियोबाट म बसेको फुकुओकासम्म पुग्न बसमा १७ घण्टा को यात्रा गर्नु पर्ने बुझेपछि यो कोरोनाको महामारीमा नेपालबाट जापान गएको भन्दा पनि धेरै समय बसमै खर्चनुपर्ने भएपछि चार्टड नै गर्नुपरे फुकुओका नै किन नगर्ने भन्ने निचोडमा पुगेँ । लकडाउनका समयमा नेपालमा रोकिएका साथीहरु फेसबुक ग्रुपमा जोडिएका थियौं । यो खबर फुकुओका निवासी अग्रज समाजसेवी दाजु छत्र दाहालसम्म पुगेछ । फुकुओका उडान नेपालबाट भएकै थिएन । त्यसमाथि दुवै देश लकडाउनमा रहेका बेला नेपालदेखि फुकुओकासम्मको उडान असम्भव नै छ भन्नेहरु धेरै निस्किए । तर, छत्र दाजुसँग सम्पर्क भयो । बुझेर गर्नुपर्नेछ भन्नुभयो । मलाई थप उर्जा मिल्यो । दाजुभाइ यस अभियान सफल पार्न लागिरह्यौं । केहि समयपछि मित्र रोशन भट्टराईको साथ मिल्यो । हामी जसरी भएपनि यो मिसन सफल पार्न भनेर अघि बढ्यौं । नेपालबाट फुकुओका उडानका लागि सरकारी स्तरमै पहुँच, प्रशासनिक र उड्डयनसम्बन्धी ज्ञान हुनु अनिवार्य थियो । मार्गिक टुर्स एण्ड ट्राभल्सका संचालक पर्शु बस्नेतको फुकुओकाप्रतिको माया र सद्घावले गर्दा फुकुओकासम्म उडानको आर्थिक जोखिम लिएर ऐतिहासिक उडानका लागि कदम अगाडि बढाउनुभयो । यो गुण फुकुओकाबासी नेपालीले कहिले बिर्सने छैनन् ।
सुरुदेखि नै फुकुओका फ्लाईट सम्भव नै छैन भन्नेहरुको आवाज नै बढी थियो । मे २० का लागि उडानको तयारी गर्दा गर्दै सबैलाई समेट्न गाह्रो बनेको अवस्था थियो । नेपालमा लकडाउन झनै यही बेला कडा बनिदियो । काठमाण्डौ प्रवेश गर्न पनि अनिवायँ जाँचको हौवा फैलियो । संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पनि सरकारको अपरिहार्य निर्णय थियो नै । तर, हामीलाई झनै कठिन बनाइरहेको थियो । यसबीचमा जहाजमा जानेहरु एकीकृत गर्न हामीलाई झनै तनावको अवस्था भयो । मे २६ मा उडान हुने पक्का भयो । केही अग्रज भनिनेहरु नै यस चार्टड उडान नहुने र नहोस् भन्नेमा उद्धत देखियो भन्ने पनि सुनियो । यस्तो कठिन समयमा यस्ता घृणित सोच र क्रियाकलापकहरु भयो होला भन्ने म सोच्न पनि सक्दिन । यस्ता सोच कसैको नहोस् पनि । लिएको भए झनै बढी धन्यवाद छ ।यस अभियान सोच्नेदेखि मूर्त रुप दिनेबेलासम्मको समय अहिले स्मरण गर्दा सहयोगी हातहरु सुरुदेखि नै जुट्नुपर्ने बोध भएको छ । सबै सँगै मिलेर काम गर्दा छुट्टै आनन्द पनि आउने रहेछ । ऐतिहासिक दिन २०२० मे महिनाको २७ तारिख । नेपाली झण्डा फहरिएको विमान फुकुओकाको विमानस्थललाई चुमेको दिन । ऐतिहासिक उडान सफल भएको दिन । कम्ता खुशीको सीमा रहेन । एक महिनाको छुट्टी लिएर गएका मजस्ता, जो फर्कनै पर्ने बाध्यतामा थिए । उनीहरुका लागि यो भन्दा अरु खुशीको कुरा के हुनसक्छ ? परिवारमा रहने चाहना त कसको हुँदैन तर मजबुरी आफ्नै छ ।

अन्त्यमा, यो उडान सफल बनाउनका लागि हातमा हात, साथमा साथ दिने सबैलाई धन्यवाद र बधाई । र, तपाईंहरुको धैर्यताको निम्ति धेरै धेरै आभार । आपतकालिन उडान व्यस्थापन तथा यातायात समन्वय समिति, एनआरएनए क्युसुका सबै पधाधिकारी (अवतरणपछि घर घर पुग्ने व्यवस्था गरिदिनुभयो) धेरै धेरै धन्यवाद १ विमानस्थलमै आए दिनभर खटेर सहयोग गर्नुहुनेप्रति पनि नमन । साथै, चार्टड विमानमार्फत जापान आउनुभएका सबै मित्रहरुले जापान सरकारले तोकेको १४ दिनको होम क्वारेन्टाइन, सार्वजनिक यातायात प्रयोग नगर्न गरेको आग्रहलाई पूर्णरुपमा पालना गर्नु हुन सबैमा अनुरोध गर्दछौं । आशा छ एउटा जिम्मेवार नागरिकको कर्तब्य पालना गर्नु हुनेछ । सबैजना स्वस्थ र खुशी रहनुहोस्, धन्यवाद ।