Nepali date


सोमवार, जेष्ठ १२, २०७७

कोरोना कहर: विदेशबाट फर्केका युवालाई स्वदेशमैं रोजगार

चेतन अधिकारी । नेपालको ठूलो युवा जनसंख्या रोजगारीका लागि आश्रित भएका खाडी देशहरूले कोरोना महामारीका कारण काम बन्द गरेर मजदुरलाई आफ्नै मुकाममा बन्दाबन्दी गरेर राखेयता नेपाली समाजमा त्यसको असर देखिन थालेको छ ।

खाडीका नेपाली कोठाभित्रै थुनिनुपर्दाको पहिलो असर नेपालको अर्थतन्त्रमा देखिनेछ । कोरोना कहर बढ्दै गए कतिपय सरकारले काम नगरेका दिनको तलब नदिने घोषणा गरिसकेका छन् । रेमिटान्सले चम्केका नेपाली घरआँगनमा आकाशमा झैं कालो बादल मडारिन थालेका छन् । कोरोना असर लम्बिँदै जाँदा ती देशले रोजगारीबाट निकाल्न सक्छन्, जसले गर्दा हाम्रो ग्रामीण अर्थतन्त्र एकाएक ठप्प हुनेछ । खाडी देशहरूले नेपालीका लागि जब २०५२-५३ सालदेखि रोजगारीको ढोका खोले तब नेपालीका घरआँगनमा रेमिटान्सको प्रवेश सुरु भयो । सशस्त्र द्वन्द्व बढेसँगै खाडी देशमा श्रम बेच्न नेपाली युवाहरू लस्कर लाग्दै गए । खेतबारी बाँझिए पनि रेमिटान्सका कारण घरगाउँमा भोकमरी लागेन । दूरदराजमा सडक सञ्जालको विकास हुँदै जानु र घरघरमा श्रीमान् र छोराहरूको परिश्रमको कमाइ पुग्दै जानुले ग्रामीण जीवनशैली बदलिदियो । गाउँबाट सहर, पहाड र हिमालबाट तराईतर्फको बसाइँसराइ तीव्र भयो । यो असन्तुलित मानव चलायमानताले वर्षौंदेखिको देशको जनसांख्यिक सन्तुलनलाई पनि एकदमै खलबल्याइदियो । बसाइँसराइको यस्तो तीव्रताले हिमाल र पहाडका जिल्लाको जनसंख्या घट्दै गयो, जसले गर्दा पहाडका खेतबारी बाँझै रहे । जनसंख्या घट्नाले निर्वाचन क्षेत्र पनि घटे । सरकारी कोषबाट जाने अनुदान घट्यो ।

अबको सम्भावित दृश्य

कोरोना महामारीका कारण विश्वकै अर्थतन्त्रमा व्यापक क्षति पुगेको छ । यो क्रम अरू बढ्दै छ । कैयौं देशका ठूला रोजगारदाता कम्पनीहरू बन्द हुने अवस्थामा छन् । अर्कातिर, शिथिल अर्थतन्त्रका कारण खाडी देशहरूले अन्य देशमा आपूर्ति गर्ने वस्तु तथा सेवाको मागमा उल्लेख्य गिरावट आउनेमा दुईमत छैन । यसले गर्दा खाडीमा काम गरिरहेको ठूलो संख्याका नेपालीहरूले रोजगारी गुमाउनेछन् । यस्तोमा खाडी र मलेसियामा कार्यरत करिब ३५ लाख नेपाली युवामध्ये अधिकांश स्वदेश फर्किनेछन् । यसले नेपालको जनसांख्यिक सूचकमा व्यापक बदलाव ल्याउने प्रस्टै छ । २०६८ सालको जनगणनामा १९ लाख ७१ हजार जनसंख्यालाई घरमा अनुपस्थितको सूचीमा राखिएको थियो । तीमध्ये अधिकांश १९ देखि ५४ वर्ष उमेर समूहका थिए । तर वैदेशिक रोजगार विभागको अनुमानअनुसार, वैधानिक बाटोबाट विदेश गएका नेपालीको करिब ४६ लाख छ । ती नेपाली एकैपटक रोजगारी गुमाएर फर्किए भने देशमा एकपटक हलचल मच्चिन्छ । लामो समयदेखि सुनसान भएका गाउँहरू गुलजार हुनेछन् । युवाको अभावमा निस्ताएका गाउँहरूमा सुरुसुरुमा खुसियाली छाउनेछ । तर, विदेशबाट ल्याएको पैसा सकिएपछि ती युवाले के गर्लान् ? उनीहरूले रोजगारी खोज्नेछन् ।

भनेजस्तो नभएमा युवाहरूमा वितृष्णा सुरु हुन्छ । तिनको असन्तुष्टिलाई वैकल्पिक शक्तिहरूले सरकार र व्यवस्थाकै विरुद्ध पनि प्रयोग गर्ने खतरा हुन्छ । जसरी माओवादीले अभाव, बेरोजगारी, अधिकारको विभेदजस्ता मुद्दा चर्काएर आफ्नो आन्दोलनलाई उचाइमा पुर्‍याएको थियो, त्यसैगरी यी युवाको असन्तुष्टिलाई ऊर्जाका रूपमा कसैले प्रयोग गर्ने सम्भावनालाई नकार्न सकिँदैन ।

एउटा राम्रो अवसर

खाडीको क्वारेन्टिनमा बसेका केही गाउँले साथीभाइले पंक्तिकारलाई बताएअनुसार, रोजगारी सुचारु हुने आस मर्दै गएको छ । कतार लगायतले त गत वर्षदेखि नै नेपाली कामदार लिनलाई उल्लेख्य मात्रामा कटौती गरेको थियो र त्यहाँ रहेका नेपाली युवाहरूले स्वदेश फर्केर केही उद्यम गर्ने योजना बनाइरहेका थिए । अप्रत्याशित रूपमा स्वदेश फर्किनुपरे पनि युवाहरूमा केही सीप त हुने नै छ । समूहमा काम गर्ने बानी परेका ती युवाले तत्कालै वैकल्पिक रोजगारीको सम्भावना नरहेपछि कृषिलाई व्यवसायका रूपमा ग्रहण गर्नेछन् । दोस्रोमा पर्यटन रोज्नेछन् । त्यसपछि केहीले प्राविधिक र अन्य व्यवसायलाई रोज्नेछन् । विगतमा भन्दा यसपटक यस्ता व्यवसायहरूमा युवाहरूको लगाव किन पनि देखिन्छ भने, उनीहरूले यसै व्यवसायबाट परिवार पाल्नुपर्ने र अर्थोपार्जन गर्नुपर्ने बाध्यकारी अवस्था हुनेछ । र, उनीहरूले बिस्तारै वैदेशिक रोजगारीलाई प्राथमिकताबाट टाढा राख्नेछन्

यस्तो मानसिकता बोकेर फर्केका युवाहरूलाई सरकारले भरपूर उपयोग गर्न सक्छ । यिनैले खाडी मुलुकलाई समृद्ध बनाए । आफ्नै मुलुकलाई समृद्ध बनाउन तिनलाई प्रयोग गर्न सरकारले खास नीति र कार्यक्रम बनाउनुपर्छ । युवा जाँगरको अभावमा बाँझिएका खेतबारीलाई हराभरा बनाउनुपर्छ । पहाड तथा दुर्गम क्षेत्रमा हावापानी सुहाउँदो खेतीपाती गर्न तिनलाई प्रोत्साहन गर्नुपर्छ । त्यसका लागि कृषि औजार किन्न अनुदान, मल बीउमा अनुदान, सिँचाइको प्रबन्ध, ठूलो क्षेत्रफल र ठूलै समूहमा खेती किसानी गर्न प्रोत्साहन गर्नुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओली पटकपटक दोहोर्‍याउने गर्छन्, ‘हामी पाँच लिटर दूध उत्पादन गरेर बिक्री हुँदैन, के गाईपालन गर्नु भन्छौं । एक डोको सिमी फलाएर बिक्री नै हुँदैन, किन सब्जी खेती गर्नु भनेर क्यारेमबोर्ड खेलेर बस्छौं । त्यसो होइन । हामीले हरेक उत्पादन ठूलो मात्रामा गर्नुपर्छ ।

किन्नका लागि ग्राहक गोठगोठै र बारीका गरागरामा पुग्नेछन् । बजारको अभाव हुँदैन । ट्रकका ट्रक सिमी फलाउनुहोस्, तिनै खाडी देशका व्यापारी तपाईंका बारी आउनेछन् ।’ प्रधानमन्त्रीको यो भनाइलाई अब व्यवहारमा उतार्न सरकारले त्यसैअनुसार नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । कृषिलाई परम्परागत होइन, आधुनिक र मेसिनीकरण गरेर थोरै श्रमबाट धेरै उत्पादन दिन सक्नुपर्छ, जसले गर्दा लागत कम हुन्छ ।

जब वैदेशिक रोजगारीबाट युवाहरू घर फर्किन्छन्, रेमिटान्सका भरमा सहरमा अस्थायी बसाइँ सरेका तिनका परिवारहरू पनि गाउँ फर्किनेछन् । त्यसपछि गाउँमा पुरानो खुसी पनि फर्कनेछ । गाउँहरू हिजोजस्तो दुर्गम, यातायात र सञ्चारविहीन छैनन् । यसले गर्दा ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै हुनेछ । खासगरी सामूहिकता र सहकारीका माध्यमबाट नेपालको ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न पनि तिनैको अनुभव काम लाग्नेछ । विदेशमा ‘हस्पिटालिटी’ को महत्त्व बुझेका तिनले गाउँमा पैदलमार्ग, परम्परागत एवं ऐतिहासिक स्थल, ताल, खोला, झरना आदिलाई पर्यटन केन्द्र बनाउन सक्छन् । स्थानीय परिकार र संस्कृतिको स्वादमा होम स्टेहरू सञ्चालन गर्न सक्छन् । उनीहरूमा उत्साह भर्न तीनै तहका सरकारले सहुलियत ऋणका केही प्रबन्ध गरिदिनुपर्छ, जसरी अहिले संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूले उद्यम गर्न चाहेमा १० लाखसम्मको ऋण सहुलियत दिएको छ । यसलाई सबै सरकारले गच्छेअनुसार अनुकरण गर्नुपर्छ ।

यस अवस्थामा धेरैको रोजाइ गाउँ हुन्छ नै । रित्तिएका गाउँका विद्यालयहरूमा विद्यार्थी भरिनेछन् ।  मतदाताको अभावमा गुमेका हिमाली र पहाडी जिल्लाका निर्वाचन क्षेत्रहरू क्रमशः फर्कनेछन् । सबै युवा उद्यममा लागेपछि गाउँमा दिगो आर्थिक गतिविधि हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: