आइतबार, चैत १५, २०८२

पत्रकार महासंघ जापानको १५औँ स्थापना दिवस: प्रवास पत्रकारिता पुरस्कारबाट मल्ल सम्मानित

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजित १५ औँ स्थापना दिवस तथा प्रवास पत्रकारिता पुरस्कार–२०२६ कार्यक्रम जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहर कान्त पौडेलको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
टोकियोमा आइतबार विशेष समारोह गरी पत्रकार महासंघ जापान शाखाले आफनो १५औँ स्थापना दिवस तथा प्रवास पत्रकारिता पुरस्कार–२०२६ कार्यक्रम सम्पन्न गरेको हो ।
महासंघका अध्यक्ष रविन्द्र श्रेष्ठको सभापतित्वमा उपाध्यक्ष लक्ष्मी पौडेलले स्वागत मन्तब्य र सचिवमा अर्जुन लामिछानेले संचालन गरी जापानका उल्लेख्य संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिमा प्रवासमा नेपाली पत्रकारिताको विकास, पत्रकारहरूको पेशागत एकता र संस्थागत सुदृढीकरण सहित अन्य नेपाली सामाजिक संस्थाविचको सहकार्यको विषयमा अन्तरक्रिया समेत सम्पन्न भयो ।

प्रवास पत्रकारिता पुरस्कारबाट तिलक मल्ल सम्मानित
जापानमा क्रियाशील नेपाली पत्रकार तिलक मल्ललाई ‘प्रवास पत्रकारिता पुरस्कार २०२६’ प्रदान गरिएको छ । जापानमा रहेर नेपाली पत्रकारितामा निरन्तर योगदान पु¥याउँदै आएका मल्ललाई नेपाल पत्रकार महासंघ जापान शाखाले १५ औँ स्थापना दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।

सन् १९९९ देखि पत्रकारितामा सक्रिय रहँदै आएका मल्लले जापानको टोकियोमा रहेर समुद्रपारि डटकम सञ्चालन तथा नेपाली समाचार पाक्षिक पत्रिका प्रकाशन गर्दै आएका छन् । मल्ललाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत हरीहर कान्त पौडेलले नगद ५० हजार येन तथा सम्मान पत्र प्रदान गरेर सम्मानित गरेका थिए ।

उत्त पुरस्कारको प्रायोजन रेमिट्यान्स सेवा प्रदायक कम्पनी फोरेक्स जापानले गरेको हो । पत्रकारितामार्फत नेपाली समुदायका आवाज, समस्या, गतिविधि र प्रवास जीवनका विविध पक्षलाई निरन्तर उजागर गर्दै आएका मल्ल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्षसमेत हुन् ।
पत्रकार महासंघ जापान र फोरेक्स जापान बीच प्रवास पत्रकारिता पुरस्कारका लागि तीन वर्षे प्रायोजन गर्ने सहमति भएको पत्रकार महासंघ जापानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसमा तपाईको प्रतिक्रिया