बिहिबार, बैशाख १३, २०८१

नैतिकतावान बोहराको शाहस: सशस्त्र प्रहरीमा विशेष चर्चा

भनिन्छ,धन देखेपछि महादेवको पनि तीन नेत्र बल्छन् । यही धन कमाउने उद्देश्यले आज मानिस जिउज्यान नै त्याग्न पछि पर्दैनन् । समाजमा धन–सम्पत्तिका लागि विभिन्न किसिमका कुकृत्य भइरहेका छन् । तर, हाम्रै समाजमा धन–सम्पत्तिलाई नभई नैतिकता र पेसागत इमानदारितालाई ख्याल गर्ने मानिस पनि छन् । १४ साउन २०७० को घटना हो यो । सिन्धुपाल्चोक बलेफीबाट तातोपानी नाकातर्फ जाँदै गरेको बा३४प ७ नम्बरको पल्सर मोटरसाइकललाई अँधेरी सिन्धुपाल्चोकबाट खटिएका सशस्त्र प्रहरी जवान (हाल सहायक हबलदार) अचुतकुमार बोहराले चेकजाँच गर्ने क्रममा ७० लाख रुपैयाँ बरामद गरे ।

सो मोटरसाइकलमा रहेका बाह्रबिसे–९ सिरानटोलका २६ वर्षीय सुचेन्द्र श्रेष्ठले रकमको स्रोत देखाउन सकेनन् । त्यसपछि श्रेष्ठले ती सशस्त्र प्रहरी जवान बोहरालाई १२ लाख रुपैयाँ दिने अफर गरे । तर, बोहराले संगठनले लिएको भ्रष्टाचारशून्य सहनशीलताको नीति, आफ्नो नैतिकता र इमानदारितालाई ख्याल गर्दै उनको प्रस्तावलाई सिधै अस्वीकार गरे । र, ती व्यक्ति, ७० लाख रुपैयाँ र मोटरसाइकललाई प्रक्रिया पु¥याएर सम्पत्ति सुदृढीकरण विभागमा बुझाए ।
वरीयतामा तल्लो तहका भए पनि केही समयअघि मात्रै बढुवा भएका सशस्त्र प्रहरी सहायक हबलदार बोहराले त्यसबेला देखाएको नैतिकता, इमानदारिता र बफादारिताको अहिले पनि सशस्त्र प्रहरी संगठनमा विशेष चर्चा हुने गर्छ ।
यो मात्र होइन, सशस्त्र प्रहरी संगठनमा उनको विशेष चर्चा हुनुको अर्काे कारण हो– पेसागत इमानदारिता, साहस र कामप्रतिको विशेष लगन । यी तीन कारण लगातार तीन वर्ष उनी सशस्त्र प्रहरी बलले प्रदान गर्ने सशस्त्र प्रहरी जवान र राम्रो काम गरेबापत दिइने उत्कृष्ट कोटाबाट शान्ति मिसनमा पठाउने उम्मेदवारको सूचीमा पर्दै आएका छन् । अहिले पनि उनी वर्ष जवानको सिफारिसमा परेका छन् । भलै उनले यो अवसर प्राप्त गर्न सकेका छैनन् । तैपनि यसमा उनको कुनै गुनासो छैन ।

संगठनले दिएको जिम्मेवारी मनैदेखि पूरा गर्न तम्सिरहन्छन् । विपद् व्यवस्थापन र उद्धारमा उनले खेलेको भूमिकाको जति चर्चा गरे पनि कमै हुन्छ ।
१७ साउन २०७१ मा सिन्धुपाल्चोक तत्कालीन मांखा गाविसस्थित जुरेमा गएको पहिरो, १२ वैशाख २०७२ मा गएको महाभूकम्प, त्यसपछिका परकम्पन, सवारी दुर्घटना तथा आपतविपद्मा परेका व्यक्तिको उद्धारमा उनले खेलेको भूमिका अविस्मरणीय छ ।
रामेछापको विकट पहाडी क्षेत्रमा जन्मिएर १६ फागुन २०६४ मा सशस्त्र प्रहरी बलमा सेवा आरम्भ गरेका बोहरा जस्तोसुकै विषम परिस्थिति आइपरे पनि अप्ठेरोमा परेकाको उद्धार गर्न पछि पर्दैनन् । यसको पछिल्लो उदाहरण हो, ३० कात्तिक २०७६ को बिहान साढे ८ बजे बाह्रबिसे तातोपानी सडकखण्डअन्तर्गतको भोटेकोसी गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परेकाको उद्धार ।


त्यस दिन दोलखाबाट १४–१५ जना व्यक्ति तातोपानी धारा नुहाएर दोलखातर्फ फर्कंदै थिए । त्यसबेला बा९१प १६५६ नम्बरको मोटरसाइकल दुर्घटनामा प¥यो । मोटरसाइकल चालक दोलखा कालिञ्चोक गाउँपालिकाका प्रवेश शिवाकोटी सामान्य घाइते भए । तर, उनकी श्रीमती शान्त शिवाकोटी (खड्का) र पाँच वर्षीय छोरा आयुष ढुंगामा ठोक्किन गई गम्भीर घाइते भए । मोटरसाइकलले च्यापेका कारण उद्धारमा समस्या देखिएको थियो । दुर्घटनामा परेकाहरूसँगै आएकाहरूले उद्धारका लागि धेरै प्रयास गरेका थिए । तर, सम्भव भइरहेको थिएन । बोहराले अथक मेहनतका साथ उद्धार गरी घाइते परिवारलाई अस्पताल पु¥याएका थिए ।
२१ असोज २०७६ अर्थात् बडादसैंको दिन । दिउँसो साढे ४ बजे सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–३ दुविथाङ ड्राइपोटनजिक ६०÷६५ वर्षका वृद्ध लालबहादुर तामाङ दसैंको टीका लगाउन ससुराली घर दुगुनागढी गाउँतर्फ जाँदै थिए । त्यसबेला झरीका कारण उनी बाटोबाट झन्डै ३० मिटर तल चिप्लिएर खोल्सामा खस्दा ढुंगामा बजारिए । उनको बायाँ हात, कम्मर, मेरुदण्ड र घुँडामा नराम्ररी चोट लाग्दा हलचल गर्न सक्ने अवस्थामा थिएनन् । ती वृद्धले ‘बचाउ † बचाउ †’ भनेको उनले सुने । त्यसपछि बोहरा दसैंको कुनै पर्वाह नगरी ज्यानको बाजी लगाएर ती वृद्धको उद्धार गर्न सफल भए ।
१७ साउन २०७१ मा सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले मुलुककै ध्यान तानेको थियो । नतानोस् पनि किन, पहिरोले बस्ती नै बगाउँदा १ सय ५६ जनाको मृत्यु भएको थियो । धेरै जना घाइते भएका थिए । पहिरोका कारण सुनकोसी नदी नै थुनिएकाले नदी आसपासका क्षेत्रमा कुनै पनि बेला अप्रिय घटना हुने जोखिम थियो ।
पहिरोले पुरिएको ठाउँनजिक गएर घाइतेको उद्धार र शव निकाल्न सहज थिएन । तर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानदेखि अधिकृतसम्म ज्यानको बाजी लगाएर त्यहाँ खटिएका थिए । यसमा यिनै सशस्त्र प्रहरी सहायक हबलदार बोहरा पनि खटिएका थिए । १२ वैशाख २०७२ र त्यसपछि गएका परकम्पले सबैभन्दा बढी क्षति पु¥याएको जिल्ला सिन्धुपाल्चोक हो ।

सो दिनको महाभूकम्पमा परी सिन्धुपाल्चोक जलविरे–४ स्थायी घर भएकी ३४ वर्षीया सुनिता श्रेष्ठको कोठे भन्ने ठाउँको होटलको शौचालयमा पुरिएर मृत्यु भएको थियो । ती महिलाको शव घटनाको भोलिपल्ट १३ गते उनै बोहराले निकालेका थिए । यस्तै, खाडीचौरमा भूकम्पले दुईतले पक्की चर्च भत्किँदा मृत्यु भएका ८÷९ जनाको शव निकाल्न पनि बोहराले महŒवपूर्ण भूमिका खेलेका थिए ।
चीन सरकारको सहयोगमा काठमाडौं ल्याइएका डोजर र सवारीसाधान स्कर्टिङ गरी पुनः तातोपानी नाकातर्फ फर्कंदै गरेको अवस्थामा २९ वैशाख २०७२ मा पुनः भूकम्प गयो । त्यसबेला उनीहरू तत्कालीन मार्मिङ गाविसको झ्यालेको भीर भन्ने स्थानमा थिए ।
भूकम्पका कारण सडकभन्दा माथिबाट सुक्खा पहिरो खस्दा अन्दाजी ४०÷४५ वर्षीय एक जना चिनियाँ नागरिकको बाँयापट्टिको आधा भाग पुरियो । गाडीको झ्याल खोली सुरक्षित स्थानतर्फ हाम फाल्न खोज्दा माथिबाट झरिरहेको ढुंगाले सवारी चालकको अनुहारमा गहिरो चोट लाग्यो, दाँत भाँचियो । उनी
त्यहीँ ढले ।
तत्कालीन राजस्व भन्सार सुरक्षा गुल्म अँधेरीबाट सुरक्षार्थ खटिएका यिनै बोहराले घाइते चिनियाँ चालकलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लैजाने क्रममा सडकमाथि भीरबाट झरिरहेको सुक्खा पहिरोबाट आएको ढुंगा लागेर उनी स्वयं घाइते भए । उनको बायाँ ढाड, कम्मर र बायाँ हातमा गहिरो चोट लाग्यो ।
बायाँ हातको कान्छी औंला नै टेलरको झ्यालले च्यापियो । आफंै घाइते भए । तर, पनि उनले साहस र धैर्यपूर्वक घाइते चिनियाँ सवारी चालकलाई बोकी बन्जी स्वास्थ्य शिविरमा लगेर प्राथमिक उपचार गराए । त्यसपछि सुरक्षित स्थान त्याङथली गाउँमा एक रात राखी मध्य भोटेकोसी जलविद्युत् आवासीय क्षेत्रमा ल्याएर विनाशकारी भूकम्पबाट क्षतविक्षत भएको बाह्रबिसे तातोपानी सडक मर्मत तथा पुनः सुचारु गर्न सहयोगार्थ खटिएका चिनियाँ आम्र्ड पुलिस फोर्सलाई
बुझाएका थिए ।
सोही दिन उनले तातोपानीबाट राहत वितरण गरी फर्किएका केन्द्रीय वन पैदावर (झापा) समितिका चार जना सदस्यलाई समेत उद्धार गरी सुरक्षित स्थान त्याङथलीमा पु¥याएका थिए । साथै, पहिरोमा गाडीभित्र फसेका तीन जना आफ्नै साथीलाई समेत निकाल्न सफल भएका थिए ।
२६ माघ २०७४ को अन्दाजी १२ बजे सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ खाडीचौरस्थित लामोसाँघु जिरी सडकखण्ड जोड्ने निर्माणाधीन पक्की पुलको काम गर्दै गर्दा पुलको बेस प्लेटको जालीले च्यापिन गई भारतीय नागरिक राबेराम बसुन्थरीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
अन्य दुई भारतीय नागरिक पनि घाइते भएका थिए । उनै बोहराले अथक मेहनत, साहस र धैर्यतापूर्वक ती दुई जनाको सकुशल जीवितै उद्धार गरेका थिए ।

त्यसबेलाको क्षण सम्झदै बोहरा भन्छन्, ‘राबेराम बसुन्थरीलाई रडले च्यापिरहेको थियो, मलाई लाग्छ, उनी अचेत थिए । तर, टुलुटुलु हेरिरहेका थिए । उद्धार गर्ने सिलसिलामा निर्माण कार्यमा प्रयोग भएको स्काभेटरबाट हुक लगाई जालीलाई माथि उचालियो र उनलाई बिस्तारै पानीबाट निकालेर स्थानीय सिन्धु सदाबहार अस्पताल लगियो । चिकित्सकले उनलाई मृत घोषणा गरे । उद्धारमा खटिएका कमान्डरले हामीलाई सुरक्षित हौं भन्नुभएको थियो तर उद्धार कार्य गर्दा भनेको जस्तो नहुँदो रहेछ । किनकि घाइते ‘ऐया † मरे, बचाऊ’ भन्दै रुँदै गरेको हुन्छ । कति छिटो त्यो अवस्थाबाट निकालौंजस्तो आफूलाई लाग्छ, जहाँ कि आफैं जोखिममा परेको त्यो महसुस नहुँदो रहेछ । उद्धार गर्दा त केही थाहा हुन्न । पछि भने आफैंलाई खुट्टा टेक्नै नहुने गरी दुख्यो । पछि हेर्दा त रड बाँधिएका ढलान तारले घोचेर पैताल नै छियाछिया भएको रहेछ । अनि टिटानसको सिरिन्ज लगाएँ ।’
बोहरा अहिले सशस्त्र प्रहरीको २२ नम्बर गुल्म तातोपानीमा कार्यरत छन् । भूकम्पले थिलथिलो बनेको तातोपानी भर्खरै ब्युँतिने प्रयास गरिरहेको छ । तर, यी बोहरा भने सोही ठाउँ बसेर विपद्मा परेकाको उद्धारमा सक्रिय छन् । उनी भन्छन्, ‘सेवामा रहँदा पनि र सेवाबाट बाहिरिएपछि पनि संगठनमा सिकेको कुरा प्रयोगमा ल्याइनै रहनेछु । मेरो जीवन विपद्मा फसेकाका लागि हरहमेसा तयार छ ।’
@रोशन श्रेष्ठ/राजधानी