जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को ‘फेस टू फेस मिटिङ’ नेपालको पोखरामा बस्ने तय भएको छ ।
अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतिय बैठकले आगामी जनवरी १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा ‘फेस टू फेस मिटिङ’ आयोजना गरिने निर्णय गरेको हो ।
बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई अन्तिम रुप दिने संघका प्रवक्ता डिवी क्षेत्रीले जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीका अनुसार २ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने छ । जसमा फेस टु फेस बैठकको संयोजनको लागि उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै, २१ तारिखमा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले संघको काम कारवाही र लेखा प्रणालीलाई बढि चुस्त र पारदर्शि बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कंपनीबाट परिक्षण ९९क्भअगचष्तथ ब्गमष्त० गराउने समेत निर्णय गरेको छ । बैठकमा ग्रिसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रोहवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।
साथै बैठकले विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकमा संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयन बारे व्यापक छलफल भएको थियो र मानार्थ परिषद्लाई पोखरामा आयोजना गरिने अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकबाट अन्तिम रुप दिने निर्णय गरेको छ । बैठकले विभागिय प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ ।
अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरुको राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुसंग विद्युतिय बैठक आयोजना गरिएको थियो । बैठकमा संघका अध्यक्ष कुमार पन्त द्वारा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हालै लिएका निर्णयहरु बारे जानकारी गराईएको थियो । उहाँले बलिया राष्ट्रिय समन्वय परिषद् भए नै संघ बलियो हुने धारणा राख्नु भएको थियो ।
साथै उहाँले संघको विभिन्न परियोजनाको संक्षिप्त विवरण समेत दिनु भएको थियो । उहाँका अनुसार गत कार्यकालको ३ ठूला परियोजना प्राय सम्पन्न भएको जानकारी दिनुभयो । बैठकमा अध्यक्ष पन्तले अन्तर्राष्ट्रिय समन्वय परिषद्ले काठमाडौं महानगरपालिका संग सल्लाह गरी काठमाडौंको केही स्थानमा आधुनिक र सफा सौचालयको विकासका लागि पहल गरिरहेको र यसमा विभिन्न राष्ट्रिय समन्वय परिषद्लाई स्थान चुनेर सहयोग गर्न अनुरोध गर्नुभयो ।
अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त सम्बाद कार्यक्रममा सहभागी राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुले राष्ट्रिय समन्वय परिषद्संगको सम्बाद कार्यक्रम राखिनु सकारात्मक पहल भएको धारणा राख्नुका साथै अन्तर्राष्ट्रिय समन्वय परिषद्का गतिविधिहरु बारे चासो राख्नु भएको थियो ।

