टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको १२औँ वार्षिक साधारण सभा आगामी नोभेम्बर ८ तारिख आइतबार तोचिगीमा आयोजना हुने भएको छ।
संघले सार्वजनिक सूचना जारी गर्दै जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सभामा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको महासचिव श्याम सितल श्रेष्ठले जानकारी दिनुभयो।
संघका अनुसार साधारण सभा सन् २०२६ नोभेम्बर ८ तारिख आइतबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। सभा तोचिगी प्रिफेक्चरल कल्चरल सेन्टर (Tochigi Prefectural Cultural Center) मा आयोजना हुने जनाइएको छ।
साधारण सभा तोकिएकै मितिमा हुने
एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानले १२औँ वार्षिक साधारण सभा स्थगित भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।संघले सार्वजनिक सूचना जारी गर्दै साधारण सभा स्थगित भएको भन्ने आशयका विभिन्न समाचार तथा सूचनाहरू भ्रामक रहेको स्पष्ट पारेको हो।
संघका अनुसार पूर्वनिर्धारित निर्णयअनुसार १२औँ वार्षिक साधारण सभा सन् २०२६ नोभेम्बर ८ तारिख आइतबारका दिन तोकिएकै स्थानमा सञ्चालन हुनेछ। सभा तोचिगी प्रिफेक्चरल कल्चरल सेन्टर (栃木県総合文化センター), तोचिगीमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुने जनाइएको छ।
सभाको मिति, समय वा स्थान परिवर्तन गर्ने अथवा स्थगित गर्ने सम्बन्धमा संस्थाबाट कुनै निर्णय नभएको पनि संघले स्पष्ट पारेको छ।साथै, संघले अनधिकृत तथा अपुष्ट सूचनाको पछि नलाग्न जापानवासी नेपाली समुदाय, संघका पदाधिकारी, सदस्य तथा सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ।संघले आफ्नो महत्वपूर्ण संस्थागत कार्यक्रममा उपस्थित भई सक्रिय सहभागिता जनाउन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणासमेत गरेको छ।

