जापान । जापानमा नेपाल हाउसका बनाउने जग्गा खरीद प्रक्रियामा विवाद भए पछि गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय संयोजक दिपक कँडेलको संयोजकत्वमा गठित ११ सदस्यीय छानबिनसमितिले ९६ पेजको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
मंगलवार साँझ ११ बजेपछी भर्चूअल मार्फ़त सार्वजनिक गरेको प्रतिवेदनले उक्त खरीद स्थानमा नेपाल हाउस बनाउन उपयुक्त नहुने निष्कर्ष निकालेको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ‘नेपाल हाउस’ निर्माणका लागि खरिद प्रक्रियामा रहेको चिबास्थित जग्गा संस्थाले परिकल्पना गरेको परियोजनाका लागि उपयुक्त नरहेको अनुगमन समितिले निष्कर्ष निकालेको समितिका संयोजक दीपक कंडेलले जानकारी दिनुभयो ।
जग्गाको स्वामित्व, निर्माण अनुमति, दर्ता क्षेत्रफल तथा आर्थिक कारोबारमा समस्या औँल्याउँदै खरिद प्रक्रिया अघि नबढाउन, प्रारम्भिक सम्झौता रद्द गर्न र भुक्तानी भइसकेको रकम फिर्ता ल्याउन सिफारिस गरेको छ।
समितिको प्रतिवेदनमा चिबा सहरको मिदोरी वार्ड, ताकादा–चो १६४७–१ स्थित प्रस्तावित जग्गामा नेपाल हाउस निर्माण अघि बढाउनु कानुनी, प्राविधिक, आर्थिक तथा व्यावहारिक दृष्टिले उच्च जोखिमपूर्ण हुने उल्लेख छ।
समितिले स्थलगत निरीक्षण, खरिदसम्बन्धी कागजात र बैंक कारोबारको अध्ययन, जापानी विशेषज्ञसँग परामर्श तथा चिबा नगरका सम्बन्धित निकायसँग सोधपुछ गरेको प्रतिवेदनमा उल्लेख गरेको छ। अध्ययनका क्रममा संघको कार्यसमिति, क्षेत्रीय परिषद्, संरक्षक तथा खरिद प्रक्रियासँग सम्बन्धित पक्षहरूसँग पनि छलफल गरिएको बताईएको छ।

