बिहिबार, कार्तिक २०, २०८३

ओएनएफ अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा अमेरिकाका प्रभु थापा निर्बिरोध चयन

काठमाडौं । नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा अमेरिकाका प्रभुराम थापा निर्बिरोध चयन हुनुभएको छ ।
बुधवारबाट काठमाडौंमा शुरु भएको दोस्रो अन्तराष्ट्रिय महाधिवेशनको निर्वाचनमा अध्यक्ष पदमा थापाको एकल उम्मेद्वारी परेको हो । निर्वाचन कमिटीले प्रकाशित गरेको उम्मेद्वारहरूको अन्तिम नामावलीअनुसार अध्यक्षमा थापाको मात्र उम्मेद्वारी परेको हो ।
महाधिवेशनमा महिला उपसचिवमा पनि इजरायलकी ज्योती शर्माको मात्र उम्मेद्वारी परेकोले निर्बिरोध हुनुभएको छ । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाका अनुसार कुल पाँच पदाधिकारीमध्ये अध्यक्ष र महिला उपसचिव पदमा निर्बिरोध भएको र अन्य तीन पदसहित अन्तराष्ट्रिय कमिटी सदस्यमा महादेशअनुसार निर्वाचन हुने भएको छ । जसमध्ये मध्यपूर्वबाहेक सवै महादेश कमिटीमा सदस्य सर्वसम्मत भएको छ ।
निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा कतारका चानक पोखरेल र बहराइनका टकबहादुर गुरुङ, सचिवमा जर्मनीका सन्तोष भट्टराई र बेलायतका रामशरण सिंखडा तथा उपसचिव खुलामा अमेरिकाका कृष्णप्रसाद लामिछाने र जापानका सुरेश केसीबीच प्रतिस्पर्धा हुनेभएको छ ।

यसमा तपाईको प्रतिक्रिया