दिनेश थापा, टोकियो । अंग्रेजी नयाँ वर्ष २०२७ को अवसर पारेर जापानमा क्रियाशील नेपालीहरूको पुरानो सामाजिक संस्थामध्ये एक गल्कोट समाज जापानले ओसाका, नागोया र टोकियोमा ‘सांगीतिक शृङ्खला २०२७’ आयोजना गर्ने भएको छ।
नेपाली कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक राहत कोषलाई थप सुदृढ बनाउँदै स्वास्थ्य र शिक्षा क्षेत्रमा दीर्घकालीन लगानी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
“सामाजिक राहत कोषमा वृद्धि गर्दै स्वास्थ्य र शिक्षामा दिगो लगानी” भन्ने मुख्य उद्देश्यका साथ नेपालका चर्चित राष्ट्रिय कलाकार तथा जापानमा सक्रिय नेपाली कलाकारहरूको सहभागितामा आयोजना हुने सांगीतिक शृङ्खला सन् २०२६ डिसेम्बर ३१ देखि २०२७ जनवरी २ सम्म सञ्चालन हुनेछ।
सन् २००६ मा “हाम्रो गाउँ, हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध बनाऔँ” भन्ने मूल नाराका साथ स्थापित गल्कोट समाज जापानले स्थापनाकालदेखि नै प्रवासमा नेपाली समुदायबीच एकता, सद्भाव र सामाजिक सहकार्य प्रवर्द्धन गर्दै विभिन्न सांस्कृतिक, सामाजिक तथा मानवीय गतिविधि सञ्चालन गर्दै आएको छ।
यसपटक समाजले नयाँ वर्षको सांगीतिक उत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामुदायिक हितका लागि स्रोत परिचालन गर्ने अभियानसँग जोडेको जनाएको छ।
आयोजकका अनुसार तीन प्रमुख सहरमा आयोजना हुने सांगीतिक शृङ्खलाको पहिलो कार्यक्रम डिसेम्बर ३१, २०२६ बिहीबार ओसाकामा हुनेछ।त्यसपछि जनवरी १, २०२७ शुक्रबार नागोया र जनवरी २, २०२७ शनिबार टोकियोमा कार्यक्रम आयोजना गरिनेछ।
तीनवटै सहरमा कार्यक्रम साँझ ५:३० बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने आयोजकको प्रचार सामग्रीमा उल्लेख छ।सांगीतिक शृङ्खलाका कार्यक्रम संयोजक कृष्ण केसीले कार्यक्रमलाई व्यवस्थित, आकर्षक र उद्देश्यअनुरूप सफल बनाउन आवश्यक तयारी अघि बढाइएको बताएका छन्।
उनका अनुसार जापानका तीन प्रमुख सहरमा कार्यक्रम आयोजना गर्दा कलाकारको व्यवस्थापन, प्राविधिक तयारी, स्थानीय आयोजकसँग समन्वय, दर्शकको सहभागिता तथा प्रचारप्रसारलगायतका पक्षलाई विशेष प्राथमिकतामा राखिएको छ।
नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा जापानमा क्रियाशील नेपाली कलाकारहरूको प्रस्तुतिले सांगीतिक शृङ्खलालाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे।उनले कार्यक्रमलाई सफल बनाउन जापानस्थित नेपाली संघसंस्था, व्यवसायी, कलाकार, सामाजिक अभियन्ता तथा सम्पूर्ण नेपाली समुदायलाई साथ र सहयोगका लागि आग्रह गरेका छन्।
गल्कोट समाज जापानका अध्यक्ष दिलबहादुर थापा (रामु)ले सांगीतिक शृङ्खला २०२७ लाई सामाजिक सेवासँग जोडेर आयोजना गरिएको बताएका छन्।स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग आवश्यक परेका व्यक्ति तथा परिवार, शैक्षिक अवसरबाट वञ्चित समुदाय र अन्य मानवीय संकटमा राहत पुर्याउन दीर्घकालीन आर्थिक स्रोत महत्वपूर्ण हुने उनको भनाइ छ।
अध्यक्ष थापाले नयाँ वर्षको अवसरमा आयोजना हुने कार्यक्रमले नेपालीबीच आपसी सम्बन्ध, सहकार्य र एकतालाई अझ मजबुत बनाउनुका साथै सामाजिक राहत कोष विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।यस वर्षको सांगीतिक शृङ्खलाको विशेषता भनेको सांस्कृतिक कार्यक्रमलाई स्पष्ट सामाजिक उद्देश्यसँग जोडिनु हो।
सामाजिक संस्थाहरूले प्रायः आपत्कालीन अवस्थामा सहयोग संकलन गरेर तत्कालीन समस्या समाधान गर्ने अभ्यास गर्दै आएका छन्। तर त्यस्ता अभियानलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन स्थायी राहत कोष तथा योजनाबद्ध आर्थिक परिचालन महत्वपूर्ण मानिन्छ।
गल्कोट समाज जापानका महासचिव तथा कार्यक्रमका प्रचारप्रसार संयोजक बिपिन केसीले सांगीतिक शृङ्खलालाई जापानभर रहेका नेपालीमाझ पुर्याउन प्रचारप्रसार र समन्वयलाई तीव्र बनाइने बताएका छन्।जापानमा नेपाली समुदायको संख्या र सामाजिक गतिविधि विस्तार हुँदै जाँदा नेपाली भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणमा प्रवासी संघसंस्थाहरूको भूमिका पनि महत्वपूर्ण बन्दै गएको छ।
यसपटकको सांगीतिक शृङ्खलाले सांस्कृतिक पहिचानको संरक्षण र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमा समेट्ने प्रयास गरेको छ।

