आइतबार, साउन १७, २०८३

नेपाली दूतावास टोकियोद्वारा गत आवमा ५४ करोड ७२ लाखभन्दा बढी राजस्व संकलन

जापान । नेपाली राजदूतावास, टोकियोले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका प्रमुख गतिविधि तथा सेवा प्रवाहको विवरण सार्वजनिक गरेको छ ।
दूतावासले गत वर्ष विभिन्न कन्सुलर सेवा प्रवाहबाट नेपाल सरकारलाई जापानी येन ५४ करोड ७२ लाख ७४ हजार ८ सय राजस्व संकलन भएको जनाएको छ। राजदूतावासका अनुसार विदेशस्थित नेपाली नियोगहरूमध्ये राजस्व संकलन उच्चमध्ये टोकियो दूतावास एक हो।
राजदूतावासले सार्वजनिक गरेको विवरणअनुसार नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डलको सन् २०२६ फेब्रुअरी १ देखि ४ सम्म सम्पन्न जापानको ऐतिहासिक औपचारिक भ्रमणलाई सफल, फलदायी र राष्ट्रहित अनुकूल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिएको जनाएको छ।

त्यसैगरी, Japan–Nepal Parliamentary Friendship League का सभापति योसुके सुरुहो (Yosuke Tsuruho) लाई नेपालको भ्रमण गराउन पहल गरिएको र League स्थापना भएको २१ वर्षपछि सभापति स्तरबाट पहिलो पटक २०२६ अप्रिल २४ देखि २६ सम्म नेपालको भ्रमण सम्पन्न भएको उल्लेख गरिएको छ।

७ स्थानमा घुम्ती राहदानी तथा कन्सुलर शिविर
जापानका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले साप्पोरो, ओसाका, तोचिगी, ओकिनावा, नागोया, फुकुओका तथा गुन्मा–साइतामा गरी सात स्थानमा घुम्ती राहदानी तथा कन्सुलर शिविर सञ्चालन गरिएको राजदूतावासले जनाएको छ। यसबाट टोकियोसम्म पुग्नुपर्ने समय, खर्च र झन्झटमा उल्लेखनीय कमी आएको विश्वास गरिएको छ।

सूचना प्रवाह र सेवामा डिजिटल सुधार
राजदूतावासले सेवा प्रवाहलाई थप सहज बनाउन हटलाइन मोबाइल नम्बर सञ्चालन, प्रत्येक महिनाको पहिलो दिन फेसबुक लाइभमार्फत अन्तर्क्रिया, मेसेन्जर तथा WhatsApp मार्फत सूचना आदान–प्रदान, IVR प्रणालीमार्फत आठ प्रकारका जानकारी उपलब्ध गराउने व्यवस्था तथा नियमित रूपमा Frequently Asked Questions (FAQ) सार्वजनिक गर्ने व्यवस्था समेत सुरु गरेको जनाएको छ।

एक वर्षमा करिब १८ हजार राहदानी
गत आर्थिक वर्षमा राजदूतावासले प्रवाह गरेका सेवामध्ये १७ हजार ९३८ राहदानी (नयाँ तथा नवीकरण), २ हजार ३४४ ट्राभल डकुमेन्ट, ८ हजार ९५४ पर्यटक भिसा, ७३५ श्रमिक मागपत्र प्रमाणीकरण, ३ हजार ४१४ बच्चाको अस्थायी जन्मदर्ता, ६३९ अधिकृत वारेसनामा प्रमाणीकरण तथा ३ हजार ६३५ कागजात प्रमाणीकरण गरिएको जनाएको छ।

राजदूतावासका अनुसार २०२६ फेब्रुअरी १ देखि श्रमिक मागपत्र प्रमाणीकरण सेवालाई पूर्ण रूपमा कागजरहित बनाउँदै अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याइएको छ।

राजदूतावासले आगामी दिनमा पनि प्रविधिमैत्री, पारदर्शी र नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै जापानमा रहेका नेपाली नागरिकलाई सहज सेवा उपलब्ध गराउने कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया