बुधबार, साउन १३, २०८३

जापानको कुमामोतोमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प: कम्तीमा ५ जनाको मृत्यु

टोकियो । जापानको क्युसु क्षेत्रस्थित कुमामोतो प्रान्तमा मंगलबार दिउँसो ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ३८० भन्दा बढी मानिस घाइते भएका छन्। उद्धार तथा राहत कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

भूकम्पका कारण कुमामोतोका विभिन्न क्षेत्रमा भवन, सडक तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। यात्सुशिरो सहरस्थित एउटा पेपर फ्याक्ट्रीको अग्लो चिम्नी भत्किँदा २ जनाको ज्यान गएको पुष्टि गरिएको छ। साथै अन्य स्थानमा भवन भत्किँदा र दुर्घटनामा थप मानवीय क्षति भएको अधिकारीहरूले जनाएका छन्।

भूकम्पपछि कुमामोतो प्रान्तका ४८ हजारभन्दा बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ। ग्यास आपूर्ति प्रभावित भएका केही क्षेत्रमा सेवा बन्द गरिएको छ भने आपत्कालीन सेवाहरूलाई उच्च सतर्कतामा राखिएको छ।

यातायात सेवा पनि गम्भीर रूपमा प्रभावित भएको छ। क्युसु शिन्कान्सेन (बुलेट रेल) सेवा पूर्ण रूपमा स्थगित गरिएको छ भने आसो–कुमामोतो विमानस्थलका उडानहरू रद्द गरिएका छन्। सडक तथा पुलहरूमा क्षति पुगेपछि धेरै स्थानमा सवारी आवागमनमा अवरोध सिर्जना भएको छ।
भूकम्पले जापानको ऐतिहासिक सम्पदाका रूपमा परिचित कुमामोतो दरबार (कासल) को बाहिरी ढुंगे पर्खालका केही भाग पनि भत्काएको छ। सन् २०१६ को विनाशकारी भूकम्पपछि पुनःनिर्माण भइरहेको यस दरबारमा फेरि क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

जापान मौसम विज्ञान एजेन्सीले भूकम्पपछि सुनामी सम्बन्धी चेतावनी जारी गरे पनि केही समयपछि त्यसलाई हटाएको थियो। यद्यपि, शक्तिशाली परकम्प (आफ्टरशक) आउन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक नभएसम्म क्षतिग्रस्त भवनमा प्रवेश नगर्न आग्रह गरिएको छ। उद्धार टोली, प्रहरी, दमकल र जापानको आत्मरक्षा बल (Self-Defense Forces) प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

यसमा तपाईको प्रतिक्रिया