मङ्गलबार, साउन १२, २०८३

एनआरएनए चिवाको आर्थिक विषयमा भ्रम फैलाइयो : कोषाध्यक्ष न्यौपाने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानस्थित चिवा क्षेत्रीय समितिको आर्थिक अवस्थाबारे सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण प्रचारप्रति समितिका कोषाध्यक्ष बिमल न्यौपानेले आपत्ति जनाएका छन्।

कोषाध्यक्ष न्यौपानेले संस्थाको सम्पूर्ण आय–व्यय पारदर्शी रहेको बताउँदै प्रत्येक आर्थिक कारोबारको अभिलेख, बिल–भर्पाई र बैंक विवरण सुरक्षित रहेको स्पष्ट पारे। उनले संस्थाको आर्थिक गतिविधिलाई लिएर तथ्यहीन टिप्पणी नगर्न सबैमा आग्रह गरे।
सार्वजनिक गरिएको आर्थिक विवरणअनुसार संस्थाको कुल आम्दानी ५२ लाख ६७ हजार १०२ येन रहेको छ भने कुल खर्च २९ लाख ८१ हजार १७४ येन रहेको छ। यसअनुसार संस्थाको खुद बचत/नाफा २२ लाख ८५ हजार ९२८ येन रहेको कोषाध्यक्ष न्यौपानेले बताए ।
त्यसमध्ये उठ्न बाँकी रकम ८ लाख ४५ हजार रहेको र हाल खातामा नेट मौज्दात १४ लाख ४० हजार ९२८ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

कोषाध्यक्ष न्यौपानेले संस्थाको आर्थिक विवरण आवश्यक परे सम्बन्धित सदस्यहरूलाई उपलब्ध गराउन सकिने उल्लेख गर्दै, अपुष्ट सूचना र भ्रमपूर्ण प्रचारभन्दा आधिकारिक विवरणमा विश्वास गर्न आग्रह गरेका छन्।
वार्षिक साधारणसभा हुनुभन्दा एक हप्ता अगाडि नै कार्यसमितिको बैठकबाट प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको र सोही प्रतिवेदन वार्षिक साधारणसभामा पनि विधिवत् प्रस्तुत गरि हलले पारित गरिएको कोषाध्यक्ष न्यौपानेले जानकारी दिए ।
उनले अपुष्ट सूचना र भ्रमपूर्ण प्रचारभन्दा संस्थाले सार्वजनिक गरेको आधिकारिक आर्थिक विवरणमा विश्वास गर्न सबैमा आग्रह गरेका छन्।

उनले मातृसन्देश डटकम संग भने, “हामीसँग सम्पूर्ण आय–व्यय पारदर्शी छ। संस्थाको हरेक आर्थिक कारोबार विधिसम्मत रूपमा अभिलेखीकरण गरिएको छ। सत्यतथ्य नबुझी भ्रम फैलाउने कार्यले संस्थाको प्रतिष्ठामाथि असर पुग्ने भएकाले सबैलाई जिम्मेवार बन्न अनुरोध गर्दछु।”

यसमा तपाईको प्रतिक्रिया