बिहिबार, असार २५, २०८३

जापानमा पहिलो पटक ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै

टोकियो । जापानमा पत्रकारहरूको क्रियाशील संगठन 一般社団法人 FNJ JAPAN नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा पहिलो पटक FNJ Global Media Conference 2026 आयोजना हुने भएको छ।
विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकारहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आगामी जुलाई २५, २०२६ मा टोकियोमा सम्मेलन आयोजना गर्न लागिएको हो।

सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली सञ्चारकर्मी, सम्पादक, सञ्चार विज्ञ, डिजिटल मिडिया प्रतिनिधि तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
टोकियोमा हुने यस अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपाल पत्रकार महासंघ (FNJ) केन्द्रीय कार्यसमितिका ३३ जना प्रतिनिधिहरूको जापान प्रवेश भिसा स्वीकृत भएको र अन्यको प्रक्रियामा रहेको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

विश्वभर छरिएर रहेका नेपाली सञ्चारकर्मीहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलनमा डिजिटल पत्रकारिता, कृत्रिम बुद्धिमत्ता (AI), सामाजिक सञ्जालको प्रभाव, प्रेस स्वतन्त्रता, प्रवासी पत्रकारिताका चुनौती र अवसर, पत्रकार महासंघको मताधिकार प्रवासी पत्रकारहरूलाई सुनिश्चित गर्ने लगाएको एजेण्डा राखेर एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्समा छलफल हुने जनाइएको छ।

आयोजकका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त कार्यक्रम गर्न जापान बाहिरबाट ५० जना पत्रकारहरू आफैले हवाईप्लेन टिकट काटेर आउने जनाएको छ । कार्यक्रममा ३५ लाख खर्च हुने अनुमान गरिएको छ ।
नेपाली पत्रकारिताको इतिहासमा प्रवासी भूमिबाट आयोजित महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमका रूपमा हेरिएको छ।

एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६ मा विभिन्न ४ विषयमा कार्यपत्र प्रस्तुत हुनेछ र टोकियो घोषणा पत्र घोषणा गर्ने तयारी रहेको शाखाका सचिव अर्जुन लामिछानेले जानकारी दिनुभयो ।

कार्यपत्रका विषय
१) प्रवासी नेपाली पत्रकारिताको अवस्था, चुनौती र अवसर
२) महासंघ र वैदेशिक शाखाहरुको बीचको सम्बन्ध
३) प्रवासमा रहेको नेपाली समुदाय र मिडियाको सम्बन्ध
४) पत्रकारितामा एआई र डिजिटल रुपान्तरणको प्रवाभ र व्यवस्थापन

कार्यक्रम
मिति: २५ जुलाई २०२६ (शनिबार)
स्थान: St. Luke’s Garden Tower, Tokyo
समय: बिहान १० बजेबाट साँझ ७ बजेसम्म

यसमा तपाईको प्रतिक्रिया