भवानी भट्ट, टोकियो । सुदूरपश्चिमेली नेपाली समाज जापानले आफ्नो आठौं अधिवेशन टोकियोमा आयोजना गर्ने भएको छ।
नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ जिल्लाबाट जापानमा रहेका सुदूरपश्चिमेलीहरूको साझा संस्था सुदूरपश्चिमेली नेपाली समाज जापानको अधिवेशन आगामी मे ३१, २०२६ मा हुन लागेको हो ।
जापानमा नेपालीहरूबीच आपसी एकता, सहकार्य, सामाजिक सद्भाव तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्यका साथ अधिवेशन आयोजना गर्न लागिएको समाजले जनाएको छ।
जापानका विभिन्न प्रान्तहरूमा अध्ययनरत विद्यार्थी, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा कार्यरत कुक, कम्पनी कर्मचारी, व्यवसायी तथा विभिन्न पेशा र व्यवसायमा आबद्ध सुदूरपश्चिमेली नेपालीहरूको कार्यक्रममा उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। विदेशमा रहेर पनि आफ्नो मौलिक भाषा, कला, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।
अधिवेशनको अवसरमा सुदूरपश्चिमको मौलिक संस्कृतिलाई झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। विशेषगरी देउडा नृत्य, लोकगीत, झाँकी तथा परम्परागत सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमको मुख्य आकर्षण रहने बताइएको छ। साथै सुदूरपश्चिम प्रदेशका प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूको समेत प्रचारप्रसार गरिने तयारी गरिएको छ्। कार्यक्रमलाइ व्यवस्थित, भव्य र प्रभावकारी बनाउन समाजले विभिन्न तयारी उपसमितिहरू गठन गरी कामलाई तीव्रता दिएको जनाएको छ। सांस्कृतिक कार्यक्रम व्यवस्थापन, अतिथि सत्कार, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन लगायतका क्षेत्रका लागि छुट्टाछुट्टै टोली बनाएर तयारी भइरहेको बताइएको छ। समाजका महासचिव दिनेश अधिकारी र कोषाध्यक्ष सुमित रोकायाले अधिवेशनले जापानमा रहेका सुदूरपश्चिमेली नेपालीहरूलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, अधिवेशन केवल नेतृत्व चयनको कार्यक्रम मात्र नभई सुदूरपश्चिमेली भाषा, कला, संस्कार र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने साझा उत्सवका रूपमा आयोजना हुन लागेको हो।
टोकियोस्थित जाइका ग्लोबल प्लाजामा आयोजना हुने उक्त कार्यक्रममा जापानभर रहेका नेपाली समुदायलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजकले आग्रह गरेको छ।

