निशान राना, नागोया ।
जापानको नागोया शहरमा चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ हुने भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा नागोया स्थित साकायको हिसाया डोरी पार्कमा आउँदो मे महिनाको ३०, ३१ तथा जुन १ तारिख हुने फेस्टिवलको तयारी तिब्र पारिएको आयोजकले बताएका छन्।
एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योमन देवानले फेस्टिवलको तयारी तिब्र पारिएको बताए। उनले नेपाल र नेपालीको पहिचानलाई जापानी समुदायमा परिचित गराउनको लागी फेस्टिवलमा सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको साथै आर्थिक,नैतिक तथा भौतिक सहयोग लागी अनुरोध गरेका छन्।
नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको फेस्टिवल मूल आयोजक समितिका संयोजक भेषनाथ गौतमले जानकारी दिए । फेस्टिवलमा नेपालका चर्तित मुर्तिकारहरुले बनाएका मुर्तिहरुको अवलोकन, गाउँघरमा प्रयोग हुने ढिकी, जातो लगाएत अन्य नेपाली चलन चल्तीका सामानहरु हेर्न पाईने संयोजक गौतमले जानकारी दिए।
जापान सरकारले विशेषगरी नयाँ मापदण्डबाट भिसा कड़ा गरे संगै फेस्टिवलको आर्थिक संकलनमा पनि प्रभाब परेको सामाजिक अभियन्ता एवं फेस्टिवलका आर्थिक संयोजक दिपक कार्कीले बताए।
उनका अनुसार फेस्टिवलबाट वचत हुने रकम जापानको नागोया शहरमा नेपाली हाउस निर्माण गरिने लक्ष्य राखिएको बताए।
फेस्टिवलका साँस्कृतिक संयोजक सोनाम दोर्जे शेर्पाका अनुसार फेस्टिवलमा नेपाली लोकबाजा, पञ्चेबाजा, विभिन्न झाँकीहरु प्रस्तुतीका रुपमा रहनेछन् । किराँत, तामाङ, मगर, लगायत विभिन्न जनजातीका नृत्य, तथा जापानमा रहेका नेपाली कलाकारहरुको प्रस्तुती पनि कार्यक्रममा राखिएका छन् ।
नेपाली दूतावास टोकियोको सहयोग एवम् फेस्टिवलमा जापान स्थित विभिन्न संघ-संस्थाहरु, जापानको स्थानीय सरकार आईचिकेन, नागोया–सी लगायत पनि सहभागी छ। फेस्टिवलमा खानाका स्टलहरु बुकिङ् भईसकेको स्टल व्यवस्थापन समितिका संयोजक सिपी भुषालले जानकारी दिए।अन्य स्टलहरु पनि बुकिंग भैरहेको बताए।
फेस्टिवलमा नागोया इमिग्रेसनको साथै नेपाल राजदुताबासको पनि डेक्स राखिने हुदा अवश्यक परेमा निशुल्क परामर्श लिन सकिने आयोजकले जानकारी दिएको छ।


