बुधबार, बैशाख ०२, २०८३

जापानबाट गायिका बाला दुराको ‘लमजुङे स्वल्टिनी’ सार्बजनिक

टोकियो । जापानलाई कर्मथलो बनाउँदै आएकी लोकप्रिय गायिका बाला दुराले लोकलयमा आधारित दोहोरी ‘लमजुङे स्वल्टिनी’ बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । उक्त म्युजिक भिडियो आफ्नै बाला दुरा युट्युब च्यानलमार्फत हालैमात्र सार्बजनिक गरेकी हुन् ।

गायिका दुरालाई आवाजमा मौसम गुरुङले साथ दिएका छन् भने म्युजिक भिडियोमा गणेशमान घले, रजनी गुरुङ, मनोज गुरुङ र सिञ्जो दुराको अभिनय रहेको छ । वरिष्ठ सर्जक शिव हमालको गीत र मौसम गुरुङको संगीतमा तयार पारिएको ‘लमजुङे स्वल्टिनी’ मा तन्नेरी जोडीबीचको अगाढ माया र प्रेममा समर्पित भावलाई सुन्दर ढंगले लोकलयमा उतारिएको छ । उत्कृष्ट शब्द र संगीतको समायोजन तथा आकर्षक लय एवं सुमधुर आवाजमा सजिएको ‘लमजुङे स्वल्टिनी’ ले राम्रो दर्शक तथा स्रोताहरु कमाउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाकी प्रवक्ता समेत रहेकी मीठो स्वरकी धनी गायिका दुरा लाइभ दोहोरीमा पनि उत्तिकै अब्बल मानिन्छन् । लमजुङको माटोमा जन्मिएकी गायिका दुराले आफ्नै लगानीमा निकालेकी ‘लमजुङे स्वल्टिनी’ लाई सुनेर, हेरेर सकारात्मक सुझाव तथा प्रतिक्रिया दिई हौसला बढाईदिन स्वदेश तथा विदेशमा रहनुभएका गीत-संगीत प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अपिल गरेकी छिन् ।

गायिका दुराले आफ्नै आवाजमा सिर्जना यात्राको डेब्यू भने ‘सुन्दरबजार सत्रसय फाँट’ बाट गरेकी थिईन् भने त्यसपछि तीजका केही गीतहरु, सालैजो र मौलिक एकल तथा दोहोरी गरी करिव दर्जन जति एल्बममा उनले आवाज भरेकीछिन् ।

लमजुङे स्वल्टिनी बोलको म्युजिक भिडियो

यसमा तपाईको प्रतिक्रिया