शनिबार, बैशाख ०५, २०८३

जापानमा ‘प्रवास पत्रकारिता पुरस्कार’ : महासंघ र फोरेक्स बीच तीन वर्षे प्रायोजन सम्झौता

जापानमा ‘प्रवास पत्रकारिता पुरस्कार’ : महासंघ र फोरेक्स बीच तीन वर्षे प्रायोजन सम्झौता

टोकियो l नेपाल पत्रकार महासंघ जापान शाखाले स्थापना गरेको प्रवास पत्रकारिता पुरस्कार कार्यक्रमका लागि रेमिट्यान्स सेवा प्रदायक कम्पनी फोरेक्स जापानसँग तीन वर्षे प्रायोजन सम्झौता गरिएको छ।

प्रवासमा नेपाली पत्रकारिताको विकास, पत्रकारहरूको मनोबल अभिवृद्धि तथा पत्रकारितालाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखा र फोरेक्स जापान बीच भएको उक्त समझदारी अनुसार महासंघको स्थापना दिवसको अवसर पारेर सन् २०२६ मार्च १५ मा वितरण गरिने पहिलो प्रवास पत्रकारिता पुरस्कार–२०२६ देखि लगातार तीन वर्षसम्म कार्यक्रम प्रायोजन गर्ने सहमति भएको हो।
महासंघका अनुसार वार्षिक रूपमा प्रदान गरिने उक्त प्रवास पत्रकारिता पुरस्कार ५० हजार येन राशिको रहने छ। उक्त पुरस्कार रकम फोरेक्स जापानले सहयोग गर्ने गरी सम्झौता गरिएको हो। यस सहयोग रकमलाई प्रवास पत्रकारिता पुरस्कार कार्यक्रम तथा त्यससँग सम्बन्धित विविध गतिविधि सञ्चालनमा प्रयोग गरिने बताइएको छ।

समझदारी पत्रमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ (गोर्खाली) र फोरेक्स जापानका निर्देशक तथा सीओओ पशुपति भण्डारीले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा महासंघका सचिव अर्जुन लामिछाने, पत्रकार जीवन सुवेदी तथा फोरेक्स जापानका निर्देशक बाबुराम पौडेलको उपस्थितिमा उक्त समझदारी सम्पन्न भएको थियो।