बुधबार, बैशाख ०२, २०८३

म्याग्दी मोना इताबाशी नेपाल फेस्टिवल २०२६ को तयारी तीव्र, स्टल बुकिङ खुला

टोकियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको इताबासीमा आगामी २०२६ अप्रिल ११ र १२ गते ‘म्याग्दी मोना इताबाशी नेपाल फेस्टिवल’ को तयारी तीव्र पारेको छ ।
मोना जापानको आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई नेपाल दूतावास जापान, ईतावासी सिटी र एनआरएनए जापानले सहयोग गरेको छ ।

ताकाशिमादाइरा ३–१ स्थित अकाचुका पार्कमा सञ्चालन हुने फेस्टिवलको पहिलो दिन अर्थात् अप्रिल ११ (शनिबार) बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म तथा दोस्रो दिन अप्रिल १२ (आइतबार) बिहान ११ बजेदेखि साँझ ५:३० बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ। आयोजकका अनुसार मेलामा कुल २५ वटा विभिन्न स्टल रहनेछन्, जसमध्ये १० जापानी र १५ नेपाली स्टल सहभागी हुनेछन्। हाल स्टल बुकिङ खुला गरिएको छ।

फेस्टिवलमा नेपाली तथा जापानी संस्कृतिको झल्को दिने विविध सांस्कृतिक कार्यक्रम, स्टेज प्रस्तुति, परम्परागत नृत्य, नेपाली खाना परिकार, हस्तकला तथा सामुदायिक अन्तरक्रिया कार्यक्रमहरू समावेश गरिनेछन्। दुई दिनमा करिब २० हजार दर्शक तथा ग्राहकको उपस्थिति रहने अनुमान गरिएको आयोजकले बताएका छन्।
मोना जापानका अध्यक्ष गणेश श्रेष्ठका अनुसार, कार्यक्रमको विशेष आकर्षणका रूपमा लाइभ रेस्लिङ प्रदर्शन समेत प्रस्तुत गरिनेछ। साथै, नेपालको ख्यातिप्राप्त कलाकार रबि कार्कीको विशेष प्रस्तुति तथा उपस्थिति रहने जानकारी दिइएको छ।

नेपाल र जापानबीच सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित आयोजना हुन लागेको उक्त फेस्टिवलले जापानमा बसोबास गर्ने नेपाली समुदाय तथा स्थानीय जापानी नागरिकबीच आपसी सद्भाव र सहकार्य विस्तार गर्ने विश्वास लिइएको छ।