टोकियो । जापानले सन् २०२९ को मार्च महिनाको अन्त्यसम्म १२ लाख ३१ हजार ९ सय विदेशी कामदारलाई जापान भित्र्याइने योजना अघि सारेको छ।
दक्ष जनशक्ति र नयाँ प्रशिक्षण कार्यक्रम गरी दुई वटा प्रणाली अन्तर्गत १२ लाख ३१ हजार ९ सय विदेशी कामदार भित्र्याउने निर्णय गरेको छ। जापान सरकारले विज्ञहरूको प्यानल समक्ष प्रस्तुत गरेको योजना अनुसार सन् २०२९ को मार्च महिनाको अन्त्यसम्ममा कुल १२ लाख ३१ हजार ९ सय विदेशी कामदारलाई जापान भित्र्याइनेछ।
सरकारको प्रस्ताव अनुसार हाल कायम रहेको ‘तोकिएको दक्ष कामदार’ (SSW) प्रणाली मार्फत १९ वटा विभिन्न क्षेत्रमा ८ लाख ५ हजार ७ सय कामदार ल्याइनेछ। उद्योग अनुसार हेर्दा औद्योगिक उत्पादन क्षेत्रमा १ लाख ९९ हजार ५ सय, खाद्य तथा पेय पदार्थ उत्पादनमा १ लाख ३३ हजार ५ सय र नर्सिङ केयर अर्थात् स्याहारसुसार क्षेत्रमा १ लाख २६ हजार ९ सय कामदार भित्र्याउने लक्ष्य राखिएको छ।
त्यसैगरी, सन् २०२७ अप्रिल १ देखि लागू हुने नयाँ प्रशिक्षण प्रणाली अन्तर्गत १७ वटा क्षेत्रमा ४ लाख २६ हजार २०० कामदार भित्र्याइनेछ। विदेशी कामदारलाई तीन वर्षभित्र तोकिएको दक्ष जनशक्तिको स्तरमा पुर्याउने उद्देश्य राखिएको यो नयाँ प्रणालीमा निर्माण क्षेत्रका लागि १ लाख २३ हजार ५ सय, औद्योगिक उत्पादनका लागि १ लाख १९ हजार ७ सय र खाद्य तथा पेय पदार्थ उत्पादनका लागि ६१ हजार ४ सय कामदारको कोटा छुट्याइएको छ।
सरकारले यस योजनामाथि थप छलफल गरी आगामी जनवरी महिनामा मन्त्रिपरिषबाट अनुमोदन गर्ने तयारी गरेको छ।

