जापान । जापानको निगाता प्रान्तमा दुई नेपाली विद्यार्थीलाई विशेष फोन ठगी रोक्न सफल भएको भन्दै जापान प्रहरीले प्रशंसा पत्रले सम्मान गरेको छ। फोन ठगी रोक्न सहयोग गेको भन्दै निगाता सहरको चुओ वार्डस्थित कनभिनिएन्स स्टोरमा कार्यरत नेपाली विद्यार्थी इसारा आले मगर र कर्म बहादुर खत्री सहित ४ जनालाई सम्मान प्रदान गरिएको हो।
उनीहरू दुवैजना स्थानीय भोकेश्नल स्कुलमा अध्ययनरत विद्यार्थी हुन् । उनीहरुले कनभिनिएन्स स्टोरमा पार्टटाईम काम गर्दै आएका छन् । उनीहरूको समन्वयले ठगी हुनुअघि नै घटनालाई रोक्न सफल भएको हो ।
सेप्टेम्बर १० तारिख राति करिब १० बजे आसपासका ७० वर्षका एक वृद्ध व्यक्ति सो स्टोरमा प्रवेश गरी ३ लाख येन बराबरका प्रिपेड कार्ड किन्ने प्रयास गरेका थिए। कर्मले स्टोरका मालिकलाई फोन गरेर जानकारी दिएपछि मालिकले तुरुन्तै प्रहरीलाई खबर गरे। केही मिनेटमै प्रहरी आइपुगे र वृद्धलाई कार्ड नकिन्न सम्झाए।
प्रहरीका अनुसार ती वृद्धलाई फोनमार्फत आफूलाई टेलिकम कम्पनीको कर्मचारी भनेर चिनाउने एक व्यक्तिले फोन बक्यौता नतिरेको र तुरुन्तै प्रिपेड कार्डमार्फत भुक्तानी नगरे अदालत लैजाने धम्की दिएको थियो।
पूरै घटना करिब १५ मिनेटमै सकिएको थियो, तर ती दुई नेपाली विद्यार्थीको सतर्कताले सम्भावित ठगी हुनबाट जोगिएको थियो।

