शुक्रबार, फागुन २९, २०८२

गुन्मामा सेप्टेम्बर १३ र १४ मा दोस्रो नेपाल फेस्टिबल हुँदै, राजदुत डा. सुवेदीसंग भेट

जापान । गुन्मा प्रान्तमा आउँदो सेप्टेम्बर १३ र १४ तारिख दुई दिने दोस्रो नेपाल फेस्टिवल आयोजना हुने भएको छ । नेपाली साझा समाज जापानको आयोजनामा नेपाल फेस्टिवल २०२५ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
साझा समाज जापानले अर्को साता हुन लागेको दोश्रो नेपाल फेस्टिबल गुन्माको उदघाटन सत्रमा प्रमुख अतिथीको रुपमा नेपाली राजदुताबास जापानका राजदुत डा. दुर्गा बहादुर सुवेदीलाई औपचारिक भेट गरेको छ ।
नेपालको पर्यटन प्रवद्र्धन तथा प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र पर्यटन क्षेत्रका विविध सम्भावनालाई जापानीहरु माझ प्रचार गर्ने उद्देश्यले जापानको गुन्मा प्रान्त र त्यस आसपासका जापानी नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको नेपाल फेस्टिवलमा सो क्षेत्रमा बसोबास गर्ने ठूलो संख्यामा नेपालीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ ।

नेपाल फेस्टिवल स्थलमा नेपाली कला, संस्कृति झल्काउने पोशाकहरु प्रदर्शन सहित नेपाली खाना, मौलिकता झल्काउने अन्य सामग्रीहरुको प्रदर्शनी समेत गरिने आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने फेस्टिवलमा नेपाली सहित जापानी कलाकारहरूको सांस्कृतीक झाँकी प्रस्तुती सहित सांगीतिक कार्यक्रमहरु गर्नेछन् । जस मार्फत दुई देश बिचमा जनस्तरमा समेत सांस्कृतीक आदान प्रदान तथा नेपाली कला, संस्कृती र भेषभुषाहरुलाई जापानीहरुले सहज रुपमा बुझ्न सक्ने विश्वास गरिएको छ ।

नेपाली समुदाय तथा जापानी नागरिकहरूको उल्लेख्य सहभागिता रहने विश्वास गरिएको फेस्टिवललाई ऐतिहासिक रूपमा सफल पार्न सबै नेपालीहरुलाई उपस्थितिको लागि निमन्त्रणा सहित आफुले चिने जानेका जापानीहरुलाई समेत साथमा लिएर उपस्थित हुन आयोजक नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनले आग्रह गर्नुभयो ।
निशुल्क प्रवेश रहेको सेप्टेम्बर १३ र १४ तारिख हुने गुन्मा नेपाल फेस्टिवलमा रमाइलोसँगै जापानीहरुमाझ नेपाल र नेपालीपनलाई प्रवद्र्धनमा सहभागी हुन संस्थाका महासचिव निरज गुरुङले सम्पूर्ण जापानवासी नेपाली समुदायमा निमन्त्रणा समेत गर्नुभएको छ ।