जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी )को नेतृत्वका लागि उपाध्यक्ष रोबिन शेरचनले उमेदवारी दिने तयारी गरेका छन् । शेरचनले सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् ।
उनी एनआरएनएको पुरानो गौरव फर्काउन र संस्थालाई शुद्ध परोपकारी अभियानमा फर्काउनुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताउँछन् ।
गैरआवासीय नेपालीका मुद्दाहरूलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ ।
उनले आफ्नो पहिलो कार्यकाल सोचेअनुरूप हुन नसकेको पनि स्वीकार गरेका छन् । उनले व्यक्तिगत स्वार्थ र राजनीतिलाई त्यागेर सबैलाई एनआरएनएको विशुद्ध अभियानमा लाग्न आग्रह गरेका छन् ।
जापानमा नेपालीहरुको सफल व्यवसायीको रुपमा चिनिएका शेरचन पहिलोपटक उपाध्यक्षमा निर्वाचित भएका थिए । उनले मातृभूमिप्रतिको लगाव र संसारभर छरिएका नेपालीलाई एउटै छातामुनि ल्याउने आफ्नो सोच रहेको बताएका छन् ।
एनआरएनएको १२औँ महाधिवेशन आगामी अक्टोबरमा हुने तय भएको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ ।

