काठमाडौं । संघीय राजधानी काठमाडौंका मनोरञ्जन व्यवसायीहरूको राष्ट्रिय भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठानको शनिबार काठमाडौंको जडिबुटीमा आयोजित भेलाले गायिका तथा व्यवसायी उमा श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षहरूमा सुशील बुढाथोकी, सुजन श्रेष्ठ, प्रह्लाद चौलागाईं र राजकुमार कार्की, महासचिवमा सगुन अधिकारी, उपमहासचिवमा प्रज्जवल खड्का, सचिवमा अमृत खाती, सहसचिवमा देव लामा, कोषाध्यक्षमा सन्तोष लामा र सहकोषाध्यक्षमा युनिसा रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् ।
भेलामा सहभागी हुन रक्षामन्त्री मानवीर राई, बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेक बहादुर तामाङ लगायत पुगेका थिए ।
नवगठित समिति अध्यक्ष श्रेष्ठले व्यवसायलाई व्यवस्थित गर्न आफूहरू संगठित भएको बताइन् । ठमेल र दरबारमार्गमात्रै नभइ पूरै काठमाडौंलाई २४ घन्टा सञ्चालनको अनुमति दिनुपर्ने उनको भनाइ थियो । व्यवसायीहरूले प्रहरीले बेलाबेलामा रात्रिकालीन व्यवसायलाई दुस्ख दिने गरेको गुनासो गर्दै यसलाई व्यवस्थित गरिदिन एआईजी तामाङसँग आग्रह पनि गरेका छन् ।
रक्षामन्त्री राईले आफू कला र कलाकर्मीलाई असाध्यै प्रेम गर्ने बताउँदै मनोरञ्जन व्यवसायले कलाकार उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखे ।


