टोकियो । हरितालिका तीजको अवसरमा टोकियोको मुटु शिनओकुबोमा दुई दिवसीय तीज फेस्टिवल हुने भएको छ । आगामी अगष्टको २३ तारिख शनिबार र २४ तारिख आइतबार दुई दिन उक्त तीज फेस्टिवल हुने भएएको हो । यो वर्षको तीज अगष्ट २६ मा परेको छ भने २५ तारिख दरखाने रहेको छ ।
जापानमा सबैभन्दा बाक्लो नेपालीहरुको उपस्थिति र गतिविधि हुने मिनी नेपाल भनेर चिनिने शिनओकुबो र ताकादानोबाबा स्टेशनको बीचमा रहेको तोयामा पार्कमा उक्त फेस्टिवल हुने भएको हो । स्थानीय जापानी समुदायको प्रत्यक्ष सहकार्यमा हुने उक्त फेस्टिवलको तैयारीलाई तीब्र पारिएको बताईएको छ ।
नेपाल र जापानबीच रहीआएको असल सम्बन्ध र आयामहरुलाई जनस्तरसम्म बिस्तार गर्दै साँस्कृतिक तथा सामाजिक सद्भावको आदान प्रदान गर्ने उद्देश्यले उक्त फेस्टिवल गर्न लागिएको फेस्टिवल आयोजक कमिटीका संयोजक तिलक मल्लको दावी छ ।
फेस्टिवलमा तीजजन्य मौलिक साँगीतिक प्रस्तुती र तीजजन्य अर्गानिक परिकारलाई विशेष मानककारुपमा लिईने बताईएको छ । यसैगरी तीज विशेष कार्यक्रम भएकोले नारीहरुको प्रस्तुती र प्रतिभालाई प्राथमिकतामा राखिने पनि आयोजक स्रोतले जनाएको छ ।
फेस्टिवलमा नेपालका चर्चित कलाकारहरुका साथै स्थानीय कलाकारहरुको तीज विशेष धमाकेदार साँगीतिक प्रस्तुती रहने भएको छ । दूबै दिन बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म चल्ने फेस्टिवलमा जापानी सँस्कृति झल्कने प्रस्तुतीहरुका साथै कोरियन, भियतनामी, बंगलादेशी, चिनिया लगायतका देशहरुको सँस्कृति झल्कने प्रस्तुती पनि रहने स्रोतको दावी छ । फेस्टिवलमा शिन्ज्युकु सिटी अन्तर्गतको बहुसाँस्कृतिक केन्द्र, इन्टरनेशनल बिजनेश नेटवर्क लगायतका निकायको सहकार्य रहने छ ।
यसैगरी फेस्टिवलमा नेपाली, जापानी लगायतका खानाका परिकारका साथै रेमिट्यान्स, मोवाइल, ट्राभल, स्कुल, कलेज लगायतका सेवा तथा उत्पादनका स्टलहरु रहने छन् भने नेपालको पर्यटन प्रबर्द्धनसंग सम्बन्धित विशेष कार्यक्रमहरु पनि रहने छन् ।
हरितालिका तीजको अवसरमा ओपन कन्सर्टका रुपमा आयोजित तीज फेस्टिवलमा प्रवेश निःशुल्क रहने छ । फेस्टिवलको आयोजकमा SMYG e-Group रहेको छ । करिव आधा दर्जन कम्पनीहरुको कुमिआई स्वरुपमा आएको उक्त ग्रुपको इन्टर्टेन्मेन्ट तथा मोटिभेशनसंग सम्बन्धित इभेन्ट म्यानेजमेन्ट, इ-सेवासंग सम्बधित डिजिटल मार्केटिङ तथा भर्च्युअल प्लेटफर्म लगायतका सेवा प्रवाह गर्ने लक्ष रहेको छ ।