शिव बोहोरा ।
पहिलो अध्याय:
गाउँको आकाश सुनौला रङमा रंगिएको थियो। सूर्य अस्ताउँदै थियो, र हावा बिस्तारै चिसिंदै गएको थियो। गाउँको मुख्य चौतारीमा केही वृद्धहरू दिनभरको गफ गर्दै थिए, बालीबिजनको चर्चा गरिरहेका थिए।
शिव घरको आँगनमा बसेर आफ्नी आमासँग कुरा गरिरहेका थिए। आमा, जसले जीवनभर संघर्ष गरेकी थिइन्, छोरालाई हेरिरहेकी थिइन्।
“तँ कहिले सुध्रिन्छस्, बाबु?” आमाले गहिरो श्वास फेर्दै सोधिन्।
शिव मुस्कुराए। “सुध्रिनु? म के बिग्रेको छु र आमा?”
“राति-राति हराउने, जंगलतिर जाने, कोसँग के योजना बनाइरहेको छस्? गाउँमा धेरै कुरा सुन्न थालेकी छु म,” आमाको आवाज चिन्ताले भरिएको थियो।
शिवले केही नभनी झ्यालबाट बाहिर हेरिरहे। पर, जंगलको छायाँ विस्तारै अन्धकारमा विलीन हुँदै थियो। यही अन्धकारमा कतै उसको भविष्य लुकेको थियो।
त्यही बेलामा, शिवको बुवा खेतबाट घर फर्किनुभयो। थकित अनुहार, गह्रौँ पाइला। “आज साह्रै थाकियो,” उनले नानुको टाउको मुसार्दै भने। नानीले हाँस्दै बुवाको हात समाइन्।
तर शिवलाई थकानको कुनै अनुभव थिएन। उसको मन कतै हराइरहेको थियो।
साँझ झमक्क परिसकेको थियो। गाउँका मानिसहरू खाना खाएर सुतेका थिए। तर शिव सुतेन। ऊ ढोकाबाट निस्कियो, बिस्तारै अँध्यारो गल्ली पार गर्दै जंगलतिर लाग्यो।
पारि, एउटा लालटिनको मधुरो प्रकाश झल्किरहेको थियो। त्यहाँ उसका साथीहरू जम्मा भइसकेका थिए।
“अब समय आएको छ,” कमान्डर सरोजले भने। “हामीले गाउँ छोड्नुपर्छ। बिद्रोहको यात्रा यहींबाट सुरु हुन्छ।”
शिवले टाढा, गाउँको दिशामा हेर्यो। मनिषा त्यहीं कतै थिई— ऊसँग सधैं प्रेम गर्ने, तर कहिल्यै उसको बाटो नछोड्ने सपना देख्ने।
प्रतीक्षाको घडी
शिव गाउँ छोडेर गएको धेरै दिन भइसकेको थियो। तर मनिषाको लागि समय रोकिएजस्तै लाग्थ्यो। दिनभर खेतबारीमा काम गर्ने बहानामा ऊ हरपल शिवकै यादमा डुबिरहन्थी। साँझ पर्दै गएपछि चौतारोमा जम्मा भएका गाउँलेहरू बिस्तारै फुसफुसाउन थाले।
“शिव बन्दुक बोकेर जंगल गएको रे!”
“हो रे! अहिले ऊ बिद्रोही बनेछ।”
“बिचरी मनिषा! अब के गर्ने होला?”
गाउँका मानिसहरूको कानाकुसारीले मनिषाको छातीमा तरबार चलाएजस्तै हुन्थ्यो। ऊ बाहिर हिँड्न चाहँदिनथी, तर घरभित्रै बस्दा पनि ती आवाजहरू भित्ताहरू छेडेर उसको कानसम्म आइपुग्थे।
रात पर्नासाथ, ऊ आँगनमा निस्केर चन्द्रमालाई हेर्थी। चन्द्रमा उस्तै थियो, जुन कहिलेकाहीँ शिवले उसलाई देखाउँदै भन्थ्यो— “एकदिन हामी दुई यति पर जाऔंला कि यो चन्द्रमाले मात्र हामीलाई भेट्न सक्नेछ।”
तर अहिले, चन्द्रमा शिवलाई भेटिरहेको थियो। मनिषाले उसलाई भेट्न पाउनेछे कि छैन, कसैले भन्न सक्दैनथ्यो।
मनिषाको मन दुईतिर तानिएको थियो— एकातिर प्रेम, जसले उसलाई शिवको बाटो हेर्न बाध्य बनाउँथ्यो; अर्कोतिर वास्तविकता, जसले बताउँथ्यो कि शिव अब उही गाउँको शिव थिएन। ऊ अब विद्रोही बनेको थियो, र विद्रोहीहरू कहिल्यै फर्किन्थेनन्।
तर मनिषाको मन मान्दैनथ्यो।
“ऊ फर्किन्छ,” ऊ आफैंसँग बर्बराउँथी।
“ऊ एकदिन फर्किन्छ।”
गाउँमा हल्लाहरू बढ्दै गए। कोही भन्थे, “शिवले सेनामाथि आक्रमण गरिसक्यो!” कोही भन्थे, “अब गाउँलेहरूलाई पनि समातेर लैजानेछन्।”
मनिषा रातभर निदाउन सक्दिनथी। उसले शिवको लागि बत्ती निभाउँदिनथी। हरेक रात त्यही ढोका, त्यही आँगन, त्यही बाटो हेरिरहन्थी— कि कतै ऊ फर्किएर आइरहेको त छैन?
तर बाटो सधैं सुनसान हुन्थ्यो। शिव आएन।
मनिषाले जीवनको एउटा निर्णय लिनुपर्ने थियो।
ऊ कहिलेसम्म कुर्ने?
ऊ कति दिन शिवको आशामा आफ्नो भविष्य लुकाउने?
तर मन पराजित हुँदैन। मनिषाले अझै आशा राखी।
सपनाभित्रको रगत
मनिषाको लागि रातहरू अन्धकारको महासागर बनेका थिए। हरेक साँझ आकाश रातो देखिन्थ्यो, टेलिभिजनको पर्दामा बारुदको धुँवा देखिन्थ्यो, रेडियोमा लडाइँको खबर घन्किन्थ्यो, र पत्रपत्रिकाका शीर्षकहरू रक्तरञ्जित हुन्थे—
“देशभर द्वन्द्व तीव्र!”
“शाही सेना र जनमुक्ति सेनाबीच भीषण मुठभेड!”
“अनेक गाउँहरू जलाइए, सयौं बेपत्ता!”
गाउँका मानिसहरू त्रसित थिए। कोही भन्थे, “अब सेनाले गाउँमा आक्रमण गर्छ।” कोही भन्थे, “विद्रोहीहरू फिर्ता आउँदै छन्!”
तर मनिषाको मन यी खबरभन्दा टाढा थियो। ऊ रेडियो बन्द गरेर, झ्यालको डिलमा टेकेर आकाशतिर हेर्थी। चन्द्रमाको उज्यालोमा उसले शिवको अनुहार खोज्थी।
रातभर सोच्दै-सोच्दै ऊ थकित भएर निदाइ।
तर त्यो रात, सपनाभित्र नराम्रो दृश्य आयो—
शिव, रगतले लटपटीएको। घाइते शरीर, श्वास फेर्न मुस्किल। टाढाबाट उसले मनिषालाई देख्यो, आवाज काँप्दै थियो—
“मनिषा…!”
एक झट्कासँगै मनिषाको आँखा खुल्यो। निधारबाट पसिना बगिरहेको थियो, मुटुको धड्कन तीव्र थियो। ऊ आत्तिँदै उठी।
“यो केवल सपना थियो?” उसले आफ्नै हात हेर्दै भनि। तर सपनाभन्दा डर लाग्दो वास्तविकता थियो उसको जीवन।
रुढीवादको साङ्लो
मनिषा केवल प्रेममा बाँधिएकी थिईन, ऊ जातको साङ्लोमा पनि जकडिएकी थिई।
ऊ काजी खान्दानकी छोरी। समाजले पुज्ने कुलको मान्छे।
शिव दलित परिवारको छोरो। समाजले हेप्ने वर्गको मान्छे।
गाउँमा सबैलाई थाहा थियो, “काजीकी छोरी विद्रोहीतिर गएको दलित केटासँग लागेको छ।”
परिवारले उसलाई कहिल्यै माया गर्न दिँदैन थियो। उनीहरू प्रेमभन्दा आफ्नो शान ठूलो सम्झन्थे।
त्यही कारण, केही दिनअघि मात्र घरमा ठूलाठूला मान्छेहरू भेला भएका थिए। बुवाले निधार खुम्च्याउँदै भनेका थिए—
“अब तिम्रो बिहेको समय भयो, मनिषा। एक राम्रो घरानियाँ घरबाट प्रस्ताव आएको छ।”
मनिषाले केही भनेकी थिइन। ऊ भित्रभित्रै क्रोधले जलिरहेकी थिई।
ऊ मनैमन सोचिरहेकी थिई—
“म कसरी अरू कसैसँग विवाह गरुँ? मेरो मुटु त शिवसँगै छ।”
तर ऊ के गरून्? गाउँ, समाज, घर— सबै उसलाई दवाइरहेका थिए।
शिव गएको धेरै भयो। ऊ कहाँ छ? जिउँदो छ कि मरेको? कुनै खबर छैन।
तर ऊ पर्खिरहेकी छे। जसरी पानी नपरेर धरती फुट्न थाल्छ, तर बादलले एकदिन झरी ल्याउँछ। जसरी पातहरू झरेर रुख नांगो हुन्छ, तर वसन्त फेरि आउँछ।
तर, के शिव फर्कन्छ?
के उसको प्रतीक्षा सार्थक हुनेछ?
वा, “बन्दुक हराएको रात” केवल प्रेमको बिछोडको अन्तिम साक्षी बन्नेछ?
क्रमशः…