शुक्रबार, फागुन ११, २०८०

सरसफाइले नमूना बन्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ ,६ साउन । असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ ।

हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो कोहीलाई पनि यस्तै लाग्छ । भुइँ, चर्पी, स्नानकक्ष, भित्ताहरु र कुर्सीहरु सबै सफा छन् । सामानहरु यत्रतत्र छरिएका छैनन्, आ-आफ्ना स्थानमा मिलाएर राखिएका छन् ।

फोहर राख्ने बाकसहरुसमेत आकर्षक र सफा देखिन्छ । भित्र छिरेपछि मगमग बास्ना पनि आइरहेको हुन्छ । यात्रुहरु अचम्म मान्दै भनिरहेका हुन्छन्,’राम्रो १ सफा भएछ विमानस्थल ।’

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव एवम् नेपालका एकजना वरिष्ठ इञ्जिनियर भीम उपाध्यायले आफ्नो फेसबुक वालमा गत असार ३० गते लेखेका छन्, ‘खेमजीको दक्षताको नेपालीले भरपूर फाइदा लिनु सक्नुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको कम्पनीले स्वयंसेवकका रुपमा अकल्पनीय सफाइ गरेको प्रत्यक्ष देख्न पाइन्छ । सिंहदरबारभित्र पनि हामीलाई सिकाइदिन मैले अनुरोध गर्दा म सदा तयार छु, जहिले भन्नुहुन्छ अष्ट्रेलियाबाट ४८ घण्टामै नेपाल आउनेछु भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महान छन् खेमजी नमन् ।’

सचिव उपाध्यायले यो टिप्पणी गरेका तिनै खेम शर्माले यतिखेर विमानस्थल सरसफाइको नेतृत्व गरेका छन् ।

३२ वर्षीय शर्माले अष्ट्रेलियामा सफाइको काम गरेको आठ वर्ष भयो आफ्नै कम्पनी खेम्स क्लिनिङमार्फत । उनले त्यहाँको सरकारी एवम् गैरसरकारी क्षेत्रका ठूला कार्यालय, कम्पनीलगायतका क्षेत्रमा सरसफाइको काम गर्दै आएका छन् ।

तिनै सफाइका हातहरुले हाम्रो विमानस्थल सफा गर्न थालेको तीन हप्ता मात्र भयो, तर विमानस्थलको मुहार फेरिइसकेछ ।

गएको असार २ गते नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन र गैरआवासीय नेपाली सङ्घबीच सो विमानस्थलको टर्मिनल भवनमा आधुनिक तथा अन्तर्राष्ट्रियस्तरको सरसफाइ थालेर नमूना स्थापित गर्ने विषयमा एक सम्झौता भएको थियो ।

गैरआवासीय नेपाली सङ्घले मुख्य जिम्मेवारी लिएको यस कार्यको अभिभारा अष्ट्रेलियामा सरसफाइका क्षेत्रमा कार्यरत संस्था खेम्स क्लिनिङलाई दिएको थियो । सो कार्यको नेतृत्व अहिले खेम शर्माले लिएका छन् । उनलाई सघाएका छन् विमानस्थलमा सफाइको काम गर्दै आएका मजदुरहरुले ।

उक्त सङ्घका उपाध्यक्ष भवन भट्टले अष्ट्रेलियामा खेमले गरिरहेको कार्यको सफलताका कारण उनलाई नै रोजेको बताए ।

खेमको नेतृत्वमा प्रत्येक दिन रातको १२ बजे सुरु हुन्छ सफाइको काम । उनको साथमा छन् विमानस्थलकै ३० जना सफाइ मजदुर ।

मजदुरसँगै राति विमानस्थल पुग्छन् उनी र बिहान ५ बजे कामदारसँगै निस्कन्छन् ।

काठमाडौँ ब्यूँझिनासाथ विमानस्थल सफा भइसक्छ र त्यसपछि शर्मा र मजदुरहरुको सुत्ने समय हो । उनले यहाँ २० दिनअघि काम सुरु गरेदेखिको समय तालिका हो यो ।

यसबीचमा गत जुलाई १५ मा परेको शर्माको जन्मदिन पनि राति विमानस्थलमै मजदुरहरुसँगै मनाएको स्मरण गर्दै एक सफाइ मजदुर सञ्जय मगर भन्छन्, ‘सरसँगै बसेर उहाँको जन्मदिन मनाउन पाउँदा मेरो खुसीको त सीमै रहेन नि । उहाँले हामीलाई सिकाउने मात्र नभएर सँगै आफैँ पनि काम गरेको देख्दा मलाई अचम्म लाग्छ । मानिसले कामको सम्मान कसरी गर्नुपर्छ भन्ने कुरा सबै नेपालीले उहाँबाट सिकिदिए हुन्थ्यो । हामीले मध्यरात शुरु गरेर बिहान सबेरै सफा गरिसक्छौँ ।’

दुई हप्तामा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री र माथिल्लो भागमा उल्लेख्य परिवर्तन आएको छ । नेपालमा सरकारबाट सरसफाइको विधि र मापदण्ड बन्ने हो र त्यसै बमोजिमको अनुगमन पनि हुने हो भने यहाँका सबैजसो सहरका अरबैंको लगानीमा बनेका सबै सुन्दर भवनहरु ६ महिनादेखि एक वर्षभित्र सफा बनाउन सकिन्छ ।

‘नेपालका सडकमा भएको धुलो-धुवाँका कारण आधुनिक भवनको सरसफाइमा देखिने समस्या अस्थायी भएको र त्यो पनि सडकको निर्माणसँगै समाधान हुने हुँदा सफा नेपाल सम्भव छु ।’ खेमले भने ।

उनको जस्तै धारणा नेपाली चलचित्र जगत्का अभिनेता राजेश हमाल पनि राख्छन् । केही दिनअघि विमानस्थल पुगेका उनले सो सफाइ अभियान देखेर आफू अत्यन्तै प्रभावित भएको प्रतिक्रिया दिँदै भने,’हामीले सार्वजनिक, सरकारी वा निजी क्षेत्रका भौतिक संरचनाहरु निकै नै उत्साहित भएर बनाउँछौँ तर तिनको आवश्यक सरसफाइ र मर्मत-सम्भार गर्न नसक्दा केही वर्षमै जीर्ण अवस्थामा देखापर्ने गर्दछन्

हालका लागि केही दिन मात्र गर्नेगरी यो कार्य सुरु गरिएको भए पनि यसबाट यहाँका मजदुर पनि लाभान्वित भएका र सीप हस्तान्तरणका दृष्टिले पनि आगामी दिनमा यो आधुनिक सफाइको अभियानलाई निरन्तरता दिइने नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले बताए ।

उनले भने, ‘खासगरी गैरआवासीय नेपालीको प्रविधि, सीप र अन्तर्राष्ट्रियस्तरको कार्यशैली सिक्न यो अभियान सुरु गरिएको हो र यसले दिएको उत्साहप्रद परिणामले गर्दा आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिन्छौं ।’

यहीँका मजदुर र प्रविधिको प्रयोग गरी उनीहरुलाई तयारी अवस्थामा राखेर सफाइ अभियान सञ्चालन गरिएकाले आगामी दिनमा पनि यहाँ कार्यरत मजदुरबाटै यस्तो काम लिन सकिने उनको भनाइ छ ।

उनको भनाइमा थप बल पुग्नेगरी विमानस्थलका सफाइ मजदुर सञ्जय मगरले भने, ‘हामीले अब अन्तर्राष्ट्रियस्तरको सफा गर्ने तरिका सिकेका छौँ र आवश्यक प्रविधि र जनशक्ति उपलब्ध गराएमा यसैगरी सधैँभरि विमानस्थल टल्काउन सक्छौँ ।