शुक्रबार, कार्तिक २३, २०८१

जापानमा प्रथम रनिङ टाइगर कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

जापान । टाइगर ग्रुप नेपाल–जापानले हाल सम्मकै ठूलो धनराशीको ‘प्रथम रनिङ टाइगर कप आमन्त्रित रास्ट्रीय पुरुष भलिबल प्रतियोगिता २०२४’ आयोजना गर्ने भएको छ ।

खेलकुद, शिक्षा, स्वास्थ्य र सामाजिक अभियानका लागि कृयाशिल संस्था टाइगर ग्रुप अफ जापानले आफ्नो संस्थाको स्थापनाको पहिलो पटक यहि २०२४ नोभेम्बर २८ अर्थात् मंसिर १३ गते उक्त प्रतियोगिता आयोजना गर्ने तयारी थालिएको संस्थाका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक नविनकुमार गुरुङले जानकारी दिए ।

लिग कम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता हुने संयोजक गुरुङले जानकारी दिए । जापानस्थित उशिकु उन्दो हल इबराकीकेनमा सम्पन्न हुने उक्त प्रतियोगितामा बिजेता टिमले ५ लाख जापनी येनका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । यो पुरस्कार राशी हाल सम्मकै ठूलो पुरस्कार राशी रहेको आयोजकले दावी गरेको छ ।

त्यसै गरी उपबिजेता टिमले जापानी येन नगद रु ३ लाख तथा तेस्रो हुने टिमले जापानी येन नगद २ लाख प्राप्त गर्नेछन् ।

त्यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र अन्य विद्यागत खेलाडीहरुका लागि समेत नगद पुरस्कार हात पार्ने छन् । उत्कृष्ट हुने खेलाडीले जापनीनगद २५ हजार तथा उत्कृष्ट स्पाइकर, लिबेरो, डिफेन्डर, सेटर, सर्भर, ब्लकर र प्रशिक्षकले जनही नगद १०–१० हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन ।

‘प्रथम रनिङ टाइगर कप आमन्त्रित रास्ट्रीय पुरुष भलिबल प्रतियोगिता २०२४’ सम्पन्न गर्न करिव ३० लाख जापानी ऐन खर्च हुने भएको छ । प्रतियोगिताका लागि नेपालबाट दुई जना अन्तर्राष्ट्रिय रेफ्रिहरुका लागि नेपाल भलिबल संघलाई पत्रचार गरिएको संयोजक गुरुङले जानकारी दिए ।
खेल तथा सामाजिक क्षेत्रको अभियानमा कृयाशिल बनाउन गत वर्ष टाइगर ग्रुप अफ पोखराको जापान शाखा गठन भएको थियो । उक्त संस्थाको संरक्षकमा श्रीभक्त गुरुङ तथा अध्यक्षमा चन्द्र खत्री रहेका छन् ।