बिहिबार, असोज २४, २०८१

जनप्रगतिशिल मञ्च जापानले गणतन्त्र दिवसमा अन्तरक्रिया कार्यक्रम गर्ने

टोकियो । नेपाली जनप्रगतिशील मञ्च जापान राष्ट्रिय कमिटीको आयोजनामा टोकियोमा भव्य कार्यक्रम गरिने भएको छ। मञ्चले गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्रको उपलब्धि र चुनौती विषयक बृहत अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो।

आउँदो जुन २ तारिख आइतबारको दिन गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न संघसंस्था लगायत जापानको राजदूतलाई समेत निमन्त्रणा गरिएको मञ्चका महासचिव दावा लामा शेर्पाले जानकारी दिए।

नेपाली राजनीतिक इतिहासमा भएका विभिन्न आन्दोलनहरूमध्ये २०५२ सालको जनयुद्ध हुँदै २०६२ ६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिबाट नै गणतन्त्र सम्भव भएको हुनाले गणतन्त्रको क्रेडिट आफ्नो संगठनले अलि बढी लिएर नै कार्यक्रम गर्न लागिएको मन्चका अध्यक्ष मोहन पौडेल बताउँछन्। यद्यपि गणतन्त्र प्राप्तिका लागि सबै राजनीतिक दलहरूको भूमिका उत्तिकै रहेको अध्यक्ष पौडेलको दाबी छ।

जापानको टोकियो स्थित रोयल गार्डेन रेस्टुरेन्टमा गरिने उक्त कार्यक्रमको ब्यानर सहित प्रचारप्रसारको काम तीव्र पारिएको प्रबक्ता जिपि लामिछानेले बताए।
नेपालमा गणतन्त्र प्राप्तिका लागि आफ्नो संगठन मात्रै नभई अन्य संघसंस्था र संगठनको भुमिका पनि उत्तिकै रहेको हुनाले उहाँहरूको उपस्थितिलाई समेत जोड दिँदै निमन्त्रणा गरिएको मञ्चका उपाध्यक्ष बाबुराम पौडेलले बताए।
उक्त कार्यक्रमको समय भने दिउँसो २ बजेका लागि तोकिएको छ।