सोमबार, चैत ०३, २०८१

अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न,लर्ड बुद्ध मा.वि प्रथम

मायालु लामा, काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्धस्थित श्री बौद्ध  तामाङ कल्याण गुठीकाे प्राङ्गणमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको बौद्धिक क्षमता विकास गराउन श्री बौद्धनाथ क्षेत्र विकास समितिकाे आयाेजना तथा श्री बौद्ध तामाङ कल्याण गुठीकाे मुख्य संयाेजनमा २५६८ औं बुद्ध जयन्तीकाे अवसरमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा लर्ड बुद्ध मा.वि, कुमारी आवासीय मा.वि,महेन्द्र बौद्ध मा.वि, मंगलदिप स्कुल, नवजागृती मा.वि र कैलाश बोधी स्कुल गरी छ वटा विद्यालयले भाग लिएका थिए भने, प्रति विद्यालयबाट तिन–तीन जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा लर्ड बुद्ध मा.वि प्रथम भएको थियो भने, कुमारी आवासीय मा.वि र महेन्द्र बौद्ध मा. वि द्धितिय भएको थियो ।

त्यसैगरी मंगलदिप स्कुल तृतिय, नवजागृती स्कुल चौथो र कैलाश बोधीले पाँचौं स्थान हात पारी सान्त्वनामा चित्त बुझाएको बौद्ध तामाङ कल्याण गुठीका सचिव धर्मविर लामाले जानकारी दिए। उनका अनुसार हाजिर जवाफ प्रतियोगिताको पुरस्कार भने १० गते वितरण हुनेछ । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताले बाल अधिकारका तमाम विषयहरुमा एकले अर्कोबाट सिक्नुको साथै बालबालिकाहरुको अन्तरघुलनमा मद्दत पुग्ने विश्वास गरिएको छ । साथै, आईतबार बौद्ध स्तूप परिसरमा हुने विद्यालय स्तरिय चित्रकला प्रतियोगितामा नाै वटा विद्यालयका १८ जना विद्यार्थीहरूले सहभागीता जनाउने उनले जानकारी गराए ।

आगामी जेठ १० गते अर्थात वैशाख पूर्णिमा गौतम बुद्धको २५६८ औं जन्म जयन्तीको अवसर पारी आयाेजित सप्ताहव्यापी कार्यक्रममा साेमबार बौद्ध स्तूप परिसरमा कविता वाचन/ कवि गाेष्ठी कार्यक्रम सञ्चालन हुनुका साथै मंगलबार बौद्ध स्तूप परिसरमै विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ।

त्यस्तै, बुधबार बौद्ध धर्म र बौद्ध शिक्षा प्रवचन कार्यक्रम रहेकाे छ भने जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन बौद्ध स्तूप परिसरमा बिहान ६ बजेदेखि शान्ति दाैड, प्रभातफेरि/ खिर वितरण बिहान ८ बजेबाट गरिने र औपचारिक कार्यक्रम बिहान ९ बजे रहेकाे आयाेजकले जनाएको छ । यसैगरी, दिउँसो तिनबजेदेखि बौद्ध स्तूप परिसर, बौद्ध पिपलबाेट, बौद्ध टुसाल हुदै ह्ययात हाेटल गेटसम्म शान्ति -याली गरिनेछ ।

यसैगरी, श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजना र बौद्ध जागरण केन्द्रको व्यवस्थापनमा संचालित ‘हिमाली बौद्ध धर्म र परम्परा प्रशिक्षण कार्यक्रम-२०८१ को अन्तिम दिन आज बौद्ध स्तुप परिसरमा परम पुजनिय गुरू लोसाङ नाम्ग्याल रिन्पोछेबाट स्वेत तारा (दिर्घायु) को अभिषेक प्रदान गरी सम्पन्न गरिएको थियाे ।