आइतबार, भदौ २८, २०८३

तीजमा पशुपति दर्शन गर्न कुन ठाउँबाट आउनेले कुन मार्ग प्रयोग गर्ने ?

काठमाडौं । हरितालिका तीजमा पशुपतिनाथ मन्दिरनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । तीजमा विशेष पूजा र दर्शनका लागि बिहानै ३ बजे नै चारै ढोका खुल्ने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि ८ वटा लाइन हुनेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

मित्रपार्क–उमाकुण्डतर्फबाट आउने भक्तजनले उमाकुण्ड, दक्षिणामूर्ति, कैलाश र बद्रिनसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गरी पशुपतिनाथको उत्तरतर्फको र्याम्पबाट दर्शन गर्नुपर्नेछ भने दर्शनपछि पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।

त्यस्तै, गौशाला–जयबागेश्वरीतर्फबाट आउने भक्तजनले जयबागेश्वरी, दथुःटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै महास्नान घरअगाडिको अस्थायी आकाशे पुलबाट भुवनेश्वरी र नासलचोक पुग्नेछन् । त्यसपछि शंकराचार्यमठअगाडिको आकाशे पुल हुँदै प्रहरी पहरा गणको सानो ढोकाबाट प्रवेश गरी पश्चिमतर्फको काठको र्याम्पबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, सिनामंगल–एयरपोर्टतर्फबाट आउने भक्तजनले तिलगंगा पर्यटन काउण्टरसँगै रहेको गेटबाट प्रवेश गरी राम मन्दिर, बागमती किनारा, आर्यघाटको पुल र ब्रह्मनाल हुँदै पूर्व ढोकामा राखिएको र्याम्पबाट पशुपतिनाथको पूर्व मुहारको दर्शन गर्नुपर्नेछ । दर्शनपछि सोही ढोकाबाट फर्कने व्यवस्था छ ।

त्यसैगरी पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि पिङ्गलास्थानको ढोकाबाट प्रवेश गरी चार शिवालय, पञ्चदेवल, वृद्धाश्रम हुँदै दक्षिणतर्फको ठूलो ढोकाअगाडिको अस्थायी आकाशे पुलबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।

चौसट्ठी कोटीलिङ्गेश्वर हुँदै दक्षिण मुहारको दर्शनपछि उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूल भट्ट निवासअगाडिबाट फर्कने व्यवस्था गरिएको छ ।

उत्तरतर्फ तीन, पूर्वतर्फ दुई, दक्षिणतर्फ एक र पश्चिमतर्फ दुई लाइन रहनेछन् । एकपटकमा आठ जना भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषले भक्तजनलाई तोकिएको दर्शन मार्ग प्रयोग गरी व्यवस्थित रूपमा दर्शन गर्न आग्रह गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया